प्रचण्डको खस्कँदो व्यक्तित्व – डा. सुरेश आचार्य
प्रधानमन्त्री हुँदै गरेका एमाओवादी अध्यक्ष प्रचण्ड अकस्मात रोकिए । संसद्मा सरकारविरुद्ध आवाज बुलन्द गर्न लागेका माओवादी सांसदको मुख एकाएक बन्द भयो । कांग्रेससँग सहमतिको दस्ताबेज बनाएर पार्टी अध्यक्षलाई भेट्न गएका एमाओवादी नेता जनार्दन शर्मा प्रभाकरले जवाहरकोटमा हात हाल्न पाएनन् । कांग्रेसले समर्थन दिइसक्यो, तिमी के गर्छौ ? भन्ने प्रचण्डको प्रश्नलाई खड्ग ओलीले प्रति प्रश्न तेस्र्याइदिए– मेरै समर्थनको भावी प्रधानमन्त्री किन बन्दैनौ ? पहिलो हाताहाती प्रस्तावलाई प्रचण्डले लत्याए र दोस्रो उधारो तमसुकमा चित्त बुझाए । अर्थात्, कुनै बेला प्रचण्डलाई भित्ते राष्ट्रपति भनेर उडाउने उनै ओलीले तमसुके प्रधानमन्त्रीमा परिणत गरिदिए । अन्ततः ओलीको कुर्सीमा आएको तुफान अचानक रोकियो ।
एमाले नेतृत्वको सरकार छाड्ने निर्णयमा पुगेका प्रचण्डले जसरी ओलीलाई झुक्याउन खोजे, कांग्रेसलाई पनि त्यसरी नै झुक्याए । एमालेसँग प्रचण्डले गरेको भावी प्रधानमन्त्रीको तमसुकको बेहोरा त नागरिकले थाहा पाउन सकेको छैनन्, तर एमालेले उनलाई प्रधानमन्त्री छाडिदिने छ भन्ने विश्वास पनि कसैले गर्नसकेको छैन । अनुहार जोगाउन प्रचण्डले जे भने वा भन्दै गरुन्, त्यो बहाना मात्र हो भन्ने आमनागरिकले बुझेको छ । उनले यो खेलमा आर्थिक लाभ कति लिए, त्यो आरोप लगाउनेहरू नै जानून्, तर राजनीतिक रूपमा उनको यो खेल आत्मघाती सावित हुनसक्छ । उनले यो खेलमा आफूलाई मात्र घोर अविश्वासी र पिंधविनाको स्वार्थी नेताका रूपमा मात्र चिनाएनन्, पार्टीको पछिल्लो पुस्तालाई पनि अनाहक प्रयोग गरे, अविश्वासी करार गरिदिए ।
अब प्रचण्ड कसको समर्थनमा भावी प्रधानमन्त्री बन्लान् ? प्रचण्डलाई सबैभन्दा चुनौतीपूर्ण प्रश्न यही हो । उनले राष्ट्रिय सरकार बन्न नसक्ने देखेर आफू पछाडि हटेको त बताए, अब कुन आधारमा राष्ट्रिय सरकार बन्छ, त्यसको जवाफ अब उनीसँग छैन । पार्टीभित्र र बाहिर हरेक असफलतालाई आफ्नो अनुकूल बनाउन खोज्ने प्रचण्ड यसपटक पनि त्यो प्रयत्नमा नलागेका होइनन् । तर हरेक पटक झुक्याउने रणनीतिलाई हतियार बनाउँदा कुनै दिन त्यो हतियार आफ्नै विरुद्ध फर्कन सक्छ भन्ने कुराको हेक्का राख्नुपर्ने भएको छ । अब फेरि कांग्रेसले प्रचण्डलाई किन प्रधानमन्त्री मान्ने ? खड्ग ओलीले प्रधानमन्त्री बनाइदिने भनेको प्रचण्डलाई लेखेर कुर्सी हस्तान्तरण गर्ने त होइन । संसद्को प्रक्रिया पूरा गरेरै जानुपर्नेछ । त्यो अवस्थामा सिंगो एमालेको समर्थनको ग्यारेन्टी ओलीले गर्लान्, नगर्लान्, त्यसबाहेक एमाले मात्रको समर्थनमा प्रधानमन्त्री बन्न प्रचण्डका लागि सम्भव छैन ।
यसपटक ओलीविरुद्धको गठबन्धन कांग्रेस, एमाओवादी र मधेसी दलहरूबीच हुँदै थियो । यो नागरिकका हितविरुद्ध र पार्टी अझ पार्टीभित्र पनि गुट स्वार्थमा केन्द्रित ओली सरकारविरुद्धको मोर्चाबन्दी थियो । यसले घोषित संविधान कार्यान्वयनमा मधेसीको सहयोग र समर्थनको सम्भावना बोकेको थियो । नागरिकले चाहेको महँगी र कालोबजारीको अन्त्यको आशा थियो । आज जुन स्वार्थमा प्रचण्डले ओलीको निरन्तरता चाहेका छन्, उनी आफैं प्रधानमन्त्री हँुदा त्यो अझ सहज थियो । तर कुन त्यस्तो अदृश्य शक्तिले प्रचण्डलाई नेपाली राजनीतिका अति अविश्वसनीय खेलाडीका रूपमा स्थापित गर्न चाह्यो, त्यसको खोजी समयले गर्ने नै छ ।
संसद्को पहिलो पार्टी कांग्रेसले आज जसरी एमाओवादीलाई समर्थन दिन खोज्यो, भोलि एमालेलाई दिन उसका लागि कुनै कठीन छैन । सरकारको नेतृत्व फेरिने सर्तमा कांग्रेसले एमालेका कुनै पनि नेताका नाममा सहमति दिएका दिन न ओली रहलान्, न प्रचण्डको प्रधानमन्त्री बन्ने सपना पूरा होला । हिजो झलनाथ खनाल हटेर माधव नेपाल प्रधानमन्त्री भएकै हुन् । आज खड्ग ओली हटेर बामदेव गौतम नै प्रधानमन्त्री हुने भए के आश्चर्य होला ? हिजो तेस्रो पार्टीका रूपमा खेल खेलेको एमालेका लागि दोस्रो पार्टीका रूपमा यो अझ बढी सहज छ । तेस्रो पार्टीका रूपमा प्रचण्डले एउटा अवसर गुमाएका छन् र अर्को अवसरको प्रतीक्षा उनका लागि निकै महँगो पर्दैछ ।
यो राजनीतिक घटनाक्रममा सत्ता गुम्ने पीडामा केहीले कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्तालोलुपका रूपमा प्रस्तुत गर्न नखोजेका होइनन् । देउवाले आजसम्म सशक्त प्रतिपक्षको भूमिकाकै पक्षमा आफूलाई उभ्याएका छन् । यो बेग्लै कुरा हो कि कांग्रेसभित्र यो सरकारको निरन्तरतामा कसैको सहमति छैन । नागरिक हितमा काम गर्न नचाहने सरकारको तत्काल हट्नुपर्छ भन्ने माग कांग्रेसभित्र बढ्दै छ । एमाले र एमाओवादीका नेतासमेत सरकार ठीक ढंगमा चलेको छ भन्न सकेका छैनन् । एमाओवादी आफैं अर्को सरकारको पक्षमा छ । प्रचण्डका बाध्यता उनैले बुझेका होलान्, तर सरकारको निरन्तरता चाहन्थ्यो भने संसद्मा सरकारविरुद्धको आवाज मुखरित हुने थिएन ।
देउवा आफैंले सरकारको नेतृत्व चाहेका थिएनन् र होइनन्, केवल असफल सरकारको पतन चाहेका हुन्, जुन प्रतिपक्षको दायित्व पनि हो । तर प्रचण्डले एक कदम अघि बढेर दुई कदम पछि फर्कने जुन आत्मघाती बाटो रोजे, यसले या त कांग्रेस आफैंले नेतृत्व गर्ने सरकारको तयारीमा लाग्न प्रेरित गरेको छ, अन्यथा एमालेकै अर्को नेतृत्वलाई समर्थन गर्न बाटो खोलिदिएको छ । पहिलो सम्भावनाले देउवालाई प्रधानमन्त्री बनाउने छ भने दोस्रो सम्भावनाले प्रचण्डलाई प्रधानमन्त्री बन्न दिने छैन ।