हेडलाईन

इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने        

शेरबहादुर देउवा र केपी ओलीलाई जेलमा भेट्न चाहन्छु-बालकृष्ण ढुंगेल

balkrishna-dhunge

-बालकृष्ण ढुंगेल, केन्द्रीय सदस्य, एमाओवादी

बालकृष्ण ढुंगेल एकीकृत माओवादीका केन्द्रीय सदस्य हुन् । अघिल्लो संविधानसभामा उनी ओखलढुंगाबाट सभासद् थिए । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वोच्च अदालतले ढुंगेललाई सर्वस्वहरणसहित जन्मकैदको सजाय सुनाएको छ । तर, ढुंगेल अदालतको फैसला नमान्ने बताउँछन् । अदालतको फैसला कार्यान्यवन गर्ने निकायले पनि उनलाई पक्राउ गरेको छैन । चौबीसै घण्टा प्रहरीले पहरा दिइरहने एउटा कार्यालयमा भेटिए ढुंगेल । उनले आफू गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताको बाहक भएको दाबी गरे । उज्जन हत्यामा आफ्नो संलग्नता नरहेको भन्दै उनले अदालतले बयानको मौकसमेत नदिई एकलौटी आफूविरुद्ध फैसला गरेको आरोप लगाए । अदालतले शान्ति प्रक्रिया स्वीकार नगरेको र डलरवादीहरुको योजनामा शान्ति प्रक्रिया भाँडेर मुलुकलाई अनन्तकालसम्म द्वन्द्वमा फसाउने षड्यन्त्रको अदालत मतियार भइरहेको संगीन आरोप समेत उनले लगाए ।

ढुंगेलसँग  गरेको कुराकानीको सम्पादित अंशः–

म एउटा अपराधिसँग अन्तर्वार्ता गर्दै छु, ‘ एम आई राइट ?’

शतप्रतिशत गलत । यो देशमा गणतन्त्र स्थापनाका निम्ति अथक योद्धा भनेर बुझ्दा मेरो योगदानको सम्मान हुन्थ्यो होला । तर, तपाईंले अपराधी भन्नुभयो । तपाईंको जस्तै संकीर्ण आँखाबाट हेर्दा अपराधी हुँला । अरु कसैको आँखाबाट हेर्दा मुक्तिदाता पनि भइएला । यो हेराइमा भर पर्ने कुरा हो ।

खुलेआम हिंड्नुहुन्छ होइन, सडकमा ?

मैले लुकेर हिंड्नुपर्ने केही त्यस्तो कामै गरेको छैन । म नर्मल जीवनमा छु ।

भूमिगत होइन तपाईं ?

म भूमिगत छैन । भूमिगत जाने गरी के गरेको छु र ? भाग्नुपर्न र लुक्नुपर्ने अवस्था म देख्दिन । चोरी डकैती गरेको छैन । कसैलाई मारेको छैन ।

उज्जनकुमार श्रेष्ठलाई गोली हानेर मारेको होइन तपाईंले ?

म घटनामा संलग्न छैन । जतिबेला घटना घट्यो, त्यतिबेला म ओखलढुँगाको पार्टी नेता थिएँ । जिल्ला नेताका रुपमा नैतिक जिम्मेवारी लिनुपर्छ होला ।
त्यो बाहेक मलाई केही थाहा छैन ।

त्यसो भए अदालतले के का आधारमा तपाईंलाई दोषी किटान गरेको त ?

नियतबस मलाई फसाइएको हो । मलाई बयानका लागि मौका नै दिइएन । अदालतमा अभियोग लागेका व्यक्तिले आफूमाथि लागेको अभियोगबारे बयान दिन पाउनुपर्दैन ? खै मलाई त्यो मौका दिइएको ? त्यतिबेलाको सरकारले कसलाई फसाउनुपर्छ त्यसैका विरुद्ध मुद्धा हाल्ने परिपाटी थियो । माओवादीका नेता कार्यकर्ता फसाउन कसलाई जेल हाल्ने, कसलाई सामूहिक हत्या गर्ने, कसलाई बलात्कार गर्ने, कसको घरमा आगो लागाउनका निम्ति जस्तो मुचुल्का चाहिने हो त्यो पिहिल्यै तयार पारिएको हु्न्थ्यो । मेरो मुद्धामा त्यही गरियो ।

अदालतले किटान गरिसकेका व्यक्तिलाई किन अपराधी भन्न नमिल्ने ?

तपाईंलाई मेरो प्रतिप्रश्न छ । ‘तपाईंले चाहिं मलाई किन अपराधी भन्ने ?’ मलाई चित्त बुझ्दो जवाफ दिनुस् न त ।

नेपाली नागरिकका नाताले तपाईंले कानून मान्नु पर्दैन ?

कानून सबैले मान्नुपर्छ । म पनि मान्छु ।

कानून मान्ने मान्छेले हत्यामा संलग्न रहेको प्रमाणित गरेर सर्वोच्च अदालतले जन्मकैदको फैसला सुनाउँदा पनि यस्तो जबर्जस्ती कुरा गर्छ त ?

यो अरुजस्तो समान्य घटना होइन । तपाईंको प्रश्न यो अर्थमा जायज छ । तर, जनयुद्धमा भएका सबै घटना सत्य निरुपण तथा मेलमिलाप आयोगले हेर्न भन्ने समझदारी छ । विस्तृत शान्ति सम्झौतामा स्पष्ट उल्लेख गरिएको छ । शान्ति प्रक्रिया अन्तरिम संविधानको अंग बनिसकेको स्थिति हो । मलाई जुन मुद्धाका नाममा भनेर जन्मकैद सुनाइएको छ । त्यो द्वन्द्वकालिन घटना हो । द्वन्द्व तत्कालिन राज्य र विद्रोही पक्षबीचमा थियो । २०५२ फागुन १ गतेदेखि वृहत शान्ति सम्झौता भएको दिनसम्मका घटना द्वन्द्व व्यवस्थापनअन्तर्गत सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत यी मुद्धा हल गरेर जानुपर्छ भन्नेस्पष्ट किटान गरिएको छ । युद्ध पशु र मान्छेका बीचमा थिएन, वनस्पति र मान्छेका बीचमा थिएन । मान्छे र मान्छेकै बीचमा थियो । पूरानो सत्ता र नयाँ सत्ताका बीचमा थियो । शान्ति सम्झौता हुँदाका बखत हामी नयाँ सत्ता सञ्चालन गरिरहेका थियौं । म नयाँ सत्ता सञ्चालकको एउटा सदस्य हुनुका नाताले सबैभन्दा पहिले विस्तृत शान्ति सम्झौतालाई आत्मसात गर्नुपर्छ । त्यो मेरो पहिलोे कर्तव्य हुन आउँछ । विस्तृत शान्ति सम्झौतालाई आत्मसात गरेरै अदालतको फैसला अस्वीकार गरेको हुँ । एउटा राजनीतिक प्राणीको नाताले सोच विचार गरेरै मैले त्यो निर्णय लिएको हुँ । बालकृष्ण ढुंगेल अदालतले गरेको शान्ति प्रक्रियाविरोधी र गैरसंवैधानिक निर्णय सर्लक्क स्वीकार गरेर जेलको बास बस्न जाने खालको मान्छे होइन । म दिर्घकालिन जनयुद्धको एउटा जिम्मेवार सदस्य हुँ । नेपालको परिवर्तन र राज्य पुनर्संरचनाको वकालत गर्ने व्यक्ति हुँ । अदालत शान्ति प्रक्रियाको विरोधमा उभियो भन्दैमा बाकृष्ण ढुंगेल शान्ति प्रक्रियोविरोधी हुन सक्दैन । बरु त्यसलाई दृढतापूर्वक आत्मसात गर्छ ।

भनेपछि अदालत नेपालमा शान्ति होइन, भाँडभैलो चाहन्छ भन्ने तपाईंको आरोप ?

यो आरोप होइन । घोषित यथार्थता हो । बास्तविकता हो । यसभित्र सत्यता छ । घटनाक्रमले मेरो भनाइलाई पुष्टि गर्दै पनि लगेको छ ।

किन भने अदालतले तपाईंको पक्षमा फैसला गरेन ?

मेरो पक्ष होइन । म व्यक्तिको कुरा गौण हो । म एमाओवादीको केन्द्रीय सदस्य र जनयुद्धको सिपाही हुँ । शान्ति प्रक्रियाको पक्षपाती हुँ । राज्य सत्ताका तीन अंगमध्ये न्यापालिका एउटा त्यस्तो अंग बनेर खडा भयो, कि जसले शान्ति सम्झौताको उल्लंघन गरेको छ । अन्तरिम संविधानको भावना र मर्ममाथि बलात्कार गरेको छ ।

त्यसो भए न्यायाधीशको आवरणमा युद्ध भड्काउन खोज्नेहरुले अदालत कब्जा गरेका छन् ?

सोलोडोलो सबै न्यायाधीश शान्ति प्रक्रिया भाँडेर मुलुकलाई अस्थिरता र युद्धमा लैजान उद्धत छन् भन्ने आरोप मेरो होइन । शान्ति सम्झौतालाई धोती लगाउने र अन्तरिम संविधान च्यात्ने कामको सुरुआत खिलराज रेग्मीबाट भएको हो । कल्याण श्रेष्ठसम्म आइपुग्दा संविधान धेरैपटक बलात्कृत भएकोछ । यी दुई प्रतिनिधि पात्रहरु हुन्, जसले नेपालमा राज्य पुनर्संरचना र द्वन्द्व व्यवस्थापनलाई आत्मसात गरेर यसलाई सहयोग गर्नुको साटो मुलुकलाई अनन्तकालसम्म युद्धमा धकेल्न धृस्टता गरेका छन् । उनीहरुले देशी विदेशीहरु, जो नेपालमा अस्थिरता चाहन्छन्, जो नेपालको प्रगतिको विपक्षमा छन् । ती तत्वहरुको सिता खाएर उनीहरुकै भजन गाएका छन् ।

यसो भनेर तपाईंले आफ्नो मार्केटिङ गर्नुभएको हो । किनकी ठूल्ठूला नेतालाई केही नगर्ने विदेशीले बालकृष्ण ढुंगेललाई मात्रै जेलमा हाल्नुपर्ने किन होला ?

प्रचण्ड, बाबुराम, मोहन वैद्य, बादल, कृष्णबहादुर महरा, वर्षमान पुन, टोपबहादुर रायमाझी, शक्ति बस्नेत, मातृका यादव, देव गुरुङ, अग्नि सापकोटासहित धेरैलाई मुद्धा छन् । माओवादी आन्दोलनमा लागेका । माओवादी आन्दोलनलाई सहयोग गरेका । माओवादी आन्दोलनलाई समर्थन गरेका । माओवादी आन्दोलनप्रति सहानुभूति राखेका सबै मानिसविरुद्ध मुद्धा छन् । नभएकालाई पनि अब हुन्छन् । बालकृष्ण ढुंगेल त ‘टेस्ट केस’ हो । जो शान्ति प्रक्रिया भाँडेर नेपाललाई अस्थिरतामा लैजान चाहन्छन् । उनीहरुले यसको प्रारम्भ कतै न कतैबाट गर्नुपथ्र्यो । मबाट प्रारम्भ गरेका हुन् । धेरै ठूला मानिसबाट सुरु गर्दा पनि आफ्नो कोर्स पूरा हुनुभन्दा अगाडि नै प्रतिरोध हुने र आफ्नो डिजाइन असफल हुने खतरा आंकलन गरे । साह्रो सानो ठाउँमा छुँदाखेरि पनि त्यसले राष्ट्रिय÷अन्तर्राष्ट्रिय रुपमा चर्चा चलाउन नसकिने भएकाले बीचको मानिस खोजियो । आफ्नो व्यापारका निम्ति, प्रारम्भिक यात्राको उपयुक्त पात्रका रुपमा मलाई छानियो ।

तपाईं कुनै खरिद बिक्रीको साधन हो र व्यापार गर्नका लागि ?

अहिले शान्तिकाल छ । हिजो युद्ध थियो, युद्धकालमा उनीहरुको शान्तिको व्यापार फस्टाएको थियो । अहिले शान्तिकालमा युद्धको व्यापार गरिराखेका छन् । कथाकथित मानवअधिकारवादी, कानूनविद भन्नेहरु मुलुकलाई द्वन्द्वको भुमरीमा फसाएर डलरको खेतीमा लागेका छन् । बाबुराम भट्टराईको शब्दमा भन्ने हो भने ‘मानवअधिकारका नाममा युद्धको खेती गरेर डलरको बाली भित्रेयाउने’ काम भइरहेको छ ।

प्रमाणित गर्न सक्नुहुन्छ ?

त्यसका धेरै ‘प्रुफ’हरु छन् । तथ्यहरु छर्लङ्गै छन् । मन्दिरा शर्मा अहिले भागेर लण्डनमा बसेकी छन् । कनकमणि दीक्षित भ्रष्टाचारमा मुछिएर अनुसन्धानका लागि हिरासतमा छन् । अब सुबोध प्याकुरेल र शम्भु थापाको अकुत सम्पत्तिको अनुसन्धान गर्नुपर्छ । आज देश र समाजलाई मेलमिलाप र सदभाव चाहिएको छ । समस्याको समाधान चाहिएको छ । तर, स्वघोषित मानवअधिकारवादी दाबी गर्ने डलरवादीहरु समाजमा मेलमिलाप हुन नदिएर समस्या बल्झाउने र आफ्नो ‘भुँडी भर्ने’ खेलमा छन् । उनीहरु समाजमा मेलमिलाप होइन, आपसमा द्वन्द्व र विद्वेश फैलाउन उद्धत छन् । युद्धको घाउ कोट्याएर रक्ताम्य पार्ने खेलमा लागेकाहरुलाई समाजले र हामीले राम्ररी चिनेका छौं ।

तपाईंले हत्या अभियोगमा जेल सजाय पाउँदा कसरी सामाजिक सदभाव खल्बलिएको दाबी गर्न मिल्छ ? कसैले भनेको छ, बालकृष्णलाई जेल हालियो भने समाजमा द्वन्द्व बढ्छ भनेर ?

मानौं म आज जेल गएँ । आजैका दिन युद्धको घोषणा नहोला । तर यो निशिचत छ कि युद्ध र अशान्तिका लागि वातावरण तयार पार्छ । म जेल जाने वा नजाने भन्ने कुरा ठूलो होइन । बृहत शान्ति सम्झौतालाई आत्मसात गर्ने कि नगर्ने भन्ने सवाल महत्वपूर्ण हो । देशलाई अनन्तः युद्धमा धकेल्नका निम्ति गरिएको प्रारम्भ हो भनेर बुझ्दा राम्रो हुन्छ कि ? जो शान्ति प्रक्रियाको पक्षमा छ, समाजमा मेलमिलाप र सदभाव चाहन्छ ती सबै मिलेर यस्ता हर्कतहरुको प्रतिरोध गर्न जरुरी छ । शान्ति प्रक्रिया बालकृष्ण ढुंगेलको निजी विषय होइन ।

यु्द्ध तपाईंले लक्षित गरेका ‘तथाकथित अधिकारवादी वा डलरका खेती गर्नेहरुलाई चाहिएको छ वा तपाईंहरुलाई जबर्जस्ती फेरि युद्धको बाटोमा फर्काउन खोजँदैछ ?

युद्धा चाहेर नै उनीहरु हामीसँग जोरी खोजिरहेका छन् । युद्धको आकांक्षले नै उनीहरुले गैरसंवैधानिक र शान्ति प्रक्रिया भाँडेर मुलुकलाई अनन्त कालसम्म द्वन्द्वमा फसाउने डिजाइनमा अघि बढेका छन् । त्यसमा सर्वोच्च अदालतले सहयोग गरिरहेको छ । कार्यपालिका र व्यवस्थापिकाले शान्ति प्रक्रियाको स्वामित्व लिएको छ । द्वन्द्वको पीडा र क्षतिलाई राज्यको अग्रसरतामा कम गर्ने भन्ने शान्ति प्रक्रियाको मर्म हो । राज्यका अन्य निकायले पनि कपटपूर्ण तरिकाले लिंगरिङ गरिरहेका त छन् । तर, त्यो भन्दा पनि खतरनाक भनेको न्यायपालिका भएको छ । जसले संविधानमा किटान गरिसकेको शान्ति प्रक्रिया स्वीकार नै गर्न सकेन । त्यसको स्वामित्व लिनै चाहेको छैन । न्यापालिकाको मोर्चाद्वारा जनयुद्ध र माओवादीहरुलाई अपराधीकरण गर्ने ‘प्लान’ अन्तर्गत नै सबै कुरा अघि बढेका छन् ।

कनकमणि दीक्षित पक्राउ पर्दा तपाईं किन खुसी ?

दीक्षित यस्ता व्यक्ति हुन्, जसले अनन्तकालसम्म नेपाललाई युद्धमा धकेल्नका निम्ति जुन प्रपञ्च रचिराखेका थिए । त्यसको पटाक्षेप अरु हुँदै जाला । आफूलाई दुई पैसाको लोभ नभएको, उदार, मानवीय संमवेदनाले भरीभराउ भएको, निस्कलंक, देशकै सबैभन्दा इमान्दार, नेपाललाई राम्रो बनाउन भगवानले काजमा पृथ्वीमा खटाएको र पिपलको बोटमुनि बसेर गाई दान गर्ने प्रवृत्तिको मानिस ठान्ने कनकमणि कुन मुद्धामा जेल परेका छन् आज सबैलाई थाहा भइसक्यो । उनी कति ढोंगी र पाखण्डी रहेछन् भन्ने कुरा पूर्वराष्ट्रपति रामवरण यादवले वीर अस्पतालमा भेट्दाको तस्बीर हेर्दा प्रष्ट हुन्छ । सामाजिक सञ्जालमा भाइरल भएको त्यो तस्बीरमा आईसीयूमा बसेको भनिएका कनक मस्तीले हाँसिरहेका छन् । टेवलमा पुस्तक राखिएको छ । आईसीयुमा सुतेको बिरामीले कसरी किताक पढ्न सक्छ ? दुनियाँलाई उनले कसरी उल्लु बनाइरहेका छन् भन्ने कुराको यो एउटा राम्रो उदाहरण हो । त्यस्ता नौटंकी, ढोंगी र समाज सेवाको आवरणमा मुलुकलाई बर्बादीतिर धकेल्न उद्धत व्यक्ति पक्राउ पर्दा म मात्र होइन, झण्डै तीन करोड नेपाली खेसी छन् । कनकका परिवार र उनको ‘फण्डिङ’ मा चलेका केही मिडियाकर्मीबाहेक सबै खुसीले दंग छन् ।

अब कहिले एरेस्ट दिनुहुन्छ ?

म कहिल्यै पनि एरेस्ट दिन्न । मैले किन एरेस्ट दिने ?

तपाईं देशको सांसद् भइसकेको मान्छे, कानूनी राजलाई यसरी खुलेआम चुनौती दिन मिल्छ ?

म कानूनी राज्यका पक्षमा छु र कानून पालना गरिराखेको छु । कानून र संविधानको सम्मान गरेरै त अदालतको फैसलाको विपक्षमा उभिएको हुँ । किनकी म शान्ति प्रक्रियाको पक्षधर हुँ । मैले शान्ति प्रक्रिया मान्नुपर्छ । अदालतका केही न्यायाधीशले मानेनन् भनेर मैले शान्ति प्रक्रियाको उल्लंघन गर्न त मिलेन नि ?

प्रहरीका उच्चस्तरका अधिकृतहरुसँगै भेटघाट र कुराकानी हुन्छ रे हो ?

काम पर्दा भेट्छु । काम नपर्दा किन भेट्ने ? कुनैबेला काम हुँदा भेटेको थिएँ । अहिले भेट्ने परेको छैन । काम परेका बेला भेट्छ् । मैले किन प्रहरी अधिकृत भेट्न नहुने ?

अदालतले सर्वस्वसहित जन्मकैदको सजाय तोकेको व्यक्तिलाई पक्रेर जेल हाल्नुको साटो उल्टै प्रहरी अधिकृतले गोप्य रुपमा भेट्न मिल्छ ?

मैले भनिसकें त म अपराधी होइन । मैले त कानूनको पालना गरेरै अदालतको फैसलालाई चुनौती दिइरहेको छु । अनि मैले किन प्रहरी भेट्न मिल्दैन ?
सर्वोच्च् अदालतले पछिल्लोपटक बालकृष्णलाई पक्राउ गर्न प्रहरीका नाममा परमादेश दिएको छ, प्रहरीसँग दिनमा कतिपटक जम्काभेट हुन्छ ?
धेरैपटक हुन्छ । गणना गर्ने गरेको भए यतिपटक भन्थें होला । गन्ने गरेको छैन । म काठमाण्डुमै छु । खुलेआम सार्वजनिक यातायातमा हिंड्छु । धेरैले चिन्छन् । प्रहरीले त झन् नचिन्ने कुरा हुँदैन होला । म भूमिगत भएको छैन र हुन्न पनि ।

यो सबै सत्ताको आडमा गरिराख्नु भएको छ होइन ?

सत्ताको आडमा होइन । मेरो मुद्धा चलेको आठ वर्ष भयो । म लढाईंमा जुधिराखेको छु । मलाई जेल पठाउने निर्णय गर्ने खिलराज रेग्मी पनि कुनै दिन यो देशमा प्रधानमन्त्रीको कार्यसम्पादन गर्दै थिए । माधव नेपाल, झलनाथ खनाल र सुशील कोइराला पनि प्रधानमन्त्री भएकै हुन् । बामदेव गौतम, भीम रावल र विजय गच्छदार पनि गृहमन्त्री थिए । मेरो मुद्धाको फैसला माधव नेपाल प्रधानमन्त्री भएका बेला फैसला भएको हो । त्यो बेलादेखि यो बेलासम्म आइपुग्दा आधा दर्जन त सरकार बदलिइसके । त्यतिवटा गृहमन्त्री देशले पाइसक्यो । बालकृष्ण ढुंगेल त्यतिबेला पनि सडकमा खुलेआम हिंडेको हो । अहिले पनि हिंडेको छ र भोलि पनि हिंड्छ । सत्ताको आडमा होइन, म वृहत शान्ति सम्झौताको आडमा हिंडिरहेको छु ।

पार्टी सत्ताबाट हटेको दिनमा तपाईंको बास जेलमा हुन्छ भन्दा फरक पर्ला ?

बालकृष्ण डुंगेल जुल जानुपर्ने हो भने यहाँ धेरै मानिस जेल जानेवाला छन् । टुंडिखेलभन्दा ठूल्ठूला जेल बनाउनुपर्छ । किनकी जो परिवर्तनको पक्षमा थियो, जो राजतन्त्रको अन्त्य र गणतन्त्रको पक्षमा थियो ऊ आतंककारीका नाममा । जो विपक्षमा थिए, ती संकटकालमा पक्षमा र परिर्वतनविरोधी कित्तामा थिए । संसारमा कुन देशको कानूनमा लेखेको छ कि ‘मानिसको टाउको काटेर झोलामा ल्याएर त्यही झोलामा भरी पैसा लाने भन्ने ?’ मान्छेको टाउको काट्न उक्साउनेहरु चाहिं हत्यारा होइनन् ? कानूनले हत्यामा संलग्न मात्र होइन, हत्याका लागि उक्सानेलाई पनि हत्यारा नै ठान्छ । ठीक छ बालकृष्ण ढुंगेल जेल जान तयार छ । तर, त्यतिबेला संकटकाल लगाएर सरकारी बन्दुकले सर्वसाधारण मार्न निर्देशन दिने प्रधानमन्त्री, मन्त्री, त्यतिबेलाका सांसद्, संकटकालका पक्षमा संस्थागत निर्णय गर्ने पार्टीका नेताहरु, सचिवहरु, सेना र प्रहरीका अधिकृतहरु, सिडिओहरु, आदेश कार्यान्वयन गर्नेहरु चाहिं उम्किन्छन् भन्ने ठान्नुभएको छ ? कथंकदाचित म जेल गएँ भने निश्चित छ कि शेरबहादु्र देउवा, माधव नेपाल, केपी ओली, खुमबहादुर खड्का, गोविन्दराज जोशी, पूर्णबहादुर खड्का, ‘झोलामा टाउको ल्याएर झोलामा पैसा लाने’ विशेष आकर्षक प्याकेज घोषणा गर्ने देवेन्द्रराज कँडेल सबैसँग जेलमा भेट हुन सक्छ । म उहाँहरु सबैलाई जेलमा भेट्न चाहन्छु ।

शुभचिन्तक र परिवारका मानिसहरुले ‘नेपालमा जोखिम मोलेर बस्नु भन्दा विदेश जानु राम्रो’ भन्ने सुझाव दिएका छैनन् ?

कोही तपाईंले भनेजस्तो दुई दिन मात्रैका लागि भए पनि जेल गएर बसिदेऊ । त्यसपछि प्रक्रिया मिलाएर छु्ट्नु । अनि राम्रोसँग घुम्नु । किन कहिले जेल पुग्ने हो भन्ने त्रास बोकेर हिंडेको भन्छन् । कोही यत्रो तनाब बोकेर किन बाँचेको होला, आत्महत्या गरे हुन्थ्यो नि भन्ने होलान् । तपाईंले भनेजस्तो विदेशतिर गइदिए हुन्थ्यो भन्ने पनि छन् । किन जाने विदेश ? म गणतन्त्र, संविधानसभा, संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्वका लागि लड्ने ? हामीले गणतन्त्रका लागि जेल बसेर शरीर रोगी बनाइरहँदा ‘नेपालमा गणतन्त्र आउनु र बयल गाढा चढेर अमेरिका पुग्नु उस्तै हो’ भन्ने खड्गप्रसाद ओलीजीलाई गणतन्त्रकै प्रधानमन्त्री उपहार टक्र्याइदिने अनि म चाहिं कि जेल कि विदेश गइदिनुपर्ने ? राजतन्त्र जोगाउने अन्तिम अस्त्रका रुपमा नेपाली जनताका छातीमा गोली बर्साउने भूमिकामा रहेका कमल थापालाई हामीले नै गणतान्त्रिक उपप्रधानमन्त्रीको झण्डा हल्लाएर देश विदेश सयर गर्ने हैसियत दिनुपर्ने अनि म चाहिं विदेश पलायन हुने ?

तपाईंले हो केपी ओलीलाई र कमल थापालाई प्रधनमन्त्री र उपप्रधनमन्त्री बनाएको ?

कसले बनाएको त ? गणतन्त्र हामीले ल्यायौं । संघीयता र धर्मनिरपेक्षता हामीले ल्यायौं । गणतन्त्रका लागि भएको अन्तिम आन्दोलनको विपक्षमा ओलीजी खुलेरै लाग्नुभएको हो । उहाँ नेपालमा गणतन्त्र ल्याउनु भनेको ‘चन्द्रमाको स्याउ पृथ्वीमा ल्याएर खाएजस्तै हो’ भन्नुहुन्थ्यो । यो मेरो आरोप होइन, जगतलाई जानकारी छ । हामीले गणतन्त्रको नारा लगाउँदा कमल थापा राजतन्त्र टिकाउने अन्तिम खेलमा मान्छे मार्दै थिए । आज उहाँहरु शान्तिका पक्षधर, मानव अधिकारका असली हिमायती र गौतम बुद्धका असली सन्तान हुनुभएको छ । हामी गणतन्त्र ल्याउन लडेकाहरु लुकेर हिंड्न्ुपर्ने बेला आएको छ । दौडको प्रतिस्पर्धामा कुदेर अगाडि पुग्नेलाई नभई पलेटी मारेर बस्नेलाई विजेता घोषणा गरेर ‘सिल्ड’ दिँदा जस्तो हुन्छ, मलाई त्यस्तै भएको छ । दौडमा भाग नलिई विजेता भएका सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यू, सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यू, माननीय कमल थापाज्यूलाई कस्तो महसुस भइरहेको होला । किनकी हामीले गणतन्त्रको आन्दोलन चर्काउँदै गर्दा उहाँहरु कतै बसेर ‘जुम्रा मार्दै’ हुनुहुन्थ्यो । आज उहाँहरु त्यो सम्मानित पोष्टमा हुनुहुन्छ । आफूले कुनै लगानी नगरी बरु यो व्यवस्था नल्याउन भएको शक्ति खर्च गर्दा पनि यति ठूलो पद पाउने उहाँहरुजस्ता ‘भाग्यमानी’ लाई थोरै पनि ग्लानी हुन्छ कि हुँदैन होला । मैले त सोध्न मिलेन । त्यो चाहिं तपाईंहरुजस्तै पत्रकार मित्रले हामीजस्ता ‘अभागी’ का तर्फबाट सोधिदिए हुन्थ्यो ।

तपाईं आजका दिनमा पनि एमाओवादीको केन्द्रीय सदस्य होइन ?

हो । म केन्द्रीय सदस्य छु ।

राष्ट्रपति र प्रधानमन्त्री चयनका लागि संसदमा भएको चुनावमा तपाईंका सांसदले भोट दिएका हुन् । बाकृष्ण ढुंगेललाई जेल हाल्नुपर्छ भन्नेलाई किन टाउकोमा बोकेर हिंडेको भनेर नेताहरुलाई सोध्नुभएको छ ?

यो प्रश्न मलाई होइन, अध्यक्ष प्रचण्डसहितका नेतालाई सोध्नुस् । उहाँहरुले पनि यो फिल गरेको हुनुपर्ने हो । अहिलेसम्म फिल नगरेको भए अब गर्नुपर्छ ।
प्रचण्डसँग भेट हुन्छ ?

हुन्छ । आफ्नो नेतासँग भेट नहुने भन्ने त कुरै भएन नि ।

के भन्नुहुन्छ ?

यो शान्ति प्रक्रियाअनुसार अघि बढ्नुपर्ने मुद्धा हो । अन्तरिम संविधानले द्वन्द्व व्यवस्थापनको विधि निश्चित गरेको छ । द्वन्द्वकालिन मुद्धाको छिनोफानो नियमित अदालतले पूरानै कानूनअनुसार गर्ने होइन । सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत गर्नुपर्छ भन्नु हुन्छ । उहाँ पनि यो मुद्धामा
‘सिरिएस्ली’ लाग्नुभएको बुझेको छु ।

प्रचण्डले जेल जानुपर्दैन भन्ने आश्वासन दिएकाले ढुक्क हुनुहुँदोरहेछ होइन ?

प्रचण्डले जेल जानुपर्छ वा पर्दैन भन्ने कुरा होइन । जेल जाने कि, नजाने कि भन्ने विषयमा म आफैं सोच्न सक्ने हैसियतको मानिस हुँ । पार्टीको केन्द्रीय सदस्य छु । कुनैबेला जनताले अत्याधिक मत दिएर जिताएको सभासद् हुँ । यति कुरा आफैं सोचेर निर्णय गर्न सक्छु । मैले प्रचण्डसँग म जेल जाऔं कि नजाऔं भनेर सोध्ने र उहाँले जेल जानु् भन्ने कुरै आउँदैन ।

अहिले त मलाई जेल पठाउने आदेश गरिएको छ, भोलि तपाईंको पनि पालो आउँदैछ भन्नुभएको छ, प्रचण्डलाई ?

यो कुरा त निश्चित छ नि । मैले भन्नै पर्दैन । उहाँलाई राम्रोसँग थाहा छ । थालमा भात खान सुरु गर्दा बीचबाट त कसैले सुरु गर्दैन । छेउबाट एक गाँस, दुई गाँस गर्दै खाने हो । छेउको गाँस निलेपछि बीचको गाँसको पालो त आइहाल्छ नि । खाना बान बसेको मानिसले दाल पनि खान्छु, तरकारी पनि खान्छु भन्दैन । किनकी दाल, भात, तरकारी भनेको खाना हो । मेरो भनाइको अर्थ प्रचण्डकै नेतृत्वमा भएको जनयुद्धको कुनै कार्यकर्ता ज्यान मुद्धामा जेल पर्दा उहाँलाई चाहिं छोड्लान् भन्ने कुरा त हुस्सुले मात्र सोच्ने कुरा हो । क्रमशः उहाँहरुको पनि पालो आउँछ भन्ने कुरा नेताहरुलाई लागेको हुनुपर्ने हो ।

पहिला थिएन, अहिले मज्जाले फिल भएको पाएको छु ।

@ काठमाडौँटुडे |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution