मयुरको यौन सम्बन्धले गाउँले सुत्न पाएनन्
वैशाख १६ – इंग्ल्याण्डको एक गाउँका बासिन्दा मयुरका कारण समस्यामा परेका छन् । उशा मुर गाउँका बासिन्दाले मयुरका कारण राम्रोसँग सुत्न पनि पाएका छैनन् । मयुर धेरै पाइने त्यहाँ अहिले मयुरका भाले पोथीबिच यौन क्रियाकलाप हुने सिजन छ । यौन सम्बन्ध बनाउने बेला मयुर धेरै कराउने गरेको र त्यो आवाजका कारण आफूहरु राम्रोसँग सुत्न पनि नपाएको स्थानीय बासिन्दाको भनाई छ ।
मयुरले आफूहरुको गाडीमा आक्रमण गर्ने गरेको गाउँलेले बताए । मयुरले चुच्चो तथा पञ्जाले गाडी कोतर्ने गरेका छन् । गएको ६ वर्षदेखि आफूहरुले यस्तो समस्या भोग्दै आएको उशा मुर गाउँका बासिन्दाले बताएका छन् । अब भने आफूहरुको सहने क्षमता नरहेको उनीहरुको भनाई छ ।
गाउँलेले मयुर आतंक विरुद्ध डरहम काउन्टी काउन्सिलमा गुनासो दर्ता गरेका छन् । काउन्सिलले यस विषयमा पर्यावरण सुरक्षा कानुन १९९० अनुसार जाँच गरिरहेको जनाएको छ । मयुरका कारण हुने हल्लाको मानक ध्वनि मापदण्ड अनुसार जाँच भइरहेको पनि काउन्सिलले जनाएको छ ।
दिउँसोमा मयुर कराएको आवाजले त्यती समस्या नभएपनि रातीमा घरको छतमा आएर नै कराउने गर्दा समस्या भएको उशा मुर गाउँका ग्राहम ब्रिजले बताए ।
गाउँमा आउने मयुरको संख्याको बारेमा भने मतभेद छ । केहीले ३० भन्दा धेरै मयुर गाउँ आउने गरेको बताएका छन् भने केहीले मयुरको संख्या १३ रहेको बताए । मयुर कहाँबाट आएका हुन् भन्ने बारेमा पनि गाउँले यकिन छैनन् ।
– एजेन्सी