फुटवल स्ट्राईकर बिमल घर्तीकी बहिनी मनिषाको हत्याको आशंकामा दुई जना पक्राउ
काठमाडौँ, १३ जेठ – नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीमगरकी १७ वर्षीया बहिनी मनिषा घर्तीमगर नवलपरासीस्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन्।
नवलपरासीका एसपी राजेन्द्र चौधरीका अनुसार मनिषा घरको खाटमा मृत अवस्थामा फेला परेकी हुन्। ’उनको घाँटीमा कसैले थिचेको जस्तो दाग देखिन्छ। कोठामा रगतको दाग पनि भेटिएको छ,’ उनले भने, ’उनको आमा बुटवल जानु भएको रहेछ। घरमा उनी एक्लै थिइन्।’
प्रहरीलाई छिमेकीले जानकारी गराए अनुसार मनिषा घरमा एक्लै भएको अवस्थामा एकजना केटा घरमा आएको र उनीहरूबीच झगडा परेको थियो। झगडा गरेर केटा बाहिरिएपछि उनी मृत अवस्थामा फेला परेकी थिइन्।
प्रहरीले छिमेकीले दिएको विवरणकै आधारमा मनिषासँग झगडा गरेर बाहिरिएका एकजना केटासहित अर्को एकजनालाई पनि नियन्त्रणमा लिएको छ।
‘हत्या हो वा आत्महत्या हामी अहिले नै भन्न सक्ने स्थितीमा छैनौं,’ एसपी चौधरीले भने, ‘प्राप्त भएको जानकारीका आधारमा दुईजनालाई नियन्त्रणमा लिएर अनुशन्धान सुरु भइसकेको छ। बाँकी तथ्य पोस्टमार्टम पछि खुल्न सक्छ।’