शेष घलेको छोरा भन्दै युवतीलाई ठग्ने युवक पक्राउ
पोखरा – शेष घलेको छोरा भनी केटीहरुलाई ललाई फकाई गरी ठगी गरेको आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुं मनपाङ २ शेराटार स्थायी घर भई हाल जिल्ला चितवन पार्वतीपुर बस्ने बर्ष २७ को राज भन्ने चित्र कुमार श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
आकाश घलेको नामको फेसबुक तथा भाइवरबाट केटी साथी बनाई आफु शेष घलेको छोरा आकाश घले भएको र हाल अमेरिकामा बस्दै आएको बताउने गरेका थिए । उनले ‘तपाईहरु पनि अमेरिका आउने हो भने नेपालमा मेरो साथी छ, उसलाई भेटनुस्’ भनेर सम्पर्क नम्बर लिने र आफै आकाश घलेको साथी बनि भेट्ने र केटीहरुलाई अमेरिका पठाई दिने आश्वासन दिदै ठगी गर्ने गरेको आरोपमा वडा प्रहरी कार्यालय बैदाम पोखराले पक्राउ गरेको हो ।
प्रारम्भिक सोधपुछको क्रममा निज श्रेष्ठ १० वर्षदेखि मलेसियामा अवैध कामदारका रुपमा रही बैशाख २५ मा नेपाल फर्किएको भनी बताएको र निजले फेसबुक तथा भाईवरबाट केटी साथीहरु बनाई बिभिन्न बहानामा ठगी गर्ने गरेको स्वीकार गरेको जनाइएको छ । कास्की प्रहरीले यस्तै प्रकृतिको अन्य घटना घटेको भए तत्काल सम्पर्क गर्न पनि सर्वसाधारणलाई आग्रह गरेको छ ।