सरकारले सामाजिक फाँसीवादको पूर्वाधार तयार गरिरहेको छ : संयोजक भट्टराई
काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले ओली गठबन्धनले मधेसमा सामाजिक फाँसीवादको पूर्वाधार तयार गरिरहेको बताउनुभएको छ । मंगलबार नयाँ शक्ति नेपालको केन्द्रीय कार्यालयमा भएको मधेसका बौद्धिक समुदाय र सञ्चारकर्मीसँगको छलफलका क्रममा उहाँले उक्त कुरा बताउनुभएको हो । ‘जर्मनमा हिटलरले पनि अन्धराष्ट्रवाद फैलाएर आम नरसंहार निम्त्याएका थिए,’ उहाँले भन्नुभयो – ‘नेपालमा पनि २०५२ साल अघिका नेताहरुको पुनस्र्थापनासँगै सामाजिक फाँसीवादको आधार बनिरहेको छ ।’
लामो समयसम्म जनतामा अन्धराष्ट्रवाद फैलावट भएमा मुलुक दुर्घटनामा फस्ने भन्दै उहाँले यसलाई सबैको प्रयत्नमा रोक्नुपर्नेमा जोड दिनुभयो । एक हप्ते मधेस आन्दोलनको अनुभूति बाँड्दै उहाँले मधेस समस्याको समाधान नभएमा त्यहाँ कुनै पनि बेला विष्फोट हुनसक्नेबारे सबै सचेत रहनुपर्ने बताउनुभयो ।
‘काठमाडौंलाई बुझ्नेबारे हुलाकी राजमार्गले जोडेको मधेस र महेन्द्र राजमार्गले जोडेको मधेसको फरक धारणा छ,’ उहाँले भन्नुभयो – ‘खास मधेस भनेको तल्लो मधेस हो, जहाँ उत्पीडनको तह अत्यधिक छ ।’
घुमीफिरी महेन्द्रपथ
संयोजक डा. भट्टराईले मुलुकमा पुन: २०५२ सालअघिका नेताहरुको पुनरोदय भएको उल्लेख गर्दै भन्नुभयो – ‘उही पुराना पात्रहरुको पुनरोदय भएको छ, कमल थापा, केपी ओली र शेरबहादुर देउवाहरु राजनीतिमा हावी भएका छन्’, उहाँले भन्नुभयो – ‘मात्र अहिले नयाँ अनुहारको रुपमा प्रचण्ड त्यहीँ मिसिन गएका छन् ।’
उहाँले पहिला महेन्द्रले जस्तै ओली गठबन्धनले पनि जनताको भावना भड्काएर सत्ता टिकाउने खेल खेलिरहेको बताउनुभयो । ‘सत्तासीनहरुले एकप्रकारको राष्ट्रघात गरिरहेका छन्,’ उहाँले भन्नुभयो – ‘तर विज्ञानको नियमअनुसार उत्पीडनमा परेका जनताको भावना भड्कियो भने विष्फोट हुनसक्छ ।’ उहाँले सरकारसँग यो समस्या हल गर्ने कुनै योजना नरहेको बताउनुभयो । उहाँले मधेसवादी नेताहरुको कमजोरी र सत्तास्वार्थका कारण मधेसको आन्दोलन तत्काल शीथिल भएपनि यो रोग भएकोले पुन: बल्झन सक्नेमा जोड दिनुभयो । ‘यसको समयमै उपचार गर्नुपर्छ, नत्र रोग फैलनसक्छ र विकराल रुप लिन सक्छ,’ उहाँले विश्लेषण गर्नुभयो ।
सीमा रक्षकमाथि आशंका
सुगौली सन्धीले सीमा कोर्दा पनि नेपालीहरु नेपालतिर आएर बसेको भन्दै सदियौंदेखि सीमा रक्षक भएर बसेका मधेसीमाथि शासकहरुले शंकाको दृष्टिले हेर्नु दु:खद अवस्था भएको उहाँले बताउनुभयो । ‘त्यहाँ केही महिलाहरुले अनुभूति नै राख्नुभयो, सीमामा कसरी नेपाली बनेर संघर्ष गरिरहेका छौं भनेर,’ उहाँले भन्नुभयो – ‘उनीहरुमाथि राज्यले शंका गरेको छ, विभेद गरेको छ तर पनि उनीहरु नेपाली हुनुमा गर्व गरिरहेका छन् ।’
विकल्प के ?
‘कांग्रेस र एमाले विकल्प हुनै सक्दैनन्, उनीहरु पुराना शक्ति हुन्,’ उहाँले भन्नुभयो – ‘एमाओवादी त्यहीँ मिसिन गइसक्यो, उनीहरु जोडिनसक्ने अवस्थामा पनि छैनन् ।’ अबको विकल्प थारु–मधेसी, आर्यखस र आदिवासी–जनजाति गरी तीन क्लस्टरलाई जोड्न सक्ने नयाँ वैकल्पिक शक्ति नै रहेकोमा उहाँले जोड दिनुभयो । उहाँले लोकतान्त्रिक जगमा प्रगतिशील एजेन्डा बोकेको वैकल्पिक शक्तिको उदय अवश्यम्भावी रहेको बताउनुभयो । ‘यी तीनै क्लस्टरलाई भावनात्मकरुपमा एकीकरण गरेर मात्र समृद्धितर्फ अघि बढ्न सकिन्छ,’ उहाँको तर्क थियो ।
छलफलमा सहभागी भएका राजनीतिक विश्लेषक तुलानारायण साहले मधेसलाई महेन्द्र राजमार्ग आसपासको मधेस, सीमा क्षेत्रको मधेस र मध्य मधेसको रुपमा बुझ्नुपर्ने बताउनुभयो । ‘आदिवासी जनजातिहरुको आर्यखसकै रुपमा सामाजिकीकरण भइसकेको छ’, शाहले भन्नुभयो – ‘तीनवटै क्लस्टरकाबीचमा एकता आवश्यक भए पनि अहिले नै स्थिति परिपक्व भइसकेको छैन ।’ साहले नेपाली कांग्रेस, एमाले र एमाओवादीजस्ता दलले मधेस आन्दोलनको बारेमा आफ्नो धारणा स्पष्ट नपारेसम्म मधेसमा केही नहुने अवस्था रहेको तर्क गर्नुभयो ।
अधिवक्ता दीपेन्द्र झाले अन्धराष्ट्रवादको हावाले सबैलाई गाँजेकोले समस्या समाधानको प्रस्थान विन्दू भेट्टाउन गाह्रो रहेको अनुभव सुनाउनुभयो । पहाडका जनताले मधेसीलाई भारतीय ठान्ने र मधेसका जनताले पहाडीले ठग्यो भन्ने बुझाई झाँगिदै जानु मुलुकको लागि दु:खद अवस्था भएको बताउनुभयो ।
छलफलमा सहभागी गणेश मण्डलले मधेसमा रहेका १ करोड ३१ लाख जनसंख्यामा ४४ लाख पहाडका रहेको भन्दै त्यहाँको जनसंख्याका विशिष्ट अवस्थालाई ध्यान दिनुपर्ने धारणा राख्नुभयो । ‘मधेसमा १७ लाख थारु छन्, १५.५ लाख बाहुन–खस छन्, यहाँको विशिष्टता बुझ्न आवश्यक छ,’ मण्डलले जोड दिनुभयो । मधेसमा स्वीकार्यताको अवस्था उच्च रहेको भन्दै उहाँले भन्नुभयो, ‘हामी २ सय ५० वर्षदेखि नेपाली बन्न खोजिरहेका छौं तर सबैले स्वीकारेका छैनन्, तर बाबुराम एक हप्तामै मधेसी जस्तै बने, सबैले स्वागत गरे ।’
यसैगरी वरिष्ठ अधिवक्ता सुरेन्द्र महतले पहाडका प्रधानमन्त्रीदेखि सामान्य जनतासम्मको मधेसप्रतिको बुझाई एउटै रहेको टिप्पणी गर्नुभयो । उहाँले मुलुकमा नश्लवादलाई राष्ट्रवादमा रुपान्तरण गरेर शासन गरिएको बताउनुभयो । मधेस र जनजातिलाई धोका नदिने आर्य खसले नै समग्र आन्दोलनको नेतृत्व गरे आन्दोलन सफलतामा पुग्ने उहाँको तर्क थियो । उहाँले जनजाति आन्दोलन एनजिओकरण भएको र त्यहाँ जुझारुपन बाँकी नरहेको बताउनुभयो । पूर्वराजदूत विजयकान्त कर्णले वर्तमान संविधानको लामो आयू नरहेको बताउनुभयो । ‘संविधान त पञ्चायतकालमा पनि आर्मी प्रहरी लगाएर लागू गरिएको थियो,’ उहाँले भन्नुभयो – ‘तर त्यसको आयू लामो हुँदैन ।’ उहाँले अहिले मधेसी जनतामा पनि डर नभएको र सरकार पनि नडराएको अवस्थामा रहेको भन्दै अब पनि आन्दोलन भए त्यो हिंसात्मक हुने टिप्पणी गर्नुभयो ।
नयाँ शक्ति नेपालको केन्द्रीय कार्यालय बबरमहलमा आयोजित छलफलमा नयाँ शक्तिका नेता रामकुमार साह, पासाङ शेर्पा, खिमलाल देवकोटा, प्राज्ञ रमेशरञ्जन झालगायत सञ्चारकर्मीहरुको पनि उपस्थिति रहेको थियो ।