सञ्चारमाध्यममा तामाङ पत्रकारको समावेशी सहभागिताबारे दुई दिने गोष्ठी सम्पन्न
ललितपुर । तामाङ सञ्चार समूहद्धारा आयोजित सञ्चारमाध्यममा तामाङ पत्रकारको समावेशी सहभागिता विषयक दुईदिने गोष्ठी बिहीबार सम्पन्न भएको छ । बुधबारबाट ललितपुरमा सुरु भएको गोष्ठीमा विभिन्न सञ्चारमाध्यममा कार्यरत तामाङ सञ्चारकर्मीहरुको सहभागिता थियो ।
गोष्ठीको पहिलो दिन बुधबार नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मोहनसिं लामाले ‘मिडियामा आदिवासी जनजातिको अवस्था’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरे ।
सो क्रममा उनले मुलधारका सञ्चारमाध्यममा आदिवासी जनजाति पत्रकारको सहभागिता न्यून रहेकोले आदिवासी जनजातिको मुद्दा समेट्न नसकिएको बताए । आदिवासी जनजाति पत्रकारको सहभागिता सबै सञ्चारमाध्ममा बढाउन विशेष पहल गर्नुपर्नेमा उनले जोड दिए ।
दोस्रो दिन बिहीबार भाषाविद अमृत योजन–तामाङले ‘तामाङ आमसञ्चार ः ऐतिहासिक सन्दर्भ’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरे । कार्यपत्रमा योञ्जनले तामाङ पत्रकारिताको ऐतिहासिक प्रसंग जोड्दै हाल तामाङ पत्रकारिताको वर्तमान अवस्थाका बारेमा चर्चा गरे ।
त्यसैगरी समूहका अध्यक्ष जगत दोङले ‘सञ्चारमाध्यममा तामाङ पत्रकारको समावेशी सहभागिता ः वर्तमान अवस्था र भावी योजना’ विषयमा कार्यपत्र प्रस्तुत गरे । उनले कार्यपत्रका छापा तथा विद्युतीय सञ्चारमा तामाङ पत्रकारको सहभागिताको अवस्था निकै न्यून रहेको तथ्य प्रस्तुत गरे ।
गोष्ठीमा अग्रज पत्रकारहरु ध्यानबहादुर मोक्तान, रमिता लामा, प्रतिक तामाङलगायतले पत्रकारिताबारे आ–आफ्नो अनुभव प्रस्तुत गरे । सोही क्रममा रेडियो भोजपुरका स्टेशन म्यानेजर सरस्वती तामाङ, ब्लास्ट टाइम्स दैनिकका धनकुटा सम्वाददाता सन्तवीर तामाङ, लेखक प्रताप वललगायतले आ–आफ्नो अनुभव राखे ।
गोष्ठीमा सहभागीहरुले तामाङ पत्रकारहरुलाई व्यावसायिक तालिमलगायत उत्प्रेरित गर्ने विभिन्न कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताए । मुलधारका सञ्चारमाध्यममा तामाङ पत्रकारहरुको उपस्थिति न्यून रहेको, नयाँ पुस्ताको चासो कम देखिएको, पत्रकारिताबाट पलायन हुने क्रम बढेको जस्ता समस्याहरु सहभागीहरुले उठाएका थिए ।
तामाङ पत्रकारलाई व्यावसायिक र सक्रिय बनाउन व्यावसायिक तालिम, शिक्षा, अवसरको पहिचान, वैकल्पिक सञ्चारमाध्यमको सञ्चालनलगायत विषयमा तामाङ सञ्चार समूहले जोड दिनुपर्ने सुझाव सहभागीहरुले दिए ।
आयोजकले दिएको जानकारी अनुसार गोष्ठीमा काभ्रे, भोजपुर, धनकुटा, दोलखा, उदयपुर, सिन्धुलीलगायत उपत्यकाका विभिन्न सञ्चारमाध्यममा कार्यरत तामाङ सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
दुई दिने गोष्ठी आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा सञ्चालन गरिएको समूहका अध्यक्ष जगत दोङले जानकारी दिए । @ राजधानी |