बोक्सीको आरोपमा थिङको हत्या
धुन्चे , वैशाख १९ गते। दक्षिण रसुवाको यार्सा गाविस वडा नं ९, घोर्मु गाउँमा बोक्सीको आरोप लगाउँदै केही व्यक्तिले एक जनाको हत्या गरेको अभियोग लगाइएको छ ।
जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन मार्फत बोक्सीको आरोपमा यार्सा–९ की अन्दाजी ५५ वर्षीया तुलु सार्की थिङको हत्या गरिएको जनाएको हो ।
हत्यामा संलग्न भनिएका यार्सा–९ का २७ वर्षीय मृतकका भतिजा कान्छा सेर्पा, भतिजी बुहारी ४० वर्षीया लवाङ बुटी र भोर्ले–२ का साहिँला भनिने ५० वर्षीय छेनुर्वु तामाङ छन् ।
उनीहरुलाई नियन्त्रणमा लिई कानुनी प्रक्रिया अगाडि बढाइसकिएको जिल्ला प्रहरी नायब उपरीक्षक अवदेश विष्टले जानकारी दिनुभयो । बोक्सीको आरोप लगाउँदै पहिलो चरणमा गत चैत ५ गते अमानवीय व्यवहार गरी गाउँ निकाला गरेपछि केरुङतर्फ गएका तुलुलाई पुनः गाउँमा बोलाई यही वैशाख ४ गते घरको आँगनमा कुटपिट गरी गाउँबाट पश्चिमतर्फ सल्लाघारी जङ्गल बीचमा लगेर खाल्टो खन्दै जिउँदै आगो लगाई पुरेको भेटिएको जनाइएको छ ।
शव उत्खनन गरी परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौँमा पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीलाई कहीँ कतैबाट सूचना प्राप्त नभए पनि गाइँगुइँ हल्लाका आधारमा अनुसन्धान गर्दै जाँदा १५ दिनको अन्तरालमा घटना पत्ता लगाई अपराधी पक्रन सफल भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । रासस