रेड युरिन रोगले १० भैँसी मरे
बैतडी, जेठ १२ गते । लामो समयको खडेरीले बैतडीका विभिन्न स्थानमा पशु चौपाया मर्न थालेका छन् । स्थानीयवासी मनोरथ भट्टराईका अनुसार पाटन नगरपालिका–२ सकार लदौलीमा रेड युरिन रोगका कारण १० भैँसी मरेका छन् । लामो समयको खडेरीले यो वर्ष भैँसीमा यो रोग बढी देखापरेको जिल्ला पशुसेवा कार्यालय पाटन बैतडीका पशु विकास अधिकृत देवीदत्त भट्टले बताउनुभयो । “सुख्खाका कारण हरियो घाँस खान नपाएकाले भैँसीमा यो रोग देखापरेको हो”, उहाँले भन्नुभयो, “पालुवा पलाउने बेला यस्तो रोग देखापर्ने भए पनि यो वर्ष बढी देखापरेको छ ।”
शिखरपुर, सिद्धेश्वर, कैलपाल, सिद्धपुर, पाटन नगरपालिकाका केही वडामा यो रोग बढी देखापरेको होे । उन्यूँ लगायतका घाँसको पालुवा खाएमा यो रोग देखापर्ने गर्दछ । रेड युरिन रोग लागेमा भैँसीको गहुँतमा रगत देखापर्ने, ढाडिने, ¥याल चुहाउने र समयमा उपचार नपाएमा भैँसी मर्नेसमेत हुन्छ ।
रोग लाग्ने बित्तिकै उपचार गर्न पाए रेड युरिन रोग निको हुने अन्यथा रोग निको नहुने पशु प्राविधिकले बताएका छन् । तर जिल्लामा पशुको उपचार गराउनका लागि सहज पहुँच नभएको किसानको गुनासो रहेको छ । रासस