हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

थिन्ले काकाको जीवन सार्थक भयो

timthumb

अमृत गुरुङ

काठमाडौं : जयनेपाल हलमा एरिक भ्यालीको प्रसिद्ध ‘क्याराभान’ सिनेमा हेर्दैगर्दा मैले पहिलोपटक उनलाई पर्दामार्फत् देखेको थिएँ। थुप्रै हिमाली भेगतिर पुगिसकेको भए पनि म त्यतिन्जेल डोल्पा पुगेको थिइँन। त्यो ठाउँ पुग्ने इच्छा थियो र त्यसैको जिज्ञासामा मैले भेटेसम्मका तस्बिर, भिडियो क्लिप र लेखहरु जम्मा पारेको थिएँ।

सिनेमाका मुख्य पात्र थिन्लेको रंगरूप, चालढाल र पहिरनले एउटा स्वादको झल्को दिन्थ्यो। पर्दामा देखिएको त्यो व्यक्तित्वबाट म आकर्षित थिएँ।

त्यसको केहि समयपछि कर्णालीको भावभूमिमै आधारित डोल्पामै संकलित एउटा गीतको चर्चा मसम्म आइपुग्यो। डोल्पाकै नगेन्द्र बुढाथोकी मेरा पुराना साथी हुन्। उनले नै त्यो गीतबारे जानकारी ल्याएका थिए। नगेन्द्रले मलाई त्यो गीत संकलन गर्ने लक्ष्मीकान्त उपाध्यायसँग काठमाडौंमै भेट गराइदिए। उनी डोल्पाकै व्यावसायी थिए जसले जमघटमा उनका संकलनको गीत सुनाउँदै आएका रहेछन्।
काठमाडौंमै संकलक लक्ष्मीकान्त जीबाट सुन्नेबित्तिकै त्यस गीतका शब्द र अभिव्यक्ति मलाइ शक्तिशाली लाग्यो। मैले तत्काल रेकर्डमा लगिहालेँ। यसरी ०५८ सालतिर रेकर्ड भयो–

स… जौँका बारी गौँका पुला– कम्पनी
स… पुलाबान्दी जया बैनै– कम्पनी
स… हाँस्दै खेल्दै दिन काटम्ला– कम्पनी
स… घरबार्‍या न भया बैनै– कम्पनी

झल्काइदेउ झल्काइदेउ, गलैको कम्पनी माला झल्काइदेउ

यो गीत रेकर्ड भइसकेपछि सुन्दै गर्दा झन् पछि झन् मिठो लाग्दै जान थाल्यो। हामी नेपथ्यका गीतहरु तयार पार्दा संकलित क्षेत्रको स्थानीयता त्यसमा झल्कियोस् भन्ने चाहन्छौं। एक किसिमको आञ्चलिक प्रभाव गायकीमा आएन भने गीत जम्दैन। यस्ता कुराहरु त्यस गीतमा भरिएका थिए। विकट कर्णालीको देउडा र पश्चिमी झ्याउरेको समिश्रणका रुपमा तयार भएको यो गीत अब आम श्रोतामाझ जानका निम्ति तयार थियो। गीतसँगै म्यूजिक भिडियोको पनि कुरा उठ्न थाल्यो। साथीहरुले यो गीतको म्यूजिक भिडियो पनि डोल्पामै पुगेर तयार पार्नुपर्छ भन्न थाले। मेरो निम्ति यो उत्साहको कुरा थियो।

त्यसपछि तयारीहरु चल्न थाले। डोल्पाका साथी नगेन्द्रसँग पनि उताको तयारी र बन्दोबस्तका निम्ति कुरा चल्न सुरुभयो। त्यसै क्रममा यो गीतको म्यूजिक भिडियो माझिएका निर्देशक भूषण दाहालले तयार पार्ने कुरा आयो। हामी सबैका बीचमा सबै कुराहरु मिल्दै गए। यसरी हामी डोल्पा पुग्यौं।

२०६१ साल, जाडो महिना सकिएर भर्खरै गर्मी लाग्दै थियो। हिमालपारिका बस्तीहरुबाट जाडो छल्न दुनै आएका डोल्पालीहरु अझै यतै थिए। त्यो मौका छोपेरै नगेन्द्रले उपल्लो डोल्पास्थित साल्दाङका थिन्लेलाई म्यूजिक भिडियोका एक प्रमुख पात्र बनाउन सकिने योजना बुनिसकेका थिए। त्यसै अनुसार हामी सबै तयार थियौं।

जुफाल विमानस्थलमा ओर्लनेबित्तिकै केहि वर्षअघि मात्र सिनेमामा देखिएको त्यो चमत्कारिक व्यक्तित्व मेरो सामुन्ने उभिएका थिए। मलाई त्यो म्यूजिक भिडियोमा काम गर्नका निम्ति पहिलो भेटमै थिन्लेको उज्यालो अनुहारले पर्याप्त उर्जा दिइसकेको थियो। हामीबीच परिचयसँगै म आउने केहि दिनको निम्ति उत्साहित बनेको थिएँ। मलाइ उनी साख्खै मेरा काका हुन् जस्तो लागिरहेको थियो।

हामीले दुनै वरपर तीन दिनसम्म सँगसँगै काम ग¥यौं। म्यूजिक भिडियोमा म नयाँ पुस्ताको डोल्पाली बनेर खेल्दै थिएँ। यौवन, उत्साह र उमंग भरिएको। थिन्ले चाहिँ मसँगै यात्रामा निस्किएका अघिल्ला पुस्ता। उनले आफूसँग भएको कम्पनी माला अन्तिममा मलाइ अर्थात् नयाँ पुस्तालाई हस्तान्तरण गर्छन्। यहि नै थियो म्यूजिक भिडियोको कथा सार।

तीन दिन तल सुटिङ गरेपछि हामी हेलिकोप्टर चढेर आगामी सुटिङका निम्ति से फोक्सुण्डो उक्लियौं। त्यहाँ पनि थिन्लेसँग मेरो सुटिङ चल्यो। त्यो विशाल र चमत्कारिक ताल वरपर खिचिसकेपछि थिन्ले हामीबाट विदा भए। गर्मी लागिसकेको कारण उनी त्यहीँबाट आफ्नो गाउँ अर्थात् उपल्लो डोल्पाको साल्दाङतर्फ विदा हुँदै थिए। हामी ओर्लंदै थियौं।

त्यतिबेलै मैले थिन्लेलाई रोकेर ‘म एकदिन तपाइँको गाउँमा हिडेर आउँछु’ भनेँ। ‘तपाइँ आउनु हुन्न। भन्ने मात्र हो। त्यस्तो टाढा को आउँछ ? आउँदैन,’ भन्दै उनले मेरो त्यत्रो इच्छालाइ पुरै अविश्वास गरिदिए। एउटा कुरा यहाँ भन्न चाहन्छु। थिन्ले त्यति विकट ठाउँमा जन्मे हुर्केको भए पनि उनी भित्रभित्रै असाध्यै चलाख थिए। कर्मशील पनि उत्तिकै थिए। सुटिङ गर्दागर्दै मैले उनका यी गुणहरु चालपाएको थिएँ। जे होस्, त्यसदिन हामी शे फोक्सुण्डोबाट दुई तिरका यात्री दुई फरक दिशातिर छुट्टियौं। म काठमाडौं आइपुगेँ।

त्यसपछिको हाम्रो भेट काठमाडौंमै भयो। लगत्तै जिरीमा चलचित्र महोत्सवको आयोजना नेपालयले गरेको थियो। त्यो महोत्सवमा सुन्दर दृश्यले घेरिएको जिरी प्राविधिक शिक्षालयको खुला चौरमा ‘क्याराभान’ प्रस्तुत भइरहेको थियो। त्यसका निम्ति स्वयं निर्देशक एरिक भ्याली र थिन्ले नै त्यहाँ पुगेका थिए। करिब दुइ दिनको जिरी बसाइमा हामी साथसाथै रह्यौं। त्यस रोमाञ्चक चलचित्रका मुख्य पात्र र निर्देशकसँगको बस उठमा मसँगै त्यहाँ पुगेको मेरो परिवार पनि रमाएको थियो। यसरी हामी अझ नजिकिँदै गयौं।

त्यो भेटको केहि वर्ष पनि बित्न नपाउँदै एक दिन अचानक थिन्ले काठमाडौंमै आइपुगेको र उनलाई क्यान्सर भएको जानकारी मैले एकसाथ पाएँ। हामी दौडादौड बौद्धतिर उनी बसेको ठाउँमा पुग्यौं। चिकित्सकले उनलाई किमोथेरापी दिइसकेका रहेछन्। साह्रै गलेका देखिन्थे। तर, उनी भित्रको ज्याद्रो पना र जीवनप्रतिको उत्साह कायमै थियो। त्यसैले समयक्रममै उनले क्यान्सरलाई पनि जितेर छाडे।
मैले फेरि पनि उनलाई भनेँ, ‘तपाइले पत्याउनुभएन। हेर्नुस्, एकदिन म घुम्दै फिर्दै तपाइँको गाउँ आएरै छाड्छु। तपाइँलाई गाउँमै भेटेरै छाड्छु।’

उनले फेरि पनि अविश्वास प्रकट गर्दै मुस्कानसहितको अनुहार हल्लाए।

पोहोर साल नेपथ्यको अमेरिका यात्रा तय भयो। अमेरिकाका विभिन्न सहरहरुमा घुम्दै कन्सर्ट गर्ने योजना थियो। तर, अन्तिम समयमा आएर न्यूयोर्क बाहेक अन्यत्र सबैतिरका कार्यक्रमहरु रद्द भए। हामी नेपाली कलाकारहरु पनि अब विश्वका कुनै भेगका प्रस्तोताभन्दा आफूलाई कम आँक्नुहुँदैन भन्ने मान्यता राख्नुपर्छ। नेपथ्य यो अडान लिएरै अघि बढिरहेको छ। जस्तोसुकै परिस्थितीसँग सम्झौता गर्दै हिँड्ने हो भने हामी नेपाली कलाकारको मनोबल उठ्न सक्दैन। त्यसै हुँदा नेपथ्यको व्यवस्थापकीय टोलीले जहिले पनि उसको न्यूनतम शत्र्तहरुभन्दा तल गएर सम्झौता गर्दैन। यस्तै परिस्थितीमा अमेरिकाको हाम्रो यात्रा केवल न्यूयोर्कको प्रस्तुतीमै सीमित रहन पुगेको थियो। यसले अन्य भेगमा रहेका नेपथ्यप्रेमीलाई खल्लो भए पनि उहाँहरुले हाम्रा अडानहरुलाई पक्कै बुझिदिनुहुन्छ भन्ने विश्वास छ।

यसरी हामी न्यूयोर्कमा कार्यक्रम सकेर फर्किएपछि मसँग अमेरिकाका निम्ति छुट्याइएका अवधि फूर्सदिला बन्न पुगे। त्यो खाली समयकै उपयोग गर्दै म अमेरिकाबाट आउनासाथ डोल्पातिर लागेँ। नेपालगन्जबाट जुफाल ओर्लनासाथ उपल्लो डोल्पा उक्लन सुरु गरेँ। कहिले ठाडो उकालो, कहिले डरलाग्दा भीर त कहिले नदीको किनारै किनार। सात दिनसम्म कठिन बाटाहरु छिचोल्दै हिँडेपछि म साल्दाङ पुगेँ। थिन्लेको गाउँ पुग्नासाथ मेरो आङ सिरिङ्ग भयो। तर, गाउँ उही भए पनि थिन्लेको घर अझै टाढै थियो। म बास बसेको ठाउँबाट झण्डै डेढ घन्टा हिँड्नुपर्दो रहेछ। गाउँलेहरुसँग बाटो सोध्दै गएँ।

एउटा घरमा पुगेपछि पहिले त एकैछिन उभिएर हेरेँ। काटेर ल्याइएको उवाको त्यहाँ थुप्रो लगाइएको थियो। कोहि दाइँ गरेजस्तो देखिन्थे भने कोहि धमाधम भित्र लगेर थन्क्याइरहेको। त्यहीँनिर बसेका एकजना मेरा परिचित वृद्ध अनुहार ती सबैका कामहरु नियालिरहेका थिए। मैले कराएँ, ‘थिन्ले…’

जवाफमा कोहि बोलेनन्। सायद आवाजै उता राम्ररी पुगेन। मैले फेरि कराएँ। अब भने त्यहाँ उपस्थित छोरी मान्छेहरुले मलाई देखे। उनीहरुले भोटे भाषामा थिन्लेलाई मतिर देखाउँदै ‘उता बोलाइरहेको छ’ भने।

जवाफमा उनको अनुहार म भएतिर घुम्यो र सोधे, ‘को हो?’
‘नमस्ते थिन्ले, म अमृत…’ मैले भनेँ।
‘को?’ उनले फेरि सोधे।

‘म अमृत’ भन्दै नजिक गएँ। छेवैमा देखेपछि एकछिन त अचम्म मान्दै हाँसे। ‘ओहो…’ उनी कुनै ठूलै जादू देखेजस्तो अनुहार लगाउँदै बोले, ‘हाजुर काँहाबाट आयो?’ र छेउतिर इशारा गर्दै थपे, ‘बासुम् बासुम्’

उनले भोटे भाषामै त्यहाँ भएका मानिसहरुलाई बोलाए र खै के के भने।
एकैछिनमा हाम्रा अघिल्तिर क्यानमा राखिएका कोकाकोला, वियर र रेडबुलका थुप्रो लाग्यो। सबै क्यानमा चिनियाँ अक्षर लेखिएका थिए।
‘लिनुस्,’ थिन्लेले भने।

मैले उनको हातमा रहेको गिलासतर्फ इशारा गर्दै सोधेँ, ‘तपाइँले के खाइराख्नु भएको ?’

उनले गिलास हेर्दै भने, ‘यो त भोटे चिया।’

मैले म पनि भोटे चिया नै पिउँछु भनेँ।

उनले तुरुन्तै गिलास मगाए। सिलावरको सानो गिलासमा चिया राख्दै उनले भने, ‘ला लिनुस्।’
उनी अचम्म मानेर मलाइ हेरिरहेका थिए। हामी एकछिनसम्मै गफियौं।
‘आज बेलुकी भात यहीँ खाने,’ उनले भने।
मैले पर होटलमा साथीलाई छोडेर आएको छु भनेर सुनाएँ।

‘को? किरण?’ उनले नेपालयका किरणकृष्ण श्रेष्ठ हुन् कि भनेर सोधे। मैले ‘हैन’ भनेर जवाफ दिएँ।

‘को? भूषण?’ उनले अर्को अनुमान म्यूजिक भिडियोका निर्देशक भूषण दाहालको लगाए। मैले फेरि ‘हैन’ भनेर जवाफ दिएँ।
भूषणका बारेमा उनी जिज्ञाशू रहेछन्। ‘भूषणलाई कस्तो छ ?’ भनेर सोधे। मैले ‘ठीकै छ। हाम्रो कहिलेकाँहि मात्र भेट हुन्छ’ भनेर जवाफ फर्काएँ।

कुराकानीकै क्रममा उनले ‘तपाईँ भन्नुस् त अब कति वर्षसम्म दुनैबाट साल्दाङसम्म गाडी आउँछ?’ भनेर सोधे।
‘मजस्तो विचार भएको मान्छेले बनाउने हो भने २० वर्ष,’ मैले भनेँ, ‘अझ राम्रो विचार भएको मान्छे भयो भने त १० वर्षमै पनि बाटो बनाइदिन सक्छ।’

उनले मतिर आँखा चिम्सो पारेर हेरे। अविश्वास गरेजस्तो हल्का टाउको घुमाए। हत्केलालाई हल्लाउँदै भने, ‘आउँदैन। सय वर्षपछि मात्र आउँछ।’ उनी एकैछिन थामिएर फेरि बोल्न सुरु गरे। ‘मै पिचात्तर वर्ष भइसक्यो,’ थपे, ‘म ठिटा हुनेबेलामै बाटो आउँछ भनेर सुनेको आहिलेसम्म आएन।’ उनले ‘हाहा’ गर्दै अचानक अनुहारमा हाँसो फैलाए र भने, ‘अब म मर्ने बेला भइसक्यो। मैले बाटो देख्न पाउँदैन।’

उनले फेरि मलाई एकपटक अपत्यारिलो गरेर हेरे। ‘तपाईँ यत्रो बाटो हिँडेरै आयो,’ उनले मुस्काउँदै भने, ‘खुशी लाग्यो।’
हामीले त्यसपछि फोटाहरू खिच्यौं र फेरि छिट्टै भेट्ने वाचा गर्दै विदा भयौं। म साल्दाङहुँदै छार्का भोटतिर लागेँ।

म यतिबेला कास्की र स्याङ्जाको सीमानामा रहेको पुख्र्यौली गोठमा बसिरहेको छु। जंगलको बीचमा खेती किसानी गर्दै बसिरहेको बेला आइतबार बेलुकी गोठैमा अचानक नराम्रो खबर सुनेँ।

स्याङ्टाबाट छेक्पा जाँदा फोक्सुण्डो नदीको किनारमै घोडाबाट लडेर थिन्लेको निधन भएछ। त्यो भीरको जंगली बाटो म हिँडेको छु। त्यहाँको विकटता र थिन्लेलाई सम्झेँ। जीवन भनेको आखिर कुनै टुंगो नभएको कुरा रहेछ। आफू जन्मेको विकट हिमाली भेगमा हिँड्दा हिँड्दै त्यो भूमिपुत्रको त्यहीँ अन्त्य भयो। तर, यसबीच उनले आफु र आफुजस्ता डोल्पालीहरुको कथा विभिन्न माध्यमबाट संसारलाई सुनाएर गए। थिन्ले काकाको जीवन सार्थक भयो। उनको आत्मालाई शान्ति मिलोस्।  @setopati






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution