नेपाली सिंगिङ आइडल चौथो हुदै
अर्जुन पाख्रिन तामाङ – काठमाडौं | देशव्यापी एकल खुल्ला गायन प्रतिस्पर्धा (नेपाली सिंगिङ आइडल) आयोजना हुने भएको छ । पिकेएम नेटवर्क नेपाल र बाबुल म्युजिक प्रालिको आयोजनमा चौथो श्रृंखला हुन लागेको हो ।
पिकेएम नेटवर्क नेपालका प्रमुख सञ्चालन अधिकृत रामचन्द्र सुन्दासका अनुसार यस कार्यक्रम यसअघि ‘प्रतिभाको मञ्च’ले तिन चरण गराइसकेको र चौथो चरण पिकेएम नेटवर्क नेपाल र बाबुल म्युजिक प्रालिको संयुक्त आयोजनमा गर्ने भएको छ ।
गायन प्रतिस्पर्धाको अडिसन पोखरा, बुटवल, चितवन, बर्दिवास, विर्तामोड, इटहरी, फिदिम र काठमाडौं गरी ८ स्थानमा लिइने सुन्दासले बताए । उपत्यका बाहिर प्रतियोगिताको अडिसन २१ जेठबाट सुरु हुने र काठमाडौंमा भने असार ५ गते अडिसन लिइने आयोजकले बताएका छन् । प्रतियोगिता सगरमाथा टेलिभिजनबाट प्रसारण गरिने उनले बताए ।
गायन प्रतियोगितामा विजेता हुनेलाई एक लाख रुपैयाँ नगद र एउटा ल्यापटप सहित दुई वटा गीत गाउने अवसर प्रदान गरिने आयोजकले बताएका छन् ।
त्यसैगरी, दोस्रो हुनेलाई पचास हजार रुपैयाँ नगद सहित एक वटा गीत गाउने अवसर र तेस्रो हुनेलाई ३० हजार नगद र १ वटा गीत गाउने अवसर दिइने बताइएको छ । त्यसबाहेक, दुई जनालाई सान्त्वना पुरस्कार स्वरुप जनही १५ हजार नगद र एक एक वटा गीत गाउने अवसर दिइने सुन्दासले बताए ।
प्रतियोगिताको निर्णायकमा गायक आनन्द कार्की, संगीतकारहरू राम सिटौला र पूर्ण परियार, गायिका रजिना रिमाल र गायक अजय अधिकारी लगायत रहने आयोजकले बताएका छन् ।