क्याराभान नायक थिन्लेको बौद्धधर्म विधिअनुसार काठमाडौंमा अन्त्येष्टि
१७ वैशाख, काठमाडौं । विश्व चर्चित फिल्म हिमालय क्याराभानका नायक थिन्ले लेन्डुपको काठमाडौंको टेकुमा बौद्ध परम्परा अनुसार अन्त्येष्टि गरिएको छ । गृहमन्त्री शक्तिबहादुर बस्नेत, बौद्ध गुरु लगायतले थिन्लेलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
थिन्लेको वैशाख १२ गते निधन भएको थियो । थिन्ले डोल्पा सदरमुकाम दुनईबाट आफ्नो गाउँ साल्दाङ हिँडेका थिए । उनी फोक्सुन्डो गाविसको छेक्पामा पुग्दा माथिबाट खच्चडहरु आएका थिए । बाटो अफ्ठ्यारो थियो । घोडामा रहेका थिन्ले छेउँ लागे । तर, खच्चडले धकेलेपछि घोडासँगै उनी भीरबाट लड्न पुगे ।
‘खच्चडहरुको जात नै ठेलमठेल गर्दै हिँड्ने हुन्छ, उनी घोडाबाट झरेर भित्ता पट्टी लाग्न पाएको भए यस्तो दुःखद घटना नहुनसक्थ्यो,’ एमाले डोल्पाका अध्यक्ष दत्तबहादुर रोकायले भने ।
तर, थिन्ले छेउँपट्टी परे । र अन्तिमतिरको खच्चडले धकेलेपछि उनी घोडासहित लड्न पुगे र उनको निधन भयो ।
घटना भएको भोलिपल्ट प्रहरी पुगेर मुचुल्का उठाएको थियो । प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालका अनुसार घटनास्थल सदरमुकामबाट झण्डै एक दिनको पैदल दुरीमा छ ।
पोष्टमार्टम गर्न भन्दै उनको पार्थिव शरीर काठमाडौं ल्याइयो र यतै अन्त्येष्टि गरिएको छ ।
को हुन् थिन्ले ?
थिन्ले लेन्डुपको जन्म विक्रम सम्वत १९९९ सालमा डोल्पाको सालाङ गाविसको धावा भन्ने स्थानमा भएको हो । उनी आमा-बुवाका कान्छो छोरा थिए ।
एमाले डोल्पाका अध्यक्ष रोकायका अनुसार थिन्ले २०२५ मा प्रधानपञ्च समेत बने ।
बहुदल आएपछि २०५४ मा एमालेमा प्रवेश गरे । विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ)मा आवद्ध भएर काम सुरु गरेका उनी हिमालय क्याराभान फिल्ममार्फत चर्चित भए । यो फिल्म ओस्कार अवार्डको मनोनयनमा समेत परेको थियो ।
@अनलाइन खबर |