बुद्ध शिक्षा:जान्ने मात्र होइन, बुझ्नै पर्ने र व्यवहारमा उतार्नु पर्ने शिक्षा हो
गौतम बुद्धको जन्म ई.पू. ६२३ मा लुम्बिनीमा भएको थियो। महाभिनिष्क्रमण अर्थात गृहत्याग गरेपछि भारतको बुद्धगयामा विपश्यना ध्यान गरेर बुद्धत्व ज्ञान प्राप्त गर्नु भएपछि उहाँ सम्यक सम्बुद्ध हुनुभयो। उहाँलाई भगवान गौतम बुद्ध भन्न थालियो। ४५ वर्षसम्म उहाँले निर्वाणमा पुग्ने धर्मको धर्मोपदेश गर्नु भएपछि ८० वर्षको उमेरमा भारतको कुशीनगरमा महापरिनिर्वाण हुनु भयो। यो वर्ष हामी सबैले २५६० औं बुद्ध जयन्ती मनाउँदै छौं। वास्तवमा यो निर्वाण भएको दिवस हो। जन्म दिवस वा जयन्ती होइन। जन्म जयन्ती त वर्तमान वर्ष सन् २०१६ र ई.पू. ६२३ जोड्दा २६४० जन्म जयन्ती हुन्छ। अर्को कुरा सारनाथमा धर्मचक्र प्रवर्तन अर्थात पंचभद्रीय भिक्षुहरुलाई सर्वप्रथम निर्वाण धर्मको धर्मोपदेश गर्नु भएको २६०४ वर्ष भयो। अर्को कुरा बुद्धको जन्म, बुद्धत्व ज्ञान प्राप्त र निर्वाण भएको दिन बैशाष पूर्णिमा परेको थियो। त्यसैले बुद्ध जयन्तीलाई नै बैशाष पूर्णिमा महोत्सव पनि भनिन्छ। यो ३ वटै दिवस २५६० मा नै परेको होइन । तीन वटै तिथि बैशाष पूर्णिमामा परेको मात्र हो। निर्वाण दिवस २५६० लाई नै बुद्ध जयन्ती वा लुम्बिनी दिवस भनी लुम्बिनी विकास कोष र नेपाल सरकारले लुम्बिनीमा मनाउने गर्दछ। बुद्ध जन्मेको वर्ष २६३९ वर्षलाई नै बुद्ध जयन्ती वा लुम्बिनी दिवसको रुपमा मनाउनु नै उचित हुन्छ। तर कुनै कुनै महापुरुषको निधन भएको वर्षवाट गणना गरी सम्वत प्रारम्भ गर्ने चलन छ। बुद्ध सम्बत २५६० पनि निर्वाण भएको रुपमा लिनु पर्दछ, जन्मको रुपमा होइन।
सगरमाथाको देश नेपालले विश्वलाई सबभन्दा ठूलो महामानव शान्ति नायक गौतम बुद्ध दिएको छ। वर्तमानमा विश्व शान्तिका लगि भगवान बुद्धले दिनु भएको शान्तिका उपदेश र शिक्षा नै अति नै महत्वपूर्ण रहेका छन्। बुद्धको शिक्षालाई ह्दयदेखि पालन गरेर व्यवहारमा उतार्न सक्यौं भने, निश्चित रुपमा घर परिवारदेखि समाज, राष्ट्र र विश्वमा नै सुख शान्ति कायम हुन जाने निश्चित छ। यसको लागि पहिलो कुरा त भगवान बुद्धका शिक्षा र उपदेशलाई अध्ययन गरेर, प्रवचन वा धर्मदेशना सुनेर, सत्संग गरेर थाहा पाउनु पर्यो। त्यसपछि आफ्नो स्वविवेकले विचार, चिन्तन, मनन गर्नु पर्यो। भगवान बुद्धले कालम सूत्रमा भन्नु भएको छ – ‘विद्वान, पंडित, ज्येष्ठ वा आफू भन्दा ठूलाले भनेको भन्दैमा, कुनै धर्म ग्रन्थमा लेखेको छ भन्दैमा, आँखा चिम्लेर त्यस कुरालाई मान्ने वा स्वीकार गर्ने नगर, स्वविवेकको आधारमा चिन्तन मनन गरेर अभ्यासमा उतारेर हेर, सही, उचित, सत्य ठहर्छ भने स्वीकार गर, अपनाउ अन्यथा त्याग।’ बुद्धले प्रत्येक मानिसलाई बौद्धिक एवं आध्यात्मिक स्वतन्त्रता दिनु भएको छ। अन्धविश्वासको कुरा कही पनि छैन।
बुद्ध शासन वा बौद्ध समुदाय संघ र गृहस्थ गरी दुई भागमा विभाजित छन्। संघ वा भिक्षु संघ अन्तर्गत भिक्षु भिक्षुणी दुई समूह अनि गृहस्थ अन्तर्गत उपासक र उपासिका गरी जम्मा चार अंग छन्। गृहत्यागी भएर काषाय वस्त्र चीवर धारण गरी विहारमा बसी धर्म र ध्यानको अभ्यास गरी भिक्षाटनबाट जीविका यापन गर्नेलाई भिक्षु भनिन्छ। त्यस्तै भिक्षुणी गृहत्यागी गुरुआमा हुन््। तर आजकाल थेरवादी बुद्ध शासनमा भिक्षुणी कहीँ पनि छैन। यो परम्परा हराइसकेको छ। तर आजकल गुरुआमालाई अनागारिका (घर त्यागी विहारमा बस्ने ) भनिन्छ। भिक्षुहरुले २२७ र भिक्षुणीहरुले ३११ नियमहरु पालन गर्दछन्। त्यस्तै अष्टशील पंचशील पालन गरी जीवन यापन गर्नेलाई उपासक उपासिका अथवा बुद्ध शिक्षा पालन गरी बुद्धको नजिक भएका गृहस्थी पुरुष महिलालाई भनिन्छ।
बुद्ध शासनमा असल गृहस्थी बन्न पनि कम्तीमा बुद्धका पंचशील अर्थात पाँच वटा नियमहरु व्यवहारमा पालन गर्नु पर्दछ। यी ५ वटा शीलमा पहिलो प्राणी हिंसा नगर्ने, दोस्रो चोरी नगर्ने, तेस्रो व्यभिचार वा परस्त्रीलाई बलात्कार नगर्ने, चौथो असत्य झुठो कुरा नबोल्ने र पाचौं मादक पदार्थ लागु औषधी सेवन नगर्ने। गृहस्थीहरु पहिलो कुरा त यी पाँच नियमहरुलाई राम्ररी अध्ययन गरेर प्रवचन सुनेर र सत्संगबाट जान्नु पर्दछ। जानेर थाहा पाएर अरुलाई भन्न सुनाउन सक्ने भए झन राम्रो। तर जानेर वा भन्न जानेर मात्र पुग्दैन। जान्नु भनेको केही कुरा थाहा पाउनु, जानकारी लिनु, परिचय प्राप्त गर्नु मात्र हो। जानकारी लिएर बुझ्नु पनि पर्दछ। अर्थात बुझ्नु भनेको भित्रदेखि धर्मका कुरा बोध हुनु वा आत्मसात गर्नु अर्थात जीवनको व्यवहारमा इमान्दारीपूर्वक, सही ढंगबाट पालन गर्न उतार्नु नै बोध हुनु वा बुझ्नु भनिन्छ। जस्तै पंचशीललाई जानेर बुझेर जीवनमा लागु नगर्दासम्म शीलले हामीलाई छुँदैन, हाम्रो जीवनमा केही परिवर्तन देखिँदैन। शील धर्मले हामीलाई छुँदैन, प्रभाव पार्दैन। त्यसैले जीवन व्यवहारमा सही सत्य ढंगबाट अभ्यास गरेर पालन गर्नाले शील पूर्ण हुन्छ, प्रभावकारी हुन्छ, फलदायी, सुखदायी हुन्छ। बुद्धको शिक्षा अध्ययन गरेर अरुलाई सुनाउन, प्रवचन गर्न जानेर बौद्ध विद्वान हुन जति सजिलो छ, त्यतिकै बौद्ध शिक्षालाई व्यवहारिक जीवनमा स्वयंले पालन गरेर धार्मिक वा आध्यात्मिक बन्नु त्यत्तिकै गाह्रो छ।
अर्को कुरा जीवनमा वर्षको एक दिन बुद्ध जयन्तीमा मात्र शील ग्रहण र पालन गर्नाले मात्र जीवनमा परिवर्तन देखिँदैन, फलदायी हुदैन। जीवनमा परिवर्तन आउन सक्दैन। बुद्ध जयन्ती बैशाष पूर्णिमाको एकदिन ५ वटै शील पालन गर्न प्रयास गरियो, रक्सीपान, मांस भक्षण पनि गरिएन। राम्रो संयमित जीवन भयो। तर पुनः अर्को दिनदेखि दिनहँु सुरापान गर्दछ भने त्यस्तो एकदिनको शील पालनले केही लाभ हँुदैन। अत जीवनमा लामो समय सम्म नियमित र निरन्तर रुपमा शील पालन गर्दै जानु पर्दछ। अनि मात्र स्वास्थ्य लाभ हुन्छ, फलदायी, आनन्द एवं सुखदायी हुन्छ। पक्का बौद्ध उपासक, उपासिका गृहस्थी हुन्छ।
भगवान बुद्धको पावन बैशाष पूर्णिमा त्रिसंयोग दिवसबाट हामीहरुले बुद्धका आध्यात्मिक शिक्षा – चार आर्यसत्य, आर्य अष्टा•िक मार्ग, दुःख, अनित्य, अनात्म दर्शन, शील, समाधि, प्रज्ञा, विपश्यना ध्यान आदिको अध्ययन गरेर, जानेर, बुझेर व्यवहारिक जीवनमा लागु गर्न, पालन गर्न इमान्दारीपूर्वक अभ्यास गर्यौं भने निश्चित रुपमा हामी सबैको जीवनमा सकारात्मक परिवर्तन आई सुख, शान्ति आनन्दको जीवन प्राप्त गर्ने हुन्छौं। अनि हामी अध्यात्म वा धर्मको बाटोमा अगाडि बढ्ने हुन्छौं। अतः भगवान बुद्धको शिक्षा जान्ने मात्र होइन बुझ्नै पर्ने, व्यवहारमा उतार्नु पर्ने शिक्षा हो। अन्तमा भगवान बुद्धको जन्म, सम्यक सम्वोधि ज्ञान प्राप्त र महापरिनिर्वाण हुनु भएको त्रिसंयोग दिवस बैशाष पूर्णिमा महोत्सवको पावन उपलक्ष्यमा सम्पूर्ण मनुष्य एवं प्राणीहरुमा सुख, शान्ति र मंगल होस भनी भित्री ह्दयदेखि मंगल कामना गर्दछु। अस्तु। भवतु सब्व मंगलं |
-छत्रराज शाक्य