नयाँ शक्तिको केन्द्रीय परिषद सदस्य थापा निलम्बित
काठमाडौं – नयाँ शक्ति नेपालले आफ्ना नेता तथा कार्यकर्ताले गल्ती गरेमा कानुनी कारवाहीको लागि प्रशासनलाई सघाउने जनाएको छ । नयाँ शक्ति नेपालका केन्द्रीय परिषद सदस्य अशोक थापालाई चिठ्ठामार्फत ठगीको आरोपमा पक्राउ गरेको समाचार सार्वजनिक भएपछि नयाँ शक्तिले यस्तो प्रतिक्रिया दिएको हो ।
सोमबार पार्टी प्रवक्ता खिमलाल देवकोटाद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘नयाँ शक्ति नेपालका अन्तरिम केन्द्रीय परिषद सदस्य ओखलढुंगाका अशोक थापालाई चिट्ठाको नाममा ठगी गरेको भन्दै प्रहरीले पक्राउ गरेको समाचारप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।’
‘नयाँ शक्ति नेपालको अन्तरिम व्यवस्थापन तथा प्रशासन निर्देशिका, २०७२ अनुसार भ्रष्टाचार एवम् ठगीजस्ता गम्भीर अपराधमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरी थुनामा राखेमा पार्टी सदस्यलगायत सम्पूर्ण जिम्मेवारीबाट स्वतः निलम्बन हुने र अदालतबाट दोषी ठहर गरी अन्तिम फैसला भएमा पार्टी सदस्यता स्वतः खारेज हुने व्यवस्था भएको स्पष्ट पार्न चाहन्छौं,’ विज्ञप्तिमा स्पष्ट पारिएको छ ।
प्रवक्ता देवकोटाले विज्ञप्तिमा पार्टीको उक्त प्रावधानअनुसार जनमुक्ति सेनाका पूर्व कमाण्डर समेत रहेका नयाँ शक्ति नेपालका अन्तरिम केन्द्रीय परिषद सदस्य अशोक थापा स्वतः निलम्बित गरिएको स्पष्ट पार्नुभएको छ ।
‘सुशासन र पारदर्शिता नयाँ शक्तिको मान्यता भएको पुनः स्पष्ट गराउँदै स्वतन्त्र र निष्पक्ष छानबीन गरी सत्यतथ्य बाहिर ल्याउन नयाँ शक्ति नेपालको तर्फबाट आवश्यक सहयोग पुर्याउने प्रतिबद्धता पनि व्यक्त गर्दछौं,’ विज्ञप्तिमा स्पष्ट पारिएको छ ।