पानी ट्याङकरले महिलालाई किचेपछि जोरपाटीमा फायरिङ, १६ जना प्रहरी घाइते (फोटो सहित)
काठमाडौँ, २३ बैशाख । पानी ट्याङकरले महिलालाई किचेपछि विहीबार अपराह्न राजधानीको जोरपाटी क्षेत्रमा तनाव भएको छ । श्रीमानलाई बोकेर स्कुटर चलाइरहेकी ३७ वर्षीय खनालको घटनास्थलमै मृत्यु भएपछि स्थानीयले उक्त ट्याङकरलाई तोडफोड गरी क्षति पुर्याएका छन् ।
त्यसक्रममा सडक अवरुद्ध गर्दै आक्रोशित स्थानीयले भीडले प्रहरीमाथि ढुङामुडा गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले टियर ग्यास फायर गरेको थियो । उक्त झडपमा १६ जना प्रहरी कर्मचारीसमेत घाइते भएकोले उपचारको लागि संखरापुर अस्पतालमा उपचार भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । प्रदर्शनकारीले हानेको ढुङ्गा लाग्दा बौद्ध सिआरभीको बा.१ झ ७८७५ नम्बरको गाडीका साइडलाइटका शिशाहरु तथा बडिप्रोटेक्ट सिल २ थान फुटेर क्षति भएको छ । ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१४ जोपाटीस्थित दक्षिणढोकामा ना.४ ख १००६ नम्वरको पानी ट्याङकरले बा.३८ प ६०८७ नम्वरको स्कुटरलाई बिहीबार ठक्कर दिँदा स्कुटरमा सवार कागेश्वरी मनहरा नगरपालिका–१० मुलपानी घर भएकी खनालको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा स्कुटर चालक मृतक खनालका श्रीमान ४६ बर्षीय गोपाल खनाल घाइते भएका थिए । उनलाई उपचारका लागि संखरापुर अस्पताल लगिएको छ । @ दैनिकीनेपाल |