जीटुजी मोडल सफल भए इजरायलमा धेरैले रोजगारी पाउने
वैशाख २३, २०७३- सरकारी तवरबाट पहिलो चरणमा नेपाली युवाहरू लगिएको मोडल र छनोट प्रणाली सफल ठहरिए नेपालबाट वाषिर्क हजारभन्दा बढी युवायुवती इजरायल जान सक्ने भएका छन् । सरकारी तवरमा रोजगारीका लागि इजरायल लैजाने प्रक्रियालाई इजराली सरकारले ‘पाइलट प्रोजेक्ट’ का रूपमा लिएको छ ।
यो सफल भएमा धेरै नेपालीलाई इजरायली सरकारले ‘केयर गिभर’ का रूपमा लिनेछ । इजरालयले नेपालीलाई इमानदार, सहनशील, भरपर्दो र लगनशीलको संज्ञा दिँदै प्राथमिकतामा राखेको अधिकारीहरूले बताए ।
गैरसरकारी तवरबाट इजरायल जाँदा धेरै नेपाली ठगिएको उजुरी र गुनासा आएपछि इजरायलले नेपालीलाई केयर गिभरका रूपमा लिन छाडेको थियो । सात वर्षसम्म लगातार बन्द भए पनि गत साउनमा दुईपक्षीय समझदारी गरेर सरकारी स्तरबाट नेपाली जान पाउने भएका हुन् । उक्त समझदारीअनुसार सरकारी तवरबाट इजरायल जान ५९ जना छानिएका छन् । उनीहरूको १४ जनाको पहिलो समूह इजरायल पुगिसकेको छ । बाँकी २ साताभित्र गइसक्ने बताइएएको छ ।
इजरायलका लागि नेपाली राजदूत प्रह्लाद प्रसाईं तेलअभिभबाट र काठमाडौंबाट वैदेशिक रोजगार विभागका तत्कालीन निर्देशक जनकराज रेग्मी ३ साताअघि नै इजरायल गई अध्ययन गरेका थिए । त्यहाँ युवाले गर्ने काम र वातावरण राम्रो रहेको राजदूत प्रसाईंले कान्तिपुरलाई टेलिफोनमा बताए । इजरायलमा कामदारको सुरक्षा र अन्य विषयमा खासै चिन्ता लिनुपर्ने कुनै विषय नभएको पनि उनले बताए ।
रेग्मी कामदारको अवस्था बुझ्ने र त्यहाँको सरकारको चाहना बुझेर त्योअनुरूपको योजना बनाउन त्यसतर्फ गएका थिए । तर उनी फर्केकै दिन सरकारले उनलाई श्रम विभागमा सरुवा गरेको छ । उनले भने, ‘म त्यहाँ गएर सरकारी अधिकारीसँग छलफल गरें । नेपालीको अवस्था बुझेर आएँ, तर आउँदा अर्कै स्थानमा सरुवा भएको रहेछ ।’
राम्रोसँग यो अवसरलाई उपयोग गर्न सके वर्षमा २ हजारभन्दा बढी नेपालीले इजरायलमा काम पाउँछन् । भाषा परीक्षा उत्तीर्ण गरेर स्वास्थ्य परीक्षणमा पनि सफल भएका कामदार इजरायल पठाउन सुरु भएको छ । भाषा परीक्षामा ६० जना पास भएकोमा स्वास्थ्य परीक्षणमा एक जना असफल भए । अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य परीक्षण गरेर उनीहरूलाई इजरायल लगिने गरिएको छ ।
दुईपक्षीय सम्झौतामा ३ सय नेपाली कामदार केयर गिभरका रूपमा लगिने र उनीहरूले छनोट गरिने उल्लेख थियो । त्यसैअनुरूप यो कार्य अघि बढेको हो । इजरायल सरकारसँग भएको समझदारीअनुसार पहिलो चरणमा कामदार लगेपछि दोस्रो चरणका लागि छनोटको नयाँ प्रक्रिया सुरु हुनेछ । त्यसका लागि इजरायली अधिकारीहरू नै नेपाल आउने छन् ।
इजरायललाई दक्षिण कोरियाभन्दा पनि माथिल्लोस्तरको श्रम बजारका रूपमा नेपालीले लिएका छन् । खाडी मुलुक र मलेसियाभन्दा माथि दक्षिण कोरियालाई लिइन्छ भने त्योभन्दा पनि माथिका रूपमा इजरायललाई लिइने गरेको छ । पछिल्लो सात वर्ष न्यून नेपालीमात्र जान सफल भएकाले अहिले नेपालीको संख्या घटेको छ । इजरायलमा कृषि क्षेत्रमा विज्ञता हासिल गर्न र सिक्न पनि नेपाली जाने गरेका छन् ।
सरकारी तहमा सम्झौता हुनुअघि म्यानपावर कम्पनीहरू आफैंले माग ल्याएर केयर गिभरमा महिलालाई पठाउने गरेका थिए । तर, धेरै नेपाली महिला यसैका नाममा ठगिएपछि कामदार लिने प्रक्रिया रोकिएको थियो । तर निकै लामो कूटनीतिक प्रयासपछि द्विदेशीय समझदारी भएर अहिले सरकारीस्तरबाटै कामदार पठाउन थालिएको हो ।
यो प्रक्रिया आरम्भ गर्न निकै मेहनत गर्नुपरेको राजदूत प्रसाईंको धारणा छ । यो सम्झौताअनुसार ८० प्रतिशत महिला यो क्षेत्रमा जाने हुनाले महिलाका लागि यो निकै आकर्षक स्थानका रूपमा रहने उनले स्पष्ट पारे ।
इजरायल जाने नेपालीले कम्तीमा पनि महिनाको १ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेको दूतावास अधिकारीहरू बताउँछन् । केयर गिभरको तालिम लिएका वा नर्सिङ पढेकालाई इजरायल लैजान सकिने समझदारी रहेको छ । इजरायलले विशेषगरी वृद्धवृद्धालाई स्याहार गर्ने कामका लागि घरेलु कामदारका रूपमा केयर गिभर लिने गरेकाले पनि इजरायलमा कामदारको कुनै समस्या देखा परेको छैन । @ इकान्तिपुर |