बेलायतका नेपालीसँग संयोजक भट्टराईको अनलाइन अन्तरक्रिया
लण्डन । नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईले बेलायतका नेपालीसँग प्रत्यक्षरुपमा अनलाइन अन्तरक्रिया गर्नुभएको छ ।अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतको आयोजनामा आइतबार साँझ अल्डरसटमा भएको अन्तरक्रियात्मक भेलामा संयोजक भट्टराईले स्काइपबाट अनलाइन अन्तरक्रिया गर्नुभएको हो । अन्तरक्रियाको क्रममा उहाँले प्रवासी नेपालीको प्रवासमा रहेको समस्या र सम्भावना, नेपाली राजनीति र समृद्धिको बारेमा छलफल भएको थियो ।
संयोजक भट्टराईले बेलायतमा रहनुभएको प्रवासी नेपालीहरुको जिज्ञासाहरुको जवाफ दिनुभएको थियो । उहाँले मुलुकलाई समृद्ध बनाउन प्रवासमा रहेका नेपालीहरुले स्वेदशमा श्रम, सीप र पुँजीको लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।
भेलाले भोला खनाललाई संयोजक र प्रकाश शर्मा र सुरोज मास्केलाई सहसंयोजकमा चयन गरेको छ । भेलाबाट संगठन विभाग प्रमुखमा दिपक गैरे, महिला विभागमा सकुन्तला गुरुङ, प्रवक्तामा जगन कार्की, आर्थिक विभागमा कृष्ण गैरे, पुष्प उप्रेती, धन गुरुङ, गणेश अधिकारी, अनुपमा न्यौपाने चयन हुनुभएको छ ।
यसैगरी भेलाले अल्डरसट, फर्नबोरो र क्याम्बर्लीको संयोजकमा हेम गुरुङ, मधेश विभागमा पाण्डव महतो, प्रोफेसनल, इन्टेलेक्चुअल संयोजकमा डा. सुनील शाह, लिड्स संयोजकमा रेशम थापा, स्कटलेण्ड संयोजक विजय डंगोल, वेल्स संयोजक योगेन्द्र गैरे, लिभरपुल संयोजक राजु कर्णेल, सेन्ट्रल लण्डन संयोजकमा प्रकाश शर्मा र साउडइस्ट लण्डनमा क्रान्ति मास्केलाई चयन गरेको छ ।
भेलामा नयाँ शक्तिका केन्द्रीय परिषद सदस्य भोला खनाल, डा. सुनिल शाह, गैरआवासीय नेपाली नेपाली संघ बेलायतका अध्यक्ष मुक्षेत्र गुरुङ, बुद्धिजीवि पुर्ण लक्सम, प्रवासी नेपाली मञ्चका अध्यक्ष कुमार श्रेष्ठ, गोर्खा समाजका अध्यक्ष पुर्ण बहादुर गुरुङलगायतले बेलायतमा नयाँ शक्तिलाई शुभकामना दिनुभएको थियो ।