सुन भरिया बनेबापत कति रकम पाउँछ ?
नेपाल जाँदै हुनुहुन्छ ? सुनैसुनले सजिएर जान मन छ ? छ भने दुबई एयरपोर्ट आउनुहोस्, मौका छ । छैन भने पनि हतपती धर पाउनुहुने छैन । एयरपोर्ट छिर्नेबित्तिकै सुन बोकेर र गहना लगाएर जानैपर्ने अनुरोध गर्दै कुनै व्यक्तिले पछ्याउन सक्नेछ । सजिएर गइदिएबापत राम्रै पैसा पनि मिल्नेछ ।
डराउनु पर्दैन, त्यसबापत कुनै खतरा छैन । कुनै नियम– कानुन उल्लंघन हुने वा पक्राउ पर्ने डर छैन ।
त्यसो भए किन नपहिरिने ? अलिकति सुन बोकेर किन नलगिदिने ? तपाईं यो निचोडमा पुग्नुहुनेछ । अर्को पुग्नेछ । त्यसो गर्दागर्दै यताबाट नेपाल जाने अधिकांश यात्रु ‘सुन भरिया’ बन्छन् । व्यक्ति फकाएर सुन लगी ठूलो मात्रामा राजस्व छल्ने र दुई नम्बरी बजारमा पुर्याउने धन्दा खुब फस्टाएको छ । यसलाई सहज बनाएको हो– नेपाल सरकारको फितलो नियमले ।
विदेशबाट ५० ग्रामसम्म काँचो सुन लिएर जाँदा भन्सार नलाग्ने सरकारी नियम छ । त्यसमाथि गहना बनाएर लगाएका स्वाभाविक देखिने जति सुनबारे नेपाली भन्सारमा कसैले सोधीखोजी गर्दैन । जब कि सुनको मूल्य तलमाथि जति भए पनि प्रति १० ग्रामको ४ हजार २ सय रुपैयाँ भन्सार तय गरिएको छ । त्यही कुनै व्यक्तिलाई बोकाएर पुर्याउँदा ५० ग्रामको २१ हजार रुपैयाँ जोगिन्छ । अनि, किन त्यो मेहनत नगर्ने ?
‘त्यही फाइदा खान व्यक्तिलाई बोकाउने क्रम बढेको हो,’ गैरआवासीय नेपाली संघ यूएईका प्रवक्ता बालकृष्ण मरासिनीले भने, ‘यसले भन्सार छलिनु मात्र होइन, हुन्डीको पैसाले सुन किनेर अवैध बजारसम्म पुगिरहेको छ ।’
त्यस्ता व्यवसायी यता र नेपालमा छ्यासछ्यास्ती छन् । ‘कुनै नेपाली जब विमानस्थलमा पुग्छ, अपरिचित व्यवसायी आएर सुन लगिदिन आग्रह गर्छन्,’ यूएईमा बस्ने सुधन लामिछानेले भने, ‘५० ग्राम काँचो सुन थमाउँछन् । गहना केही नभएको मान्छे रहेछ भने सिक्री, औंठीसमेत लगाइदिन्छन् । जहाज चढ्दा बेहुलोजस्तो बनाउँछन् ।’
सुन बोकाएर पठाएको व्यक्ति र उसको जहाज टिकटको फोटो खिचेर तुरुन्त नेपालमा एजेन्टलाई पठाउँछन् । काठमाडौंमा विमानस्थल आगमन क्षेत्रमा ऊ ढुकिरहेको हुन्छ । जब त्यस्तो व्यक्ति निस्कन्छ, उसले सामान लिन्छ । ‘अलि धेरै सुन लगेको व्यक्तिलाई त खोज्दै एजेन्ट अध्यागमनसम्मै आइपुग्छन्,’ त्रिभुवन विमानस्थलका एक कर्मचारीले टेलिफोनमा भने, ‘अरूलाई भित्र जान रोकिन्छ, यस्ता मान्छे कसरी आइपुग्छन्, थाहा हुँदैन ।’
सामान्यत: बोकेर लगिदिने व्यक्तिलाई प्रतितोला एक हजार रुपैयाँसम्म दिइन्छ । पचास ग्राम लगिदिनेले करिब ५ हजार रुपैयाँ पाउँछ । त्यसो गर्दा पनि १६ हजार रुपैयाँ चोखो बच्छ ।
स्रोतका अनुसार त्यसरी बोकाएर लगिने सुनको ठूलो हिस्सा भारततिर पुग्छ । व्यवसायीहरूका अनुसार केही महिनायता नेपालको भन्दा भारतमा सुन थोरै महँगो छ । तर पनि यसको उतै तस्करी हुनुको कारण भारतीय मुद्राको अभाव हो ।
‘नेपाली एक सय ६० मा भारु सय पाउनुपर्ने हो । तर बजारमा अभाव भएकाले १ सय ७० को हाराहारीमा तिर्नु परिरहेको छ,’ एक व्यवसायीले भने, ‘सुन बेचेर भारु ल्यायो भने एक लाख रुपैयाँको कारोबारमा ६ हजार रुपैयाँभन्दा बढी फाइदा हुन्छ । भारु जुटाउन पनि सुन भारत पुर्याइन्छ ।’
त्यसो त दुबई मात्र होइन, खाडीका अन्य देश, थाइल्यान्ड, कोरियालगायतबाट आउने नेपालीसमेत ‘सुन भरिया’ हुँदै आएका छन् । सबैतिर हुन्डी व्याप्त छ । त्यसको पैसा प्रयोग गर्न पनि सुन किन्ने
गरिएको छ ।
व्यवसायीहरू यसरी सुन ल्याउनु र आउनुलाई गलत मान्दैनन् । ‘सुविधाको सुन हो,’ नेपाल सुन–चाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले काठमाडौंमा भने, ‘त्यसको केही मात्रा बजारमा आइपुग्छ, केही घरायसी प्रयोगमा जान्छ ।’ त्यसरी ल्याइएको सुनले अभावका बेला भरथेग हुने
व्यवसायीहरूको भनाइ छ । ‘नेपाली बजारमा आपूर्ति हुने सुनको एउटा स्रोत यो पनि हो,’ महासंघका सल्लाहकार तेजरत्न शाक्यले भने, ‘यस्तो बजारमा भएको कुल सुनको २० देखि २५ प्रतिशतसम्म हुन सक्छ ।’
भारततर्फ तस्करी हुने घटना उनीहरूको नजरमा पछि छर्लङ्ग छ । ‘ठूलो चुम्बकले सानो चुम्बकलाई तान्नु स्वाभाविक हो । भारतमा अभाव भयो भने नेपालको बैंकिङ च्यानलबाट आएको सुन त एकैछिनमा हराउँछ, व्यक्तिले ल्याएकाको के कुरा गर्नु ?’ मणिरत्नले उदाहरणसहित भने, ‘केही महिनाअघि सुनको माग घट्यो । बैंकमा ३ सय ७९ केजी सुन थन्कियो । के गर्ने भनेर बैंक आत्तिए । केही दिनमा माग्दा त छैन पो भने ।’ सरकारले सुनको आधिकारिक कारोबार गर्न निश्चित बैंकहरूलाई अख्तियारी दिएको छ । तिनले दिनमा १५ केजीसम्म व्यवसायीलाई बेच्छन् । तेजरत्नका अनुसार केहीयता बजारको माग दिनको १० केजीभन्दा कम छ । – अखण्ड भण्डारी, दुबई @कान्तिपुर |