आगलागीबाट कसरी बच्ने,नियन्त्रणका उपायहरु
हिउँद याममा आगलागीको सानो असावधानीले गर्दा पुरै गाउँ, टोल र सहरै सखाप हुने गरेको तथ्य हाम्रा सामु घामजस्तै छर्लंग छ । तर पनि सावधानीका उपायहरू नअपनाउनु तपाईं–हामी सबैको कमजोरीको विषयवस्तु रहेको छ । त्यसैले ती कमी–कमजोरीहरूलाई बेलैमा सच्याएर अघि बढ्नु नै कल्याण हुने देखिन्छ । घरभित्रै मकल बालेर आगो ताप्नु, हिटर ताप्नु, ग्याँसबाट हिटर ताप्नाले शरीर तातो त हुन्छ तर तिनको उचित प्रयोग गर्न सकिएन भने भीषण आगलागी भई आफू, परिवार मात्र नभई सिंगो बस्ती नै सखाप हुन सक्छ ।
कहिले बाढीपीडित, कहिले आगलागीका हृदयविदारक घटनाहरूले आमनेपाली नागरिकहरूलाई सचेत र सतर्क रहन घचघच्याइरहेकै हुन्छ । आगलागीबाट बच्न आफू सचेत बनौं र अरूलाई पनि सचेत गराऔं । हिटर, ग्याँस नियमित रूपमा बन्द गरौं । मोबाइल चार्ज गरेर त्यसै नछोडौं, रेडियो, टिभी, फ्रिज, आइरनहरू विनाकाम अन नगरौं, झ्याल, ढोका, भेन्टिलेटर बन्द गरी मकलमा आगो नबालौं, अगेना र चुलोमा बालेको आगो समयमै निभाउने बानी बसालौ, सलाई–लाइटर बच्चाहरूले भेटिने ठाउँमा नराखौं, चुरोटका ठुटाहरू वनजंगलमा नफालौं । अकाल मृत्यु र दुःखद समाचार कहिल्यै नबनौं । आगलागी भइहालेको खण्डमा दमकललाई तुरुन्त खबर गरौं । स्थानीय स्तरमा एकताबद्घ भई आगलागी नियन्त्रण गर्न दतचित्त भई लागौं । एक झिल्को आगोले पूरै बस्ती सखाप भई कैयन घरबारविहीन हुन सक्छन्, त्यसैले तपाईं–हामी सबै सचेत हुनु जरुरी छ । आगलागी भइहालेको खण्डमा पानी, स्याउला, माटो प्रयोग गरेर ग्रामीण स्तरमा नियन्त्रण गर्न सकिने कुरालाई समेत पूर्वजानकारी दिइनु राम्रो हुन्छ । आगलागी नियन्त्रणका लागि स्थानीय बासिन्दा, राजनीतिक दल, विद्यार्थी, कर्मचारी सबै एकजुट हुनुपर्छ । आगोसँग कहिल्यै खेलबाड नगरौ । बच्चाहरूले नभेट्ने ठाउँमा लाइटर, सलाई राख्ने बानी बसालौं । चुरोटको ठुटाहरू निभाएर मात्रै फालौं । अगेना र चुलोको आगो राम्ररी निभाऔं । पिकनिक जाँदा बालेको आगो राम्ररी निभाऔं । यसो गर्न सकेमा आगलागी हुँदैन । यी कुराहरू आपूm जानौ र अरूलाई पनि सिकाऔ ।
-न्हुंछेनारायण श्रेष्ठ
त्रिवि इअसं पुल्चोक