नयाँ राजनीतिक पहल आवश्यक : डा. भट्टराई
काठमाडौं, जेठ १० नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपाल र नेपाली नागरिकको आफ्नै परिचय सहितको जीवन बिताउनका लागि नयाँ राजनीतिक पहलको जरुरी रहेको बताउनुभएको छ ।
काठमाडौंमा भएको कार्यक्रममा उहाँले भारत र चीनजस्ता ठूला छिमेकी मुलुकका बीचमा रहेर पनि नेपालले आफ्नै परिचय स्थापित गर्नुपर्ने बताउनुभयो ।
उहाँले जर्मनी, फ्रान्स र इटालीका बिचमा रहेको सानो राष्ट्र स्विटजरल्यान्ड समृद्धिको शिखरमा पुगेको उदाहरण दिँदै नेपालले पनि छिट्टै समृद्धि हासिल गर्न सक्ने जिकिर गर्नुभयो ।
“पुरानो घरको छानामात्रै फेरेर नयाँ शक्ति बन्दैन” उहाँले भन्नुभयो, “त्यसैले यो जगैदेखि नयाँ पार्टी हो, यो कुनै पुरानो पार्टीको नयाँ रुप होइन ।”
कार्यक्रममा नेपाली काँग्रेस र राप्रपा नेपालका केही नेता तथा कार्यकर्ता नयाँ शक्तिमा प्रवेश गरेको घोषणा गरिएको थियो । रासस