दक्षिण भारतमा चर्चित नेपाली कलाकार ‘उन्नीकुट्टा’ (सिद्धार्थ लामा तामाङ)
केही महिनाअगाडि केरलाको त्रिवेन्द्रममा पुग्दा त्यहाँको जिन्जर होटलमा धेरैले सोधेको प्रश्न हो, यो । ‘हो, चिन्छु । साथीजस्तै हो ।’ फेरि प्रश्न, ‘हो र ?’, ‘साँच्चै ?’, ‘होइन कि ?’ मलायालम सिनेमा ‘योद्धा’ रिलिज भएको सन् १९९२ मा हो । यसबीचमा २४ वर्ष बितिसकेको छ, योद्धा आएको पनि । तर यसको चमक र लोकप्रियता अझै सकिएको छैन । सायद सकिन्न पनि । मोलिउडको कोसेढुंगा सिनेमा हो, यो । यसैले मोहनलाललाई ‘मोहनलाल’ बनाएको हो ।
यसैमा रिम्पोछेको बाल कलाकारको महत्त्वपूर्ण भूमिका निभाएका थिए, सिद्धार्थ लामा तामाङले । उनले निभाएको पात्रकै नाम हो, उन्नीकुट्टा । मलायालम भाषीबीच यो पात्र कति लोकप्रिय छ भने त्यो सिनेमायता धेरै नयाँ जन्मेका बच्चाले यो नाममा पाए । अनि कसैलाई मायाले बोलाउनुपर्यो भने पनि उन्नीकुट्टा भनिन्छ । अनि कसैले पूरै कपाल काट्यो भने पनि स्कुल क्याम्पसतिर उसको नाम हुने गर्छ, उन्नीकुट्टा । वास्तवमै यति लोकप्रिय छ, यो नाम र यससँग जोडिएको पात्र ।
सिद्धार्थ उन्नीकुट्टाको भूमिका निभाउँदा आठ वर्षका मात्र थिए । अहिले ३१ वर्षका भइसके । उनी कलाकार युवराज लामाका छोरा हुन् । लामाले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव सम्हाल्दा सिद्धार्थ पनि त्यतातिर ब्यस्त रहे । यसै क्रममा उनीसँग परिचय भएको हो । उनी केरला र मद्रासतिर यति लोकप्रिय छन् भनेर त्यति बेला थाहा थिएन । न त सिद्धार्थ आपैंmलाई थाहा थियो । वास्तवमै पूरा घटनाक्रम रोमाञ्चक छ । अविश्वसनीय पनि ।
त्यसअगाडि, सिद्धार्थको चर्चा अहिले किन त ? पछिल्लो शुक्रबार सिद्धार्थको अर्को मलायालम सिनेमा ‘इडाभापाडी’ रिलिज भएको छ । अहिले त्यतातिर यसैको खुबै चर्चा छ । दर्शकले पनि यसलाई मन पराइरहेका छन् । सिद्धार्थको मेसेन्जर एक छिन खोल्नुपर्छ, उतातिरबाट आएका ‘मेसेज’ को ओइरो लाग्छ । उनको इनबक्स पनि भरिभराउ छ । ‘इडाभापाडीको प्रमोसनमा उता जान सकिनँ, तर यता बसेर सिनेमाको प्रगतिबारे जानकारी लिइरहेको छु,’ काठमाडौंको दरबारमार्गमा भेटिएका सिद्धार्थले भने ।
‘सबैले सिनेमा राम्रो भनेका छन्,’ उनले थपे । यो सिनेमा पनि तिब्बती भिक्षुको कथा वरिपरि घुम्छ । भनिरहनु पर्दैन, सिद्धार्थ फेरि भिक्षु भएका छन् । सिनेमाकी नायिका हुन्, उथरा उन्नी । उथरा तिनै भिक्षुको प्रेममा पर्छिन् । सिनेमा मनीषा कोइराला पनि छिन्, उथराकी आमाको भूमिकामा । केरलातिर पनि धेरै तिब्बतीहरू रहेछन् र यी दुई समुदायबीच राम्रै दोस्ती पनि चल्ने रहेछ ।
यस्तोमा यिनै दुई समुदायका प्रतिनिधि पात्रबीच माया–प्रीतिको कथामा सिनेमा किन बन्न सक्दैन त ? निर्देशक लेलिन राजेन्द्रनले एक दिन सोचे । यसबारे लामो अनुसन्धान गरे । मलायालम भाषामा एउटा प्रसिद्ध लोककथाजस्तै पनि छ, एक नर्तकी भिक्षुसँग प्रेममा पर्ने । नृत्य भनेपछि भुतुक्कै हुने सुन्दर युवतीको भिक्षुप्रति आसक्ति । यसैलाई प्रसिद्ध कवि कुमारा आसनले साहित्यको रूप पनि दिएका थिए । राजेन्द्रनले यसै वरिपरि कथा बुने, इडाभापाडीका लागि ।
कथा त बुने, तर भिक्षु बन्ने कलाकारचाहिं को नि ? लामो खोजबिन गरे । र, अन्त्यतिर निर्णयमा पुगे, यो पात्रलाई कसैले जीवन्त बनाउन सक्छ भने सिद्धार्थ मात्र हुन सक्छन् । अरू होइन । राजेन्द्रनकै भाषामा सिद्धार्थलाई लिनु एक प्रकारले जोखिम उठाउनु थियो । तर सायद उनी उन्नीकुट्टाको लोकप्रियताको फाइदा लिन चाहन्थे । त्यसैले दुई वर्षअगाडि उनी काठमाडौं निस्केका थिए, सिद्धार्थलाई भेट्न ।
राजेन्द्रले सिद्धार्थलाई आफ्नो सबै योजना सुनाए । सिद्धार्थको पहिलो उत्तर थियो, ‘दुई तीन दिन कुरौं न, अनि म निर्णय दिनेछु ।’ मोलिउडका यी प्रसिद्ध निर्देशक सिद्धार्थको उत्तर सुन्न थप तीन दिन काठमाडौं बसे । सायद आफूलाई विश्वास नगरेको जस्तो लागेर सिद्धार्थलाई उन्नीकुट्टाका निर्देशकसँग कुरा गर्न लगाए । उन्नीकुट्टाका निर्देशक थिए, संगीत सिवान । आखिरमा सिद्धार्थ पग्लिहाले । र, यात्रा सुरु भयो, इडाभापाडी । अहिले इडाभापाडीकै सफलता अरू जति खुसी छन्, स्वाभाविक रूपमा सिद्धार्थ पनि उत्तिकै खुसी छन् ।
सबै प्रसङ्ग यहीं समाप्त हुन्नन् । सिद्धार्थले सानोमै ‘योद्धा’ खेलेका थिए, त्यसैले त्यसपछि के भयो सबै बिर्से । उतातिर सबैको मनमा उन्नीकुट्टाको छवि त जीवन्त थियो, तर त्यसलाई खेल्ने सिद्धार्थ भने हराए । यस्तोमै दुई दशक बित्यो । दक्षिणी भारततिर कुनै एक कलाकार र सिनेमाको प्रशंसक वास्तवमै चर्कै हुने रहेछन् । ‘योद्धा’का एक यस्तै प्रशंसक थिए, केरलाका सन्तोषकुमार काना । अंग्रेजी भाषाका यी शिक्षक योद्धाबारे लगातार अनुसन्धान गरिरहेका थिए । उनलाई थाहा थियो, योद्धामा उन्नीकुट्टा बन्ने बालक नेपाली हुन् र अहिले काठमाडौंमा छन् । त्यसैले इन्डियन स्कुलका यी शिक्षकले आफ्नो सरुवा पनि काठमाडौंमै गराए । उनको योजना थियो, उन्नीकुट्टालाई भेट्ने । त्यति बेला काठमाडौंमै रहेका केरलाका एक पत्रकारको माध्यमबाट उनी सिद्धार्थसम्म पुगे र त्यसपछि सुरु भयो, सिद्धार्थको इडाभापाडी यात्रा पनि ।
कानाले सिद्धार्थलाई भेटेको प्रसङ्ग केरला र मद्रासतिर ठूलै समाचार बन्यो । इडाभापाडीको सुटिङका धेरै अंश हिमाञ्चल प्रदेशको मनालीमा भएको थियो । बाँकी दक्षिण भारततिरै । सिद्धार्थ यसपल्ट उता जाँदा त उनलाई कसैले चिन्नै सकेनन् । आखिरमा सबैको मनमा सानो फुच्चे उन्नीकुट्टा मात्र थियो । वयस्क सिद्धार्थलाई सुरुमा चिन्न सम्भव नै भएन । जति बेला सुटिङका लागि सिद्धार्थले कपाल काटेर भिक्षुको रूप लिए, प्रशंसकले उनलाई चिन्न गाह्रो भएन ।
सिद्धार्थ जताजता जान्थे, उतै हूल झुम्मिन सुरु भयो । हुँदा हुँदा उनी क्याप र मास्क लगाएर हिँड्नुपर्ने स्थिति आयो । एक दिन यस्तै रूपमा उनी कुनै सपिङ मलमा पुगेका थिए, केरलाको प्रसिद्ध केराको सारी किन्न । गर्मी भएर के क्याप र मास्क अञ्जानमै खोलेका थिए, पूरा सपिङ मल उनको पछाडि लागेको थियो । वास्तवमै गजब अनुभव थियो, त्यो । अहिले सिद्धार्थसँग यस्ता धेरै कथा छन् जुन सुनाउँदा उनी आपैंm रोमाञ्चक हुन्छन् ।
सुटिङकै क्रममा सिद्धार्थले मोहनलाल र निर्देशक सिवानलाई पनि भेटे । त्यहाँको प्रसिद्ध पत्रिका मनोरमाले यो संयोग जुराएको थियो र त्यसको भोलिपल्ट उसले ठूलै समाचार पनि बनायो, दुई दशकपछि योद्धाका प्रमुख पात्रको ‘पुनर्मिलन’ भनेर । इडाभापाडीबारे आयोजित पत्रकार सम्मेलन पनि गजब रह्यो । ‘हिन्दु’, ‘इन्डियन एक्सप्रेस’ र ‘टाइम्स अफ इन्डिया’को स्थानीय संस्करणले सिद्धार्थको तस्बिर आफ्नो पहिलो पानामै राखे ।
गत वर्षको भूकम्पका बेला पनि दक्षिण भारतका केही न्युज च्यानल काठमाडौं आएका थिए । त्यति बेला ती च्यानलले बनाएको समाचार यस्तो थियो, ‘आवर उन्नीकुट्टा इज सेफ ।’ काठमाडौंमै पनि केरलाबासीको सानो समूह रहेछ र त्यसले प्रत्येक वर्ष केरला दिवस मनाउने रहेछ । त्यस बेला पनि मुख्य अतिथि हुने गर्छन्, यिनै सिद्धार्थ । र, अहिले इडाभापाडीका कारण सिद्धार्थ चर्चामा छन्, ‘उन्नीकुट्टा इज ब्याक’ का रूपमा ।
‘केही दिनमा म फेरि केरला जाँदै छु । हेरौं, फेरि केही नयाँ नौलो हुने हो कि ?’ सिद्धार्थले आफ्नो अबको कार्यक्रम सुनाए ।@ इकान्तिपुर |