हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

नेपाल नाम र तामाङ जातिबीचको सम्बन्ध – खोजराज गोले तामाङ

khojraj gole tamang

१. नेपालको भौगोलिक तथा जन-आवादीको अवस्थिति :

पृथ्वीनारायण शाहको आधुनिक नेपाल तथा अबको नयाँ नेपाल विश्व मानचित्रको दक्षिण एशियामा पर्दछ । चीन र भारतद्वारा घेरिएको यो देश २६ डिग्री २२” देखि ३० डिग्री २७” उत्तरी अक्षांश र ८० डिग्री ४” देखि ८८ डिग्री १५” पूर्वी देशान्तरसम्म फैलिएको छ । यस्तैगरि पृथ्वीको उत्तरी गोलार्धमा अवस्थित छ । समुद्र सतहको ७० मिटरदेखि ८,८४८ मिटरसम्म अग्लो भू-भाग रहेको नेपाल विश्वमा बुद्धको देशको नामले चिनिएको छ । भौगोलिक रूपमा हिमाल, पहाड र तरार्इ गरी तीन भागमा बाँडिएको देशमा २०५८ सालको जनगणनानुसार विभिन्न १०७ जातजातिको आवादी रहेको छ । हालसम्म सरकारी निकायबाट मान्यता प्राप्त ५९ आदिवासीहरू सूचिकृत भएका देखिन्छन् । अल्पविकसित, बहुल जाति, भाषा, संस्कृति, धर्मको साझा घरको रूपमा रहेको छ । यो देश अहिले हिन्दु एकीकृत निरङ्कुश राज्यसत्ताबाट सङ्घीयताको नाममा जातीय, क्षेत्रीय र भाषिक रूपमा बल्ल-बल्ल स्वायत्तता र मुक्तिको तयारीमा उभिएको छ । दशौं वर्षम्म मारिएका चौधौं हजारको चिहान, कैयौं बेपत्ताहरूको अवस्था अज्ञात रहेको छ । जनआन्दोलका घाइतेहरूका पीडामाथि उभिएर छातीमा हात राखेर नयाँ नेपालको खाका कोर्ने तयारीमा जुटेका छौं ।

२. काठमाडौं दह, मञ्जुश्री र तामाङ बोम्बो-झाँक्री :

पहिले नेपाल खाल्डोमा पानीको दह थियो । सोही दहबीच हालको स्वयम्भू रहेको स्थानमा स्वयम्भूको विराट महाज्योति प्रकट भएको थियो । त्यसपछि ठाउँ-ठाउँबाट मानवबुद्धहरू महाज्योर्तिमय स्वयम्भूको दर्शनार्थ आउने र जाने गरेका वर्णनहरू पाइन्छन् । सोही क्रममा महाचीनबाट मञ्जुश्री बोधिसत्व पनि दर्शनार्थ यहाँ आइपुगेका थिए । उनैले त्यस दहको पानी बाहिर निकालेको कथा पाइन्छन् । एक कथाअनुसार बोधिसत्व मञ्जुश्रीले दहको पानीबीचमा रहेको स्वयम्भूको दर्शन गर्न र यहाँको पानी निकाल्नको निम्ति दहमा जल सयर गरेका थिए । जल सयरका लागि उनलाई एकजना गोले थरी तामाङ बोम्बोले सहयोग गरेका थिए । ती बोम्बोको मन्त्र साधना र शक्ति यति ठूलो थियो कि- उनी नागर्जूनको भित्तोबाट तालमा प्रवेश गरी पौडँदै वा पैदल यात्रा नै गरेर पनि हालको भक्तपुरहुँदै नगरकोट र फूलचोकीसम्म पनि पुग्न सक्थे । कथानुसार मञ्जुश्रीले दहको पानी निकालेर बस्ती बसालेपछि ती बोम्बोको चुरीफुरी बढ्नु पनि स्वाभाविक थियो । बस्ती बसेको केही समयपछि उनका विरोधीहरूले एकदिन भक्तपुरमा समाती ढुङ्गाको खम्बामा बाँधी षडयन्त्रपूर्वक हत्या गरेका थिए । यस्तैगरि अर्को कथा अनुसार ती बोम्बोले दहको पानी निकाल्न मञ्जुश्रीलाई सहयोग गरेकाले कदर स्वरूप भक्तपुरमा तिनको मूर्ति स्थापना गरिएको छ । अझैपनि बैशाख पूणिर्मामा काभ्रेस्थित नमोबुद्धको दर्शनपश्चात् काठमाडौंतिर आउने दर्शनाथीहरूले सोही बोम्बोको मूर्ति रहेको भनिएको प्रशन्न शिल महाविहार, क्वाठण्डौ-देव ननी-ख्वपको दर्शन गर्ने गरेका पाइन्छन् (टेकबहादुर तामाङ, अध्यक्ष बोन कम्यूनिटी स्कूल)। यस विहारको बाहिरी खोपामा रहेको मञ्जुश्री सँगैको दुर्इवटा भैरवको जस्तो देखिने मूर्तिमध्ये एकलाई तामाङ जातिले गोले बोम्बोको रूपमा लिएको हुनुपर्दछ । यहाँ यो कथा जोड्नको कारण के हो भने यस ठाउँ पहिलो बासिन्दा तामाङ नै थियो । त्यसैले यस ठाउँको नामाकरण पनि उनीहरूले नै आफ्नै भाषामा गरेको हुनुपर्दछ भन्ने नै हो ।

३. तामाङ जातिको आवादी सम्बन्धी प्राप्त प्रागऐतिहासिक प्रमाण :

ऐतिहासिक प्रमाणका आधारमा यो निष्कर्षा पुग्न सक्छौं कि- तामाङ जाति नै यस उपत्यकाको पहिलो आदिवासी हो । यस ठाउँको पानी निकाल्न सहयोग गर्ने तामाङ जातिकै बोम्बो थिए भन्ने कथा माथि नै उल्लेख गरिसकिएको छ । रूसी प्रागऐतिहासिक पुरातत्त्वविद् डा. अनातोली याकोब्लेभ शेटेन्को वि.सं. २०३४ सालको हिउँदको अन्त्यमा दुर्इ महिनाको लागि (अर्थात् जनवरी १५ मार्च २४, १९७८ सम्म) नेपालको पुरातात्त्विक अध्ययन भ्रमण गरेका थिए । उनले नेपालको पुरातत्त्व विभागको सहयोगमा अनेक प्राग-ऐतिहासिक पुरातात्त्विक स्थलको अध्ययन गरेका थिए । अध्ययनको क्रममा काठमाडौंस्थित बुढानीलकण्ठको दक्षिण-पूर्वतिरको बानियाँपाखा र पण्डितगाउँको बीचमा रहेको धोवीखोला किनारामा उनले र्इ.पू. ३०,००० (आजभन्दा ३२ हजार) वर्ष पुराना ढुङ्गो हतियारहरू भेट्टाएका थिए । उनका अनुसार मङ्गोलियाको गोवी सभ्यतासित मिल्ने ती हतियारहरू ढुङ्गे युगका पालिस नगरिएको तर चोट दिएर, ताछेर बनाइएका थिए । यसले पनि तामाङ जाति यहाँको पहिलो बासिन्दा हो भन्ने तथ्यको पक्षपोषण गर्दछ । डा. माणिकलाल श्रेष्ठ तथा परशुराम तामाङ लगायतका विश्लेषकहरूले पनि तामाङ नै यस उपत्यकाको पहिलो बासिन्दा भएको बताउँदै आएका छन् ।

४. ‘नेपाल’ नामसम्बन्धी प्राप्त वर्णन : 

यस भूमिको नाम ‘नेपाल’ कसरी रह्यो होला भन्ने सम्बन्धमा तथ्यगत प्रमाणको अभावमा सबैले अनुमानको भरमा “नेपाल” शब्दको अक्षरलाई फुटाउँदै मनोवाञ्छित विश्लेषण मात्र गर्ने गरेका देखिन्छन् । ‘कहिलेदेखि नेपाल शब्द प्रचलित भयो त्यो एकीनसाथ भन्न सकिँदैन तापनि समुद्र गुप्तको प्रयाग प्रशस्तिमा परेको ‘नेपाल’ नेपाल शब्द नै आजसम्म पाइएको सबभन्दा पुरानो नाम हो’ भनि लेभी १९७५ : ११, रेग्मी २०२६ : २ लाई उदृत गर्दै लेखक परशुराम तामाङले आफ्नो पुस्तक “तामाङ जाति”मा उल्लेख गरेका छन् । भाषाबंशावलीमा उल्लेख भएअनुसार- मञ्जुश्रीले नेपाल उपत्यका निवासयोग्य बनाएको केही कालपश्चात् कुनै “ने” मुनीद्वारा पालित यस उपत्यकाको नाम “नेपाल” हुन गयो (बालचन्द्र शर्मा, “नेपालको ऐतिहासिक रूपरेखा” प्रकाशिका : कृष्णकुमारी देवी, २३।११९ दूधविनायक, वाराणसी – १, पृ. ४७) । यहाँ उल्लेखित कुनै “ने” मुनी भनेको को हो भन्ने स्पष्ट हुँदैन । त्यसैले यो मतमा विश्वास गर्न सकिने अवस्था छैन किनकी “ने” मुनी को थिए भन्ने सम्बन्धमा ‘कुनै एक मुनी’ मात्र भनिएको छ । यदि उसैको नामबाट नेपाल नामाकरण भएको भए कुनै एक ‘ने’ मुनी भन्नुको सट्टामा उसको स्पष्ट परिचय दिनुपर्दथ्यो साथै उसैले बाँधिदिएको थिति अनुसार चलेको भन्ने हो भने ती थितिहरू के- के र कस्ता-कस्ता थिए भन्ने सम्बन्धमा पनि उल्लेख हुनुपर्दथ्यो ।

भाषा बंशावलीमा उल्लेख भएअनुसार मञ्जुश्रीले पानी निकालेको भन्ने सम्बन्धमा पनि कतिपयले विवाद उठाएका पाइन्छन् । उनीहरूका अनुसार यहाँको पानी मञ्जुश्रीले नभई श्रीकृष्णले निकालेका थिए तर मञ्जुश्रीले पानी निकाल्दा हुँदा टौदहको निर्माण गरी नागराजलाई रोकेको, पशुपति आर्यघाटमास्तिर पानी जमेकोले पशुपति गौरीघाटनेरको डाँडा काटेको र गोकर्णको डाँडा काटी सोभन्दा माथितिरको पानी निकालेको जस्ता क्रमबद्ध वर्णन र स्पष्टता श्रीकृष्ण वा उनका प्रतिनिधिले निकालेको भनिएकोमा पाइँदैन । स्मरणीय तथ्य यो पनि हो कि- त्यस बखत श्रीकृष्ण यहाँ आएका थिएनन् । श्रीकृष्णले पानी निकालेका थिए भनेर विश्वास गर्नेहरूले यहाँको पानी मञ्जुश्रीले निकालेका हुन् भन्ने कुरा झुठ्ठा भएको दावी गरेका पाइन्छन् । यदि भाषावंशावलीमा उल्लेखित मञ्जीश्रीले पानी निकालेको भन्ने कुरा झुट्ठा मान्ने हो भने भाषाबंशावली नै गलत भन्नुपर्ने हुन्छ अनि भाषावंशावली नै गलत भए “ने” मुनीद्वारा पालित नेपाल भनेर दावी गर्नुपर्ने गलत हुनेछ ।

कतिपयले “मञ्जुश्री” भारतीय नाम भन्ने गरेका पनि पाइन्छन् । स्मरण गरौं इतिहास र धर्मग्रन्थहरू उल्था गर्दाखेरि जुन भाषामा लेखियो सोही भाषामा मानिसको नामसमेत उल्था गर्ने चलन थियो । अझ बुझनु पर्ने कुरा यो पनि छ कि- “मञ्जुश्री” भारतीय नाम त हो तर त्यो भन्दा बढी यो तिब्बती भाषाको “ज्याम्बेयाङ”को उल्था हो । तिब्बतीहरूले “मञ्जुश्री”लाई आफ्नै भाषामा “ज्याम्बेयाङ” नै भनी भन्ने गरेका पाइन्छन् । बरू पछि “मञ्जुश्री” नाम तिब्बतमा पनि प्रचलित हुन असम्भव देखिँदैन । यसप्रकार हामी स्पष्ट हुन्छौं कि यस नागदहको पानी श्रीकृष्णको सट्टा मञ्जुश्रीले नै निकालेका थिए ।

‘नेपाल’ नामकै सन्दर्भमा पाइने अर्को मतानुसार नेवारको “ने” र उनीहरूले बत्ती बाल्न प्रयोग गर्ने पालाको “पाल”लाई संयोजन गरी “नेपाल” नाम बनाइएको हो । त्यसरी नेवारको “ने” र पालाको “पाल”लाई जोडेर “नेपाल” बनाइरहनुपर्ने आवश्यकता देखिँदैन । यस्तैगरी यहाँ नेवारको आवादी हुनुअगावै पहिलो आदिवासी तामाङ जातिको आवादी भइसकेकोले पनि उनीहरूले पहिले नै यस ठाउँको नामाकरण गरिसकेको हुनुपर्दछ ।

यस्तैगरि प्राप्त अर्को कथन अनुसार ‘नेपाल र नेवार शब्दको मूल एउटै ‘न्यार्वा’ शब्द हो । ‘न्यार्वा’ भन्ने जाति नेवार र तामाङको रक्त मिश्रणबाट बनेको हो ।’ अर्थात् नेवार र तामाङको रक्त मिश्रणबाट जन्मिएका मानिसहरू नै ‘न्यार्वा’ हो । तिनै ‘न्यार्वा’बाटै ‘नेवार’ र ‘नेपाल’ भएको हो भन्ने मत तामाङ सम्बन्धी अध्ययन, अनुसन्धान गर्दै आएका लेखक रविन्द्र तामाङले टामास यङ्गर जर्ज ग्रियर्सनलाई उदृत गर्दै प्रस्तुत गरेका देखिन्छन् ।

तिब्बततिर झूकाव राख्नेहरूले भने “नेपाल”को अर्थ तिब्बती भाषामा खोज्ने प्रयास गरेका पाइन्छन् । यस मतका अनुयायी मध्ये वाडेल साहेबले १८९१ र्इ. मा एक लेख प्रकाशित गरेको देखिन्छ । उनका अनुसार- तिब्बती भाषामा वा तिब्बत-बर्मी भाषा कुलका अन्य बोलीहरूमा “ने”को तात्पर्य “घर” वा निवास स्थल एवं “पाल”को तात्पर्य “ऊन” हुन्छ । अतः “पाल” हुने ठाउँमा “ने” हुने मानिस “नेपाल” हुन्छन् अथवा “पाल” को “ने” (ऊनको घर वा मण्डी) पनि “नेपाल” भनिन सक्तछ । यसप्रकार माथिल्लो भनाई अनुसार अघि ऊन हुने देशका निवासीहरूको नाम “नेपाल” भएतापनि पछि निवासीहरूको नामले नै उनीहरूको देश पनि प्रसिद्ध हुनु असम्भव छैन ।

पुरानो लाप्चा भाषामा पनि पूर्वी नेपाल र सिक्किमलाई “ने” सञ्ज्ञा नै दिइएको छ र प्राचीन लाप्चा भाषाका ज्ञाताहरू यस शब्दको अर्थ “मानिस बस्ने कन्दरा वा गुफा” लाउँछन् । भोटका लामा धर्मग्रन्थहरूमा यो “ने” शब्द “न्यस्” (Gnas) लेखने गर्दछन् तापनि यसको उच्चारण “ने” नै गर्छन् । लामाहरू यसलाई “पवित्र स्थल वा गुफा” बुझ्दछन् भनी उल्लेख गरेका देखिन्छ तर यहाँ बाडेल साहेब तथ्यको नजिकै पुगेर पनि पछि परेको भन्न सकिन्छ किनकी उनले ‘नेपाल’ नामको अर्थ तिब्बती लामा र पूर्व लाप्चा भाषामा खोज्न पुगे ।

‘नेपाल’ नामको वास्तविक अर्थ खोज्ने नै हो भने यहीँको बासिन्दा र भूमिपुत्रलाई सोध्नुपर्दथ्यो । स्मरणीय कुरा के पनि हो भने नेपाललाई तिब्बतीहरूले आफ्नै भाषामा “ह्रोङ” र “माङ्हृयुल” भन्ने गर्दथे । “ह्रोङ” र “माङ्ह्युल” भनेर सम्बोधन गरी सकेपछि पुनः यस देशमा “ने” अर्थात् “घर” र “पाल” अर्थात् “ऊन” लाई मिलाएर “नेपाल” भनि व्याख्या र नामाकरण गरिरहनु पर्ने आवश्यकता नै देखिँदैन ।

५. को थिए पहिलो आदिवासी ?

काठमाडौं उपत्यकाको पहिलो आदिबासी कुन हो भन्ने जिज्ञासा उठ्न सक्छ । प्राप्त प्रमाणहरूले तामाङ नै यहाँको पहिलो आदिवासी भएको प्रमाणित गरेको पाइन्छ । पछि नेवार जातिको प्रवेश भएपछि तामाङ जाति विस्तारै यहाँबाट बाहिरिन थालेको देखिन्छ । हालको टिचिङ्ग हस्पिटल महाराजगञ्ज रहेको स्थानमा सो अस्पतालको निर्माण अघिसम्मै तामाङ बस्ती थियो । अस्पताल निर्माणको क्रममा त्यहाँका तामाङ जातिलाई हटाउन सकिने भन्दै अधिग्रहण गरी हटाइएको थियो । अझैपनि काँठ क्षेत्रका साथै बौद्ध क्षेत्रमा तामाङको बस्ती पाइने गरेको छ । आवादीको कुरा गर्ने नै हो भने यहाँको पहिलो आवादी भएको जाति तामाङ नै हो भन्ने सम्बन्धमा थुप्रै अनुसन्धानकर्ताहरूले लेखेका छन् ।

जनकलाल शर्माका अनसुार “…मङ्गोल जातिका मानिस कुनै समय पहिले काठमाण्डू उपत्यकामा आवाद भए र त्यसपछि अन्य बाहिरिया मानिसको आगमन हुन थालेपछि ती मङ्गोलहरू उपत्यकाभन्दा बाहिर रहेको पहाडी भूमितिर लागे । रहँदाबस्ता तिनीहरू पछिल्लो कालमा आएर तामाङ, मुर्मी आदि अनेक नामले सम्बोधित हुँदै गए । जो आज पनि त्यसै उपत्यकालाई चारैतिर घेरेर बसेका पाइन्छन्” (जनकलाल शर्मा ‘हाम्रो समाज : एक अध्ययन’ प्रकाशक : साझा प्रकाशन, तेस्रो संस्करण २०५८ पृ. ३१९) । यस्तैगरी परशुराम तामाङज्यूले वंशीटार्टलाई उल्लेख गर्दै लेखेका छन् कि- प्राचीन इतिहासले यस्तो सङ्केत गर्दछ कि तिनीहरू (तामाङ) नेपाल खाल्डोका प्राचीन बासिन्दा थिए तर पछि केही समय बितेपछि तिनीहरूलाई अन्य केही जातिले पराजित गरायो । जसले तिनीहरूलाई अपमानजनक अवस्थामा आधिपत्य गर्‍यो र तिनीहरूलाई खेतबारी जोतने, भारी बोक्ने, दाउरा घाँस गर्ने आदि कडा श्रम गर्न बाध्य गरायो । व्यवहारमा तिनीहरूको दास बनाए । यस्ताबाट उम्कन तिनीहरू पूर्वी नेपालका टाढा-टाढासम्म घुमे र त्यहीँ बसोबास गरे (१९०९) ।

करनले पनि तामाङ जाति नेपालमा र्सवप्रथम आउने आगन्तुकहरू मध्येका हुन् भन्ने मान्दछन् (१९६० : ६६) । तामाङको के तर्क छ भने तिब्बतको आवादी पाँच हजार वर्षघि मात्र भएको हो । त्यसैले तामाङ जाति तिब्बत आवादी हुनुभन्दा पहिले नै हिमाल पार गरी बसेको हुनुपर्दछ (१९९१ : १४) (परशुराम तामाङ ‘तामाङ जाति’, प्रकाशक : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौं प्रथम संस्करण २०५१ पृ. २४) । यसैगरी तामाङ जातिको आवादीकै सन्दर्भमा अर्का अध्येता कर्क पेटि्रकका अनुसार नेवार जातिले राज्य गर्नु अघि नेपालमा भोटे जातिले राज्य गरेका थिए । नेवारले तिनीहरूलाई काठमाडौं उपत्यकाबाट हटाएका थिए । तिनलाई काठभोटिया (काठमाडौं भोटिया) भनिन्थ्यो । जो आजसम्म पनि संरक्षित छ र हाल कच्छाडको पहाडमा तर मुख्य रूपमा कुतीपट्टीको पर्वतीय भूमिमा आवाद छन् (१८११ : १४८) (ऐ.ऐ. पृ. २९) । एवंरीले परशुराम तामाङ आफैँले पनि उपत्यकामा नेवारभन्दा पहिले तामाङ जातिले राज्य गरे भन्ने आशङ्का गरेका देखिन्छन् (ऐ ऐ. पृ ६) । यिनै आधारहरूले पनि काठमाडौं उपत्यकामा सबैभन्दा पहिले आवाद भएको जाति तामाङ भएको कुरा पुष्टी हुन्छ ।

६. के हुन सक्छ त तथ्य ?

प्राप्त ऐतिहासिक प्रमाणहरूका आधारमा यो भन्न सक्छौं कि- नेपाल उपत्यकाको आदि भूमिपुत्र भनेको तामाङ जातिकै पूर्खा थिए । त्यसैले “नेपाल” नाम तामाङ भाषाबाटै आएको हुनुपर्दछ । तत्कालिक तामाङ समाज बोन धर्म र झाँक्रीवादी प्रचलनद्वारा सञ्चालित थियो । त्यसैले यिनीहरूको समाजमा भूतप्रेत, नाग-नागिनी, देउ-देउता, शिकारी र कुलदेउता आदिमाथिको विश्वास पाइन्छन् । ती शक्तिहरूमा पनि आफैँ उत्पत्ति वा उत्पन्न भएको, बोन वा समाजले स्थापना गरेको, कुल र पितृदेउता आदि हुने गर्दछन् । आफैँ उत्पन्न भएको शक्ति वा देउतालाई ‘नेपा ल’, स्थापना गरिएको देउतालाई ‘तेन्पा ल’ र कुल तथा पितृ देउतालाई ‘तिङ्दो ल’ र ‘फोला ल’ र गाउँको देउतालाई ‘स्हिङ्ला/ह्युल्ला ल’ भन्ने गर्दछन् ।

संस्कृतको ‘स्वयम्भू’ नाम तामाङ भाषाको ‘नेपा ल’को उल्था गरिएको रूप हो भन्ने मेरो ठहर छ । सोही ‘नेपा ल’ (स्वयम्भू) शब्दबाटै ‘नेपाल’ नाम रहेको हुनुपर्दछ किनकी स्वयम्भूलाई ‘नेपा ल’ भनी सम्बोधन गर्दा-गर्दै ‘नेपा ल’ बाट ‘नेपाल’ हुँदै ‘नेपाल’ नाम रहेको गएको देखिन्छ । कालन्तरमा त्यही ‘नेपाल’ नामले हालको ‘स्वयम्भू’लाई मात्र नभई यस काठमाडौं खाल्डोलाई नै चिनाउन थालेपछि तामाङ भाषाको ‘नेपाल’ (स्वयम्भू) भने ‘स्वयम्भू’ नामबाट परिचित हुन गएको देखिन्छ । पृथ्वीनारायण शाहले एकीकरण गरी सकेपछि भने यस देशको नाम पनि ‘नेपाल’ नै रहन गएको तथ्य त सबैलाई थाहा भएकै कुरा हो ।

७. कसरी ?

हालको स्वयम्भू दहको पानीभित्र डुबिरहेकै बेला त्यहाँ महाज्योर्तिमय विराट रूप उत्पन्न भएको देखिन्छ । संस्कृत भाषाको “स्वयम्भू”को अर्थ आफैँ उत्पन्न भएको भन्ने हुन्छ । आफैँ प्रकट भएको महाज्योर्तिमय रूपको भगवानलाई नै “स्वयम्भू” नामले चिनाउन थालिएको पाउँछौं । त्यसरी आफैँ उत्पन्न भएको देउतालाई तत्कालिक बोन (झाँक्री) धर्म मान्ने तामाङ जातिको भाषामा “नेपा ल” (नेपा + ल ) भनिन्थ्यो । उनीहरूको भाषानुसार “नेपा”को अर्थ आफैँ उत्पन्न भएको र “ल” को अर्थ देउता भन्ने हुन्छ । यसप्रकार शुरूमा नेपाल खाल्डोलाई बस्तीयोग्य बनाउने वा आवादी गर्ने यिनै तामाङ जातिकै भाषामा यहाँको नाम ‘नेपाल’ रहन गएको हुनुपर्दछ ।

वास्तवमा हालको स्वयम्भू दहको पानीभित्र डुबिरहेकै बेला त्यहाँ महाज्योर्तिमय विराट रूप उत्पन्न भएको मानिन्छ । त्यसबखत त्यस दहका वरिपरि रहेको तामाङ झाँक्रीहरूले नै त्यस महाज्योतिलाई ‘नेपा ल’ अर्थात् ‘आफैँ उत्पन्न भएको देउता’ भनेको हुनुपर्दछ । बाहिरका मानिसहरूले समेत त्यस ज्योतिको दर्शन गर्न आएका बखत ती तामाङ जातिले आफ्नै भाषामा ‘नेपा ल’ भनेर चिनाएको हुनुपर्दछ किनकी कसैको छोराको नाम अन्तैका मानिसले आएर राखीदिन सम्भव हुँदैन । त्यसैगरि आफू बसेको स्थानको नाम पनि आफैँले नै राखने कुरा हो । यस स्थानको नाम यहीँ आवादी भएका तामाङ जातिले नै राखेका थिए भनेर ठोकुवा गर्न सकिन्छ । तत्कालिक तामाङ बोम्बो भाषामा रहेको ‘नेपा ल’को ठ्याक्कै उल्था नै संस्कृत भाषाको “स्वयम्भू” हो । त्यसैले यस नेपाल खाल्डोलाई बस्तीयोग्य बनाउने वा आवादी गर्ने तिनै तामाङकै पूर्खाले आफ्नै भाषामा यस स्थानको नाम ‘नेपा ल’ भन्ने गरेकोमा पछि सोही ‘नेपा ल’बाट ‘नेपाल’ रहन गएको देखिन्छ ।

खोजराज गोले तामाङ
email : [email protected]
मो.नं. : ९८४१-३७०३५३
साभार : ‘तामाङ एकता’ सामयिक पत्रिका






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution