टुँडिखेलमा भूकम्प पीडितहरूको सहयोगार्थ सोनाक्षी र मलाइकाले नृत्य प्रस्तुत गर्ने
२०७२ वैशाख १२ गते गएको भूकम्पबाट पीडितहरूलाई सहयोग गर्ने उद्देश्यले काठमाडौंमा आयोजना गर्न लागिएको एउटा कार्यक्रममा बलिउडका अभिनेत्रीद्वय सोनाक्षी सिन्हा तथा मलाइका अरोडा सहभागी हुने निश्चित भएको छ ।
आयोजक संस्थाले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएअनुसार ‘अमरपन्छी’ शीर्षकको उक्त कार्यक्रम काठमाडौंको टुँडिखेलमा सम्पन्न हुनेछ जहाँ बलिउडका यी दुई नायिकाले आफ्ना हिन्दी चलचित्रका गीतमा नृत्य प्रस्तुत गर्नेछन् । उक्त कार्यक्रममा सोनाक्षी र मलाइकासँगै नेपाली नायिकाहरू रेखा थापा, प्रियंका कार्की, केकी अधिकारी, निशा अधिकारी, ऋचा शर्मा, सुष्मा कार्कीले पनि नृत्य गर्नेछन् ।
जेठ १ गते आयोजना गरिने उक्त कार्यक्रममा गायिका इन्दिरा जोशीले आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्दैछिन् । यसअघि मोहित चौहानलाई काठमाडौं ल्याइसकेको अल्पेनगलो इभेन्ट्स तथा सैनिक श्रीमती संघले यो कार्यक्रम आयोजना गर्न लागेका हुन् । कार्यक्रममा करिब ६० हजार दर्शक सहभागी हुने अपेक्षा आयोजकहरूको छ |