नेपाली किसानलाई आधुनिक कृषि प्रविधिको इजरायली सीप
नेपालका युवालाई सिकाएर इजरायलले ठूलो गुन लगाएको छ । उक्त मुलुकले आजसम्म २० देखि ३० वर्षका दस जोड दुई उत्तीर्ण गरेका तथा साना किसान कृषि सहकारी संस्थाको सदस्य रहेका ११ सयभन्दा बढी नेपाली युवालाई यस्तो सीप सिकाइसकेको छ ।
साना किसान विकास बैंक, नेपाल कृषि सहकारी केन्द्रीय संघ तथा साना किसान सहकारी संस्थासँगको सहकार्यमा इजरायी दूताबासले चाँडै नै थप ४ सय युवालाई कृषि तालिम दिने तयारी गरेको छ । नेपालमा छनोट भई इजरायल गएका युवाले १० महिना त्यहाँका ५ वटा कलेजमा अध्ययन गर्छन् र उक्त सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्छन् । इजरायल सरकारको सहयोगमा झन्डै ३ वर्षअघि सुरु भएको ‘सिकाइ र कमाइ’ कार्यक्रमअन्तर्गत थप ४ सय युवालाई तालिम दिन आगामी साता छनोट प्रक्रिया सुरु हुने बताइएको छ । यसरी छनोट हुने युवाले अध्ययन अवधिमा ८ लाख रुपैयाँसम्म कमाउन सक्ने देखिएको छ ।
इजरायली कृषि प्रविधि संसारमै प्रसिद्ध छ । त्यस मुलुकमा जम्माजम्मी २० प्रतिशत जमिन कृषिका निम्ति उपयुक्त छ । आधाभन्दा बढी भूभाग मरुभूमि छ भने कृषिका लागि पानीको अभाव छ । तर पनि त्यो देश कृषिउपजको प्रमुख निर्याकर्ता बन्न सफल छ । त्यहाँ खपत हुने ९५ प्रतिशत खाद्यान्न तथा अन्य कृषिजन्य वस्तु इजरायल आफै उत्पादन गर्छ । उक्त मुलुकले कृषिमा सामुदायिक प्रणाली अपनाउनुका साथै आधुनिक प्रविधिको प्रयोग गर्नाले नै सफलता पाएको हो । नेपालमा कृषिको प्रचुर सम्भावना भएर पनि अपेक्षाकृत लाभ लिन सकिएको छैन । करिब ७० प्रतिशत जनता कृषिमा आश्रित छन् । तर, त्यो निर्वाहमुखीमात्र बन्न सकेको छ । किसानले बेलामा सिँचाइ, मलखाद पाउँदैनन् भने तिनले पाउने ऋण पनि असहज र चर्को ब्याज तिर्नुपर्छ । यही कारण पनि नेपालमा कृषिको व्यावसायीकरण तथा औद्योगिकीकरण हुन सकेको छैन । निर्वाहमुखीमै सीमित हुनाले ठूलो जनसंख्या यसमा लाग्दालाग्दै पनि कृषिको कुल गार्हस्थ्य उत्पादनमा करिब ३२ प्रतिशतमात्रै योगदान रहेको छ । नेपालको कृषिमा न त सरकारले सिकाइको व्यवस्था गर्न सक्यो न त यसमा लाग्नेले कमाइ नै गर्न सके । यसकारण पनि युवापुस्ता कृषिप्रति विकर्षित हुँदै गएका छन् । वैदेशिक रोजगारी तिनको रोजाइमा पर्न थालेको छ । विदेश गएर कृषिक्षेत्रमा काम गर्ने नेपाली युवा पनि स्वदेशमा भने त्यस्तो काम गर्ने रूचि देखाउँदैनन् । यस्तो हुनुको पछाडि यो पेशाबारे कमजोर सामाजिक मान्यता पनि जिम्मेवार छ । विदेशमा गएर यही काम गरेर पैसा कमाउँदा हामी त्यसलाई राम्रो मान्छौँ, तर स्वदेशमा कृषिकर्म गर्नेलाई सम्मान गर्न जान्दैनौँ । सरकारी उपेक्षा र कानुनी रणनीतिको त जति निन्दा गरे पनि पुग्दैन । नेपालको कृषि नीतिको विरोध पञ्चायतकालदेखि नै हुँदै आएको हो । तत्कालीन सरकारले मलिलो माटो भएको बालाजुलाई औद्योगिक क्षेत्र तथा खुमलटारलाई कृषि क्षेत्र घोषणा गरेकोमा चौतर्फी आलोचना भएको थियो । यस्ता उदाहरण अन्य क्षेत्रका पनि छन् । कृषि प्रधान देशको उपमा दिइएको नेपालमा उब्जनी क्रमशः घट्दो छ, खाद्यान्नलगायत अन्य कृषिउपज पनि आयात गर्नुपर्ने बाध्यता छ । उब्जाउभूमिको खण्डिकरण बढ्दो छ भने गैरकिसानका स्वामित्वमा जमिन अधिक छ ।
उता, कृषिका निम्ति प्रतिकूल अवस्था हुँदाहुँदै पनि इजरायल भने कृषिउपज निकासीमा अग्रणी देश बन्न सफल छ । यता हामी कृषि पेशालाई हेयका दृष्टिले हेरिरहेका छौँ ! यसबाट के स्पष्ट हुन्छ भने, कृषिलाई औद्योगिक रूप दिन सक्दा र यसलाई व्यावसायिक बनाउन सक्दा यो युवाको आकर्षणको पेशा बन्न जान्छ । अहिले नेपालप्रति शुभेच्छा राख्ने त्यस देशले हाम्रा युवालाई जसरी तालिम दिइरहेको छ त्यसले निकट भविष्यमा सकारात्मक परिणाम दिनेछ । हाल ३४ जिल्लाका युवाले उक्त मौका पाइरहेका छन्, अब त्यसको दायरा फराकिलो पार्नुपर्छ । इजरायल गएर अध्ययन तथा व्यावहारिक ज्ञान हासिल गर्ने मौका पाएका युवाले स्वदेशमा त्यसलाई उपयोग गर्दै अन्य युवालाई पनि सिकाउन सक्दा यसले नेपालको समग्र कृषि प्रणालीमा सुधार आउनेछ । यसबाट ‘पेशा’ बन्न नसकेको नेपालको कृषिकर्ममा क्रमशः परिवर्तन आउने अपेक्षा गर्न सकिन्छ । @ नागरिक दैनिकको सम्पादकीय लेख |