नेपाली सहित चालिस आरोही सर्वोच्च शिखर सगरमाथामा
काठमाडौं- करिब चार दर्जन आरोहीले शुक्रबार बिहान विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहन गरेका छन्। महिना दिनदेखि उपयुक्त मौसम कुरेर सगरमाथा आधारशिवरमा बसिरहेका २ सय ८८ विदेशी र एक नेपाली आरोही तथा करिब चार सय नेपाली ‘हाइ अल्टिच्युड वर्कर’मध्ये ४० जना जति शुक्रबार बिहान शिखर पुगेका हुन्।
‘बिहान ४० जना जति आरोही शिखर पगेको जानकारी आएको छ,’ आधार शिविरमा रहेका पर्यटन विभागका नायब सुब्बा तथा सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले नागरिकन्युजसँग टेलिफोनमा भने, ‘यसमा कुन देशका र क-कसले चढे भने एकीन विवरण अझै आउन बाँकी छ।’
उनका अनुसार शुक्रबार शिखर पुग्नेमा २० जना नेपाली र २० जना जति विदेशी आरोही रहेको अनुमान छ। बिहीबार बिहान पनि तीन नेपाली र तीन विदेशीले चुचुरोमा विजयी झन्डा फहर्याएका थिए। @ नागरिक दैनिक |