एमाओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने – गेमप्लान शुरु
काठमाडौं । नेपाली कांग्रेस, मधेसी मोर्चा र भारतले गरेको प्लान अनुसार, सबै काम बुलेट गतिमा भयो भने आउँदो तीन साताभित्र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्नेछन् । देउवाले भारत भ्रमणबाट ल्याएको प्लान हो– प्रचण्डलाई प्रधानमन्त्री बनाउने । प्रधानमन्त्री बन्ने यस्तो गेमप्लान विभिन्न तन्तु तथा शक्तिहरूले प्रचण्डको कानमा पुर्याइसकेका छन् । प्रचण्ड निकटहरूको भनाई छ– प्रचण्डले चिनीजस्तो गुलियो कुरा सुन्न थालेका छन्, एमाओवादी दलका लागि त्यो चिनी नै सावित हुने हो कि नीम सावित हुने हो भन्ने चाहिं भविष्यले नै बताउने छ । केपी ओली सरकारलाई एमाओवादी अध्यक्ष प्रचण्डको साथ बिना गिराउन सम्भव छैन, गिरायो भने पनि उनको साथ बिना नया सरकार बनाउन र टिकाउन सम्भव छैन ।
यही हिसाबकिताब गरेर अब प्रचण्डलाई प्रधानमन्त्री बनाएर भएपनि तत्काल ओली सरकार गिराउने रणनीति, बनाइएको उच्च स्रोतहरूले बताएका छन् । र, प्रचण्डलाई प्रधानमन्त्री बनाउने भविष्यको योजना होइन, तत्काल कार्यान्वयनमा ल्याइने योजना हो । एमाओवादीलाई सरकार त्याग्न लगाउने, कांग्रेस र मधेसी मोर्चाले एमाओवादीलाई समर्थन दिएर नयाा सरकार बनाउने योजना कार्यान्वयन तत्काल थालिने छ । सफल कहिले हुन्छ ? त्यो थाहा पाउन भने अझै केही हप्ता लाग्ने छ ।
यस्तो छ भित्री कारण
ओली सरकारले आउादो २०७३ जेठ १५ मा जनप्रिय बजेट ल्याउँदैछ । संविधान अनुसार, १५ जेठभित्र बजेट आउनै पर्ने हुन्छ । बजेट ल्यायो भने यो सरकार अरु केही महिना चल्नेछ । मुख्य कुरा बजेटले आत्मनिर्भरता र चीनसंगको सम्झौता कार्यान्वयनलाई प्राथमिकता दिनेछ । यो कुरा भारत चाहँदैन । कांग्रेस र मधेसी मोर्चाले ओली सरकार विस्थापित गरेर आफूहरू सत्तासीन हुन चाहनु अस्वाभाविक होइन । मुख्य कुरा बजेट हो, बजेट ल्याउन दिए यो सरकारको दिग्विजय हुनेछ, प्रकारान्तरले ग्रायण्ड डिजाइनकर्ताहरूको हार समेत हुनेछ । आफै प्रधानमन्त्री हुने अवस्थामा बाहेक ओली सरकार गिराउन योगदान नगर्ने संकेत प्रचण्डले बारम्बार दिइसकेका छन् । जानकार स्रोतहरूका अनुसार, विभिन्न शक्ति केन्द्रहरूलाई प्रचण्डले ‘ओलीलाई गिराएर देउवालाई ल्याउँदा मैले के पाउँछु ?’ भनेर सोध्न गरेका छन् । प्रचण्डको प्रश्नको जवाफ मिलेको छ– ओलीलाई गिराउँदा प्रचण्डले प्रधानमन्त्री पद पाउने छन् । एमाओवादी र एमाले नफुटाई सरकार गिराउन सम्भव नहुने देखिएपछि शेरबहादुर पनि हाललाई प्रधानमन्त्री बन्नबाट पछि हटेका हुन् । एमाओवादीको साथ बिना प्रधानमन्त्री बन्न लगभग असम्भव देखिएपछि देउवाले प्रचण्डलाई अगाडि सार्ने गेमप्लान स्वीकार गरेको बुझिन्छ । ओली सरकार गिराउन विभिन्न शक्तिका लागि त्यसै पनि आवश्यक थियो, जनप्रिय बजेट ल्याउन लागेकाले झनै आवश्यक भयो ।
भित्री सर्त यस्तो छ
उच्च स्रोतहरूका अनुसार, कांग्रेस, मधेसी मोर्चा र एमाओवादी बीच ओली सरकार गिराएपछिको लामो रोडम्याप पनि बनाईंदैछ । यो रोडम्याप अनुसार, निश्चित समयसम्म प्रचण्ड प्रधानमन्त्री बन्नेछन्, त्यसपछि शेरबहादुर प्रधानमन्त्री बन्नेछन् । प्रचण्डको नेतृत्वमा स्थानीय निकायको चुनाव गराइने छ । त्यसपछि प्रचण्डले सरकारको नेतृत्व छाड्नेछन् र शेरबहादुरको नेतृत्वमा सरकार बनाइने छ । देउवा नेतृत्वको सरकारले आमचुनाव गराउने छ । त्यस अघि नै प्रचण्ड नेतृत्वको सरकारले मधेसी मोर्चाको माग भारतले चाहे अनुसार पूरा गर्नुपर्नेछ । यसका लागि संविधान संशोधन हुनै पर्छ । संविधान संशोधनका लागि एमाले तयार हुनु पर्छ । एमाले संविधान संशोधन तयार भएन भने मधेसी मोर्चाका माग फेरि पनि पूरा हुने छैनन् ।
स्थानीय चुनावदेखि आमचुनावसम्म गराउने सर्त देखेर प्रचण्ड अक्क न वक्क परेको उनी निकट स्रोतहरूको दावी छ । यस्तो पत्याइनसक्नुको सर्त भारतको समेत सहमतिमा ल्याइएको देखेर प्रचण्ड छक्क परेका हुन् । स्थानीय चुनाव गर्न दिने पक्षमा भारत छैन । यो संविधान र समग्र राजनीतिक कोर्ष भत्काउने गरी भारत अगाडि बढेको देखिन्छ । तर, स्थानीयदेखि आमचुनावसम्मको योजना नयाँ सरकार बनाउनका लागि ल्याइएको छ । त्यसैले प्रचण्डलाई गेमप्लान पत्याउन गाह्रो परेको बुझिन्छ ।
मान्छन् त प्रचण्डले ?
ओली सरकार गिराउने र त्यसपछि दीर्घकालीन योजना सहितको नयाँ सरकार बनाउने गेमप्लान प्रचण्डले मान्छन् कि मान्दैनन् भन्ने मुख्य प्रश्न बनेको छ । प्रधानमन्त्री बन्ने चिनी कानमा परेपछि प्रचण्डको मुखमा केही समयदेखि लगाम लाग्दै आएको छ । आजकाल उनी भारतको विरोध गर्दैनन् र यो सरकारको बारेमा पनि टेढो कुरा गर्छन् । साइकल राष्ट्रवादका प्रवर्तक प्रचण्डले भारतको विश्वास जित्नकै लागि बोलिमा लगाम लगाएको लख उच्च राजनीतिक तहमा काटिंदैछ । देउवा निकट कांग्रेसका एक उच्च नेताको दावी अनुसार प्रचण्डको समेत सल्लाहमा ओली सरकार गिराउने र त्यसपछिको रोडम्याप बनाइएको हो । उनको दावी अनुसार, गेम प्लान अनुसार कार्यान्वयन पक्ष अघि बढेमा बजेट पूर्व ल्याइने नीति तथा कार्यक्रममा असहमति जनाउँदै एमाओवादीले सरकार गिराउने छ । त्यसपछि प्रचण्ड नेतृत्वको सरकारले बजेट ल्याउने छ ।
प्रचण्डले भारतलाई विश्वास गरिसकेका छैनन् र भारतले प्रचण्डलाई विश्वास गरिसकेको पनि छैन भन्ने दावी पनि अर्काथरि नेताहरूको छ । प्रचण्ड निकटकाहरूको भनाइ अनुसार यो गेमप्लान निर्माणमा प्रचण्ड संलग्न थिएनन् । प्लान लागू गर्ने नगर्ने भन्ने पनि प्रचण्डले निर्णय गरिसकेका छैनन् । स्रोत अनुसार, दोस्रो तहका नेताहरूसंग प्रचण्डले यो बारे छलफल गरेका छन् । सरकार गिराउने र बनाउने खेलमा लाग्नुपर्ने भएकाले प्रचण्डले वैद्य नेकपा माओवादीसंगको एकीकरण पर सारेको दावी पनि गरिएको छ । यो गेमप्लान अनुसार चल्न प्रचण्डले माने भने जेठ १५ अघि नै ओली सरकार ढल्ने निश्चित प्राय छ । – विक्ली नेपाल |