पाँचखालमा कृषि क्याम्पस स्थापना गर्ने प्रयास असफल
काभ्रे, १५ वैशाख : काभ्रेको पाँचखालमा कृषि क्याम्पस स्थापना गर्ने प्रयास असफल भएको छ । क्याम्पस स्थापनाका लागि बजेट विनियोजन गरिए पनि क्याम्पस स्थापना नै नहुने भएको हो । जिल्ला विकास समितिको कार्यालय काभ्रेले २३ औँ जिल्ला परिषद्बाट पाँचखालमा कृषि क्याम्पस स्थापना गर्नका लागि चालु आर्थिक वर्ष २०७२/७३ का लागि ३० लाख रुपैँया बजेट विनियोजन गरेको थियो ।
तर, क्याम्पस स्थापना गर्नका लागि आवश्यक जग्गा उपलब्ध हुन नसक्दा क्याम्पस स्थापना गर्नका लागि छुट्याइएको बजेट समेत फिर्ता हुने भएको छ । जिविसले चालु आर्थिक वर्षका लागि कृषि, पशु, सहकारीतर्फको कार्यक्रममा कृषि क्याम्पस स्थापना गर्ने मुख्य योजना अघि सारेको थियो । चालु आर्थिक वर्षको साढे नौ महिना वितिसक्दा समेत क्याम्पस स्थापना गर्नका लागि छुट्याएको बजेट समेत सम्झौता हुन सकेको छैन । काभ्रेका स्थानीय विकास अधिकारी टेकराज निरौलाले जिविसले क्याम्पस स्थापना गर्नका लागि पाँचखाल नगरपालिकालाई जग्गा खोज्ने जिम्मेवारी दिएको बताए ।
उनले क्याम्पस स्थापनाका लागि छुट्याइएको बजेटले के काम गर्ने, त्यति रकमले भवन समेत बन्ने अवस्था नभएको कारण क्याम्पस स्थापना नहुने पक्का भएको बताए । उनले क्याम्पस स्थापना गर्नका लागि जिविसले समेत कुनै पहल नगरेको स्विकार गरे । काभ्रेका तत्कालिन स्थानीय विकास अधिकारी चिरञ्जिवी तिम्सिनाले जिविस काभ्रेको ५१ प्रतिशत शेयर रहने गरि समुदायिक क्याम्पस स्थापना गरि पाँचखाल नगरपालिकाको ‘कृषि शहर, पाँचखाल नगर’ भन्ने नारालाई सार्थक बनाउनका लागि पनि कृषि क्याम्पस स्थापना गर्ने योजना अघि सारिएको बताए । पाँचखाल नगरपालिकाका कार्यकारी अधिकृत बासुदेव भेटवालले क्याम्पस स्थापनाका लागि नगरपालिकासँग जग्गा नभएका कारण काम अघि बढ्न नसकेको बताए । उनले क्याम्पसका लागि आवश्यक जग्गा उपलब्ध गराउनका लागि पूर्व गृहसचिव जनार्दन नेपालको संयोजकत्वमा एउटा समिति गठन गरेर पिपुल्स क्याम्पसका लागि दिइएको जग्गा फिर्ता ल्याउने प्रयास गर्ने भनिएपनि सफल हुन नसकेको जानकारी दिएका छन् ।