बुद्ध जन्मस्थल विषयक दिग्भ्रम निस्तेज नै किन ? लुम्बिनी–कपिलवस्तुसम्बन्धी भारतीय रवैया भारतकै विरुद्ध !
रामकुमार श्रेष्ठ
हालै भारतीय पर्यटन, संस्कृति तथा नागरिक उड्यन मन्त्री डा. महेश शर्माले भारतमा निर्माण गरिएको नक्कली कपिलवस्तुभित्र तयार गरिएको अन्तर्राष्ट्रिय संग्रहालयको उद्घाटन गर्ने क्रममा कपिलवस्तु भारतमा पर्छ भन्ने दावी गरेको र नक्कली कपिलवस्तुको प्रचारका लागि ३ अर्ब रुपैयाँ खर्चने समाचारले नेपालभित्र पुनः एउटा तरङ ल्याइदिएको छ । यो कुनै नयाँ नभएको र यस्ता बेमौसमी तरङ्गहरु भारत पक्षबाट बारम्बार आउने गरेका छन । भारतीय कलाकारहरु, निर्देशकहरुले वुद्ध जन्मस्थलका विषयमा बेला बेलामा ल्याउने गरेका यस्ता नियतबसका अनावश्यक झूटा जानकारीका विरुद्ध विशेष गरी सामाजिक सन्जाल नराम्ररी तातिन थालेपछि माफी माग्ने गरिएका छन् । भारतीय राजदूत कोरियामा गएर सगरमाथा समेत भारतमा नै पर्छ भनिने काम मात्रै भएन, नेपाल भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा करिब उन्नाइस महिना अघि नेपालको संविधानसभामा सम्बोधन गर्ने क्रममा ‘विश्वलाई चकित गर्ने बुद्ध जन्मेको देश’ भनी नेपालको लुम्बिनीलाई बुद्धको जन्मथलोको रुपमा स्वीकारिएको सार्वजनिक सम्बोधनपछि भारतीय स्वतन्त्रता दिवसमा समेत नेपाललाई बुद्ध भूमिको रुपमा पुनः परिचय दिए । तर जापान गएर कुरो फेरेका मोदीले राष्ट्र संघको सुरक्षा परिषद्मा आफ्नो उम्मेदवारीको प्रचार प्रसारको क्रममा जर्मन र फ्रान्समा भने बुद्ध भारतमा पैदा भएको भनाइ राखे । आजको इन्टरनेटको जमानामा पनि उदाउँदो शक्तिको रुपमा देखिएको देशको कार्यकारी प्रमुख जस्तो ब्यक्तिले समेत शताब्दियौं अघिको युगको मानसिकता प्रदर्शन गर्नु भएकोमा हामी उहाँ र छिमेकीप्रति चिन्तित छौं । किनकी आजको इन्टरनेटको जमानामा हामी शक्तिका भरमा बल मिच्याइपूर्वक बारम्बार गरिने अनावश्यक यो समस्याको समाधान त गरेरै छाड्छौं, तर दास प्रथाले ग्रसित उहाँहरुको यो र्हास्यास्पद छबी ढाकछोप गरिदिने कसले ?
बुद्ध भूमिमा नै भारतीय लालच र चासो किन ?
चीनको जनसंख्यालाई समावेश नगर्दा विश्वमा झन्डै पचास करोड बुद्धिस्ट छन् भने बुद्धिज्मलाई धर्मभन्दा पनि विज्ञानको रुपमा मान्नेहरु पनि लाखौं छन् । चीनको जनसंख्यालाई समेत समाबेश गर्दा बुद्धिस्टको संख्या एक अरब सहजै कट्ने देखिन्छ । लुम्बिनीको गुरु योजना पुरा गरेर यथोचित बातावरण सिर्जना गर्दा यो संख्याको आधा प्रतिशतलाई वुद्धको जन्मस्थलमा ल्याउने योजना आदर्शवादी सोंच होइन जुन संख्या ब्रिटिश म्युजियममा वार्षिक रुपमा आउने पर्यटकको संख्याभन्दा कम हुन्छ । बिभिन्न किसिमका योगा ध्यानको कार्यक्रम प्रभावकारी ढंगबाट अगाडि बढाउन सकिंयो भने यसले विश्व शान्तिमा पु¥याउने योगदान उल्लेखनीय हुनेछ । त्यो अवस्थामा लुम्बिनीको महत्व मक्का मदिना र रोमकोभन्दा कम हुनेछैन । विश्वव्यापी महत्व स्थापित गर्न सक्ने लुम्बिनीबाट देशले वार्षिक रुपमा करोडौं डलर आम्दानी गर्न सकिने देखिन्छ जुन नेपालको विकासमा कायापलट ल्याउन सहायकसिद्ध हुन सक्छ ।
बुद्धको यही विश्वव्यापी महत्वबाट लालायित भएर नेपालको भू–राजनीतिक कमजोरीको फाइदा उठाउँदै शक्तिका भरमा सम्पूर्ण विश्व मान्यताविपरीत अरबौं खर्च गरेर नक्कली कपिलवस्तु निर्माण कार्यका जुट्यो भारत । लुम्बिनीमा उत्खनन गर्दा भेटिएका कयौं ट्रक पुरातात्विक महत्वका सामग्री पुरातात्विक जाँचका लागि लैजाने क्रममा भारतले आफैंले राखी ती सामग्री नक्कली कपिलवस्तुमा प्रयोग गरेको आशंका गरिएको छ । अप्ठ्यारो पटक्कै नमान्ने भारतीय पक्ष तिनै सामग्रीका आधारमा खोंचे थाप्न सक्छ भन्ने आशंका भविश्यमा गलत नहुन पनि सक्छ । नेपालको राष्ट्रियतासँग खेलबाड गर्ने उसको नियमित नियतको अर्को पाटो त छँदैछ ।
बुद्ध जन्मस्थल विषयक दिग्भ्रम निस्तेज नै किन ?
यदाकदा वुद्धको जन्मस्थल विषयभन्दा वुद्धका सन्देश महत्वपूर्ण होइन र भन्दै सिर्जित विवाद निस्तेज कार्यमा लाग्नेहरुलाई नलाग्न कुटनीतिक सल्लाह दिने गरिन्छ । वुद्ध जन्मस्थल बिषयमा सिर्जित विश्वब्यापी दिग्भ्रम निस्तेज पार्नु मूलतः पाँच कुराले अत्यन्तै आवश्यक छ ।
गत डिसेम्बर ३० मा नेपालमा सातौं लुम्बिनी–कपिलवस्तु दिवस मनाउने क्रममा संयुक्त राज्य अमेरिका, चीन, जापान, श्रीलंका, थाइल्यान्ड, भारत र नेदरल्यान्डका पाठ्यपुस्तकमा भएका गलत जानकारी सच्याउन अभियानका तर्फबाट अमेरिकी राष्ट्रपति बाराक ओबामा, चिनियाँ राष्ट्रपति सी जिनपिङ, भारती प्रधानमन्त्री नरेन्द्र मोदी, जापानी प्रधानमन्त्री सिन्जो अबे, श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेना, थाई प्रधानमन्त्री प्रायुत चान–ओ–चा र नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटलाई सम्बोधन गरी केही प्राविधिक कारणले गर्दा ती देशका पाठ्यपुस्तकमा बुद्धको जन्मस्थल विषयमा भएको गलत जानकारी ती देशको प्रजातन्त्रको सबलिकरणका खातिर सच्याइनु पर्ने आग्रह गरी छुट्टाछुट्टै तयार पारेको अनुसन्धनात्मक प्रतिवेदन अभियानका तर्फबाट विश्व संयोजकको हैसियतमा कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री एवम् बृहत्तर लुम्बिनी क्षेत्र विकास निर्देशक समितिका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डलाई हस्तान्तरण गरेपछि प्रमुख अतिथिले नेपाल सरकारका प्रतिनिधिका परराष्ट्र मन्त्रालयका सह–सचिव डा. दुर्गाबहादुर सुबेदीलाई आवश्यक कार्यार्थ हस्तान्तरण गर्नुभएको थियो । अभियानको प्रतिबेदनलाई आधार मानेर नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले सम्बन्धित देशलाई पत्राचार गर्न गरेको निर्णयलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत ती सात देशमा पत्राचार गरेको छ । प्रजातन्त्रको आधारभूत तत्वमध्ये जनता सुसूचित हुन पाउने अधिकार एउटा प्रमुख भएको तर जानकारी सही हुनुपर्ने भएकाले सो प्रतिवेदनमा ती सात देशको प्रजातन्त्रको सबलिकरणका लागि कोरिया र स्वीडेनमा जस्तै वुद्धको जन्मस्थल विषयमा भएको गलत जानकारी सच्याएर प्रजातन्त्र सबलिकरण गर्न आग्रह गरिएको छ ।
दोस्रो, स्वार्थपूर्ण तवरबाट बुद्ध जन्मस्थलबारे सिर्जित दिग्भ्रमका कारण बुद्ध र बुद्धिज्ममा आस्थावान विश्व पर्यटकलाई झुक्केर वा झुक्याइएर नक्कली लुम्बिनी जाने वा लैजाने कार्यले बर्षेनी हजारौं विश्व पर्यटकको मानवधिकारमा हनन् हुने भएकाले वुद्ध जन्मस्थल नेपालको लुम्बिनी भएको सही जानकारी मार्फत् उनीहरुको मानवधिकारको हनन र उनीहरुको आस्थामा भैरहेको कुठाराघातबाट जोगाउने जस्तो महत्वपूर्ण काम हुनेछ ।
वुद्ध सत्यका पर्यायवाची हुन् । वुद्धको एउटा महत्वपूर्ण सन्देश पनि ‘झुठो नबोल्नू’ भन्ने छ । झुठो बोल्नु विभिन्न किसिमबाट अन्तत्वगत्वा दुःख र समस्याको कारण बन्छ नै । अतः वुद्धप्रति सही अर्थमा आदरभाव जनाउन र वुद्धको सन्देश पालना गर्न पनि उनीप्रति सही अर्थमा आस्थावान भएर नभै उनको नामको विश्वव्यापी महत्वबाट लालायित भएर उनको नामका कारण फाइदा लिन उनको जन्मस्थल विषयमा जुन विश्वब्यापी दिग्भ्रम सिर्जना गरिएको छ यसलाई निस्तेज पार्नु आवश्यक छ ।
र पाँचौं, यो दिग्भ्रमका कारण विभिन्न किसिमबाट नेपालको राष्ट्रियतामा आँच आउने काम हुने भएकाले राष्ट्रियताको प्रतिरक्षाको लागि पनि यो दिग्भ्रम निस्तेज गर्ने कामलाई उच्च प्राथमिकता दिनै पर्छ ।
प्रमाणित गर्ने नभएर सिर्जित दिग्भ्रम निस्तेज पार्ने हाम्रो दायित्वः
अन्तरवार्ता दिने क्रममा ‘वुद्ध नेपालमा जन्मनु भएको प्रमाणित गर्ने काम कहाँ पुग्यो?’ जस्तो प्रश्न यदाकदा आउने गर्छ । वुद्ध नेपालमा जन्मनु भएको प्रमाणित भइसकेको छ । त्यसैले युनेस्कोले लुम्बिनीलाई विश्व सम्पदा सूचीमा पारेको र जापानले वेलायतका डरहाम विश्वविद्यालयका प्रोफेसर रविन कनिङ्हामको नेतृत्वमा युनेस्कोमार्फत् पाँच वर्षे परियोजना शुरु गरेको हो (जसले बुद्धको जन्मस्थल विषयमा अत्यन्तै उत्साहजनक तथ्यहरु फेला पारेको छ र यसलाई अधिकांश अन्तर्राष्ट्रिय पत्रिकाहरुले महत्व दिएका छन भने न्यासनल जियोग्राफीले त यसबारे डकुमेन्ट्री नै बनाउँदैछ) भने प्रो केन्जो टांगे र प्रो क्वाकले लुम्बिनीको गुरु योजना तयार पारेका हुन् वुद्ध जन्मस्थल विकास गर्ने हेतुले र यी दुबै गुरु योजना राष्ट्र संघ आन्तर्गतकै काम हुन् । विश्वस्तरीय ब्यक्ति र संस्था वुद्धकै जन्मस्थल भएकै कारण नेपालको लुम्बिनीप्रति निरन्तर चासो दिँदै यहाँ केही गर्ने चाहना राख्ने गरेका छन् । आगामी वुद्ध जयन्तीको अवसरमा पूर्व निर्धारित अर्को अन्तर्राष्ट्रिय कार्यक्रममा जनाइने सहभागिताका बाबजूद समय निकालेर नेपालको कार्यक्रममा सहभागिता जनाउन राष्ट्र संघका महासचिब बान्की मून प्रयासरत छन् ।
एकातिर विभिन्न देशका पाठ्य पुस्तकमा नै वुद्धको जन्मस्थल विषयमा गलत जानकारी छ भने अर्कोतिर हाम्रो मौनता र कमजोरीको फाइदा उठाएर शक्तिको भरमा वुद्धको विश्वब्यापी महत्वका कारण त्यसबाट लालायितहरुले गलत कुरालाई सही जस्तो देखिने गरी वुद्ध भारतमा जन्मेको भन्ने किसिमले दिग्भ्रमलाई विश्वब्यापी बनाउने काम गरिरहेका छन । यसले नेपालको राष्ट्रियता कमजोर बनाउने र नतमस्तक हुनुपर्ने अवस्था मात्रै सिर्जना भएको छैन, बुद्ध जन्मस्थल जान चाहने वुद्धप्रति आस्थावानहरुलाई कि त झुक्किएर कि त झुक्याइएर वर्षेनी हजारौंको संख्यामा नक्कली लुम्बिनी पुग्ने पु-याइने काम भएको छ ।
अतः मानवधिकार हनन् र वुद्धप्रति आस्थावानहरुको आस्थामा पु¥याइने कुठाराघातको बचावट, प्रजातन्त्रको सबलीकरण, विश्व शान्तिमा योगदान, राष्ट्रियताको प्रतिरक्षा र राष्ट्रिय विकास जस्ता महत्वपूर्ण कार्यका लागि शक्तिका भरमा नाजायज फायदा उठाउन वुद्ध जन्मस्थल विषयमा सिर्जना गरिएको विश्वब्यापी दिग्भ्रम निस्तेज पार्नु अभियानको उद्देश्य हो न कि प्रमाणित भैसकेको वुद्ध जन्मस्थललाई पुनः प्रमाणित गर्नु ।
लुम्बिनीको सन्दर्भमा नेपाली कस्तुरी
हाम्रो भू–राजनीतिक अवस्थाका कारण हाम्रा राजनीतिक पार्टी एवम् नेताहरुको प्रतिपक्षमा बस्दा झिनो स्वरमा भने पनि उठ्ने राष्ट्रियताको आवाज सत्तामा गएपछि ठप्पै हुने परिपाटि छ । जुन कुरो पछिल्लो सरकारको बेला धेरै हदसम्म अपवाद भएको देखिन्छ । वुद्ध जन्मस्थल लुम्बिनीको विकास र प्रवद्र्धनमा विश्वस्तरीय ब्यक्ति र संस्थाको निरन्तर प्रयासका बाबजुद वुद्धकै जन्मभूमिका जिम्मेवार क्षेत्रहरुको भने निरन्तर अनपेक्षित र आश्चर्यजनक निस्कृयता, उदासिनता र हल्कापनका कारण बिंड तात्ने तर ताप्के नतात्ने बन्न पुगेको छ लुम्बिनी विकासको प्रश्न । यसरी अत्यन्तै मीठो वासना आफ्नै नाभीमा बोकेर त्यही बासना अन्यत्रै खोज्दै हिँड्ने कस्तुरी जस्तै भएका छौं हामी नेपाली । आफ्नै देशको विकासमा कायापलट ल्याउन सक्ने सम्भावना बोकेको विश्वव्यापी महत्वको लुम्बिनीको विकास र प्रवद्र्धनको सन्दर्भमा । त्यत्ति मात्रै नभएर लुम्बिनीको सन्दर्भमा केही हुन र कसैले केही गर्न लाग्यो कि त अनावश्यक ब्यवधान र विवाद सिर्जना गर्न कार्यतत्परता दर्शाउनेको पनि कमी देखिँदैन ।
डा. बाबुराम भट्टराईको कार्यकालमा सरकारले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बृहत्तर राष्ट्रिय लुम्बिनी विकास निर्देशक समिति गठन ग¥यो । जसले राष्ट्रसंघका महासचिव बानलाई बृहत्तर राष्ट्रिय लुम्बिनी विकास निर्देशक समितिको अन्तर्राष्ट्रिय समितिको संयोजकको भूमिका निर्बाह गर्न राजी गरायो । त्यसबखत बानले लुम्बिनीको संरक्षण र बृहत्तर विकासका लागि आफ्नो नैतिक तथा राजनीतिक समर्थन हुने जनाएका थिए । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्ट्रेलियाको सिड्नी आएका बेला लुम्बिनीको विकासलाई उच्च प्राथमिकता दिने बान्की मून जस्तो बुद्धिस्ट राष्ट्र संघका महासचिवकै कार्यकालमा लुम्बिनीको विकास कार्यलाई तिब्रताका साथ अगाडि बढाउन वृहत लुम्बिनी विकासको अन्तराष्ट्रिय समितिको संयोजकमा बस्न राजी हुनु भएका मूनको संयोजकत्वमा अन्तराष्ट्रिय समिति गठन कार्यलाई शीघ्रातिशीघ्र अगाडि बढाएर लुम्बिनीको बहुप्रतिक्षित विकासलाई शीघ्रातिशीघ्र सार्थक रुप दिंदै नेपालको विकास र विश्व शान्तिलाई उत्प्रेरित गर्ने कार्यलाई अगाडि बढाइयोस भन्ने आग्रह सहितको अभियानका तर्फबाट डा. भट्टराईमार्फत वृहत लुम्बिनी विकास निर्देशक समितिका संयोजक पुष्पकमल दाहाललाई पत्र पठाइएको कुरालाई पनि यहाँ जोडनु शायदै असान्दर्भिक ठहर्ला । हालै नेपाल भ्रमणको सिलसिलामा सबै ठूला पार्टीका उच्चस्तरीय नेता र उपराष्ट्रपतिसँग अभियानका तर्फबाट भेटघाट गर्ने क्रममा पूर्व प्रधानमनत्री पुष्पकमल दाहालसँगको भेटमा यो कुरालाई पुनः जोड दिने काम भयो । अब पनि यही प्रवृत्तिले निरन्तरता पाउने हो भने विश्वमा हिरालाई किरा ठान्ने नामर्दी नालायक नेपालीको परिचय बन्न सक्ने कुरालाई नकार्न सकिन्न ।
बेइजिंगस्थित अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययनसम्बन्धी चिनियाँ संस्था चाइना इन्स्टिच्युट अफ कन्टेम्पोररी इन्टरनेशनल रिलेशनमा नेपाली मामिलाका जानकार मानिने दक्षिण एसिया मामिला हेर्ने विज्ञ हु सिसेंग बीबीसी नेपाली सेवाले गरेको कुराकानीका सिलसिलामा ब्यक्त गरेका “अबका वर्षहरुमा नेपालले चीन र भारतको बढ्दो अर्थतन्त्रबाट लाभ लिओस् भन्ने चीनले चाहेको छ । नेपालको कम विकासको विषय चीन र भारतका लागि लाजको विषय हो, नेपालको लागि होइन । भारत र चीन दुवै उदाउँदा शक्ति हुन्, तर हाम्रो छिमेकी किन अझै विकासका लागि संघर्ष गरिरहेको छ ? हामीले आशा गरेका छौं, भविष्यमा चीन, भारत र नेपालले सहकार्य गर्नेछन् । यदि उनीहरु (भारत) ले यो विषय (त्रिदेशीय साझेदारी) प्रति रुचि देखाएन भने त्यसको अर्थ अझै पनि केही भारतीयहरु शीतयुद्धकालीन मानसिकतामा रहेको भन्ने हुन्छ । विश्व अहिले आपसमा अन्तर्सम्बन्धित छ । प्रमुख देशहरुले परम्परागत प्रभाव क्षेत्र, ‘बफर’ क्षेत्र वा प्राकृतिक अवरोध भन्ने जस्ता सोच त्याग्नुपर्छ किनकी यी कुरा पुराना भइसके । यदि विश्वमा ठूलो भूमिका निर्वाह गर्न चाहने हो भने छाती पनि ठूलै हुनुपर्छ । भनाइको महत्व आजको विश्व परिवेशमा बहुआयामिक त छ नै लुम्बिनीको सन्दर्भमा पनि उत्तिक्कै सान्दर्भिक र महत्वपूर्ण छ ।
एकासौं शताब्दीको आजको इन्टरनेटको जमानामा नियतवस गलत जानकारी प्रवाहले अन्तर्राष्ट्रिय दृष्टिकोण नकारात्मक बन्ने भएकाले सत्यका पर्यायबाची बुद्धको जन्मस्थल विषयमा साँचो कुरा गरेर बुद्धप्रति साँचो अर्थमा आदर गर्नु नै उपयुक्त देखिन्छ । नेपालले त आखिर ढिलो चाँडो समस्या समाधान गर्ने नै भएकाले शक्ति सम्पन्न राष्ट्रको सूचीमा पर्न अग्रसर भारतले यस किसिमका समस्याका कारण विश्व रंगमन्चमा आफ्नो छवि धमिलिन नदिन समयमा नै अग्रसरता दर्शाउनु नेपालभन्दा भारतकै लागि बढी हितकर हुने देखिन्छ ।
(लुम्बिनी–कपिलवस्तु दिवस अभियान विश्व संयोजक श्रेष्ठ हाल अस्ट्रेलियामा हुनुहुन्छ)