तामाङ जातिको न्वारनमा नामाकरण गर्ने आफ्नै मौलिक विधि
तामाङ जातिमा न्वारन गर्दा धार्मिक विधि अनुसार नवजात शिशुको नामाकरण गर्ने काम गरिन्छ | यसलाई (मिन थान्बा) भनिन्छ | न्वारनको मुख्य पक्ष नामाकरण गर्ने काम हुन्छ | यसरी न्वारनमा बौद्ध धार्मिक विधिअनुसार लामा पुरोहितले पाढ़पूजा गरी सुत्केरीलाई शुद्ध गर्ने गरिन्छ | लामाहरुले नवजात शिशुको नाम राख्दा प्राय: जन्मबारको आधारमा राख्ने गर्दछन् |
नवजात शिशु आईतवार जन्मेमा – ङ्हेमा, सोमबार -दावा, मंगलवार-मिङमार, बुधवार-लाग्पा, बिहीवार-फुर्वा , शुक्रबार-पासाङ र शनिबार-पेमा राख्ने गरिन्छ |यसरी राखिएको नामको पछाडि नवजात शिशु छोरा भए (दोर्जे) र छोरी भए (डोल्मा) वा (छिरिङ) जोडेर नामाकरण गरिन्छ | यसको अतिरिक्त लामा गुरुहरुले पात्रो (चिही) हेरेर बौद्ध देबिदेबताका नामहरु राख्ने गर्दछन् | यती गरिसकेपछि घर परिवारको मंगल दिर्घायु र सम्वृद्धिका लागि लामाहरुले (टासि सेक्पा र साम्बा लुन्डु) छ्योइ (पुस्तक) पढ्ने गर्द्छन् |
तामाङ समाजमा शिशुको उमेर बढ्दै गएपछि हिन्दू धर्मबाट प्रभावित भएर आफ्नो छोराछोरीको नामाकरण अर्थात् फेरी पुनः नाम राख्ने प्रचलन ब्यापक रुपमा रहेको छ | अर्कोतिर धर्मिक जागरणका कारणले बौद्धा देवीदेवताको नामहरु राख्ने गरेको पाईन्छ | तर आफ्नो मात्रिभाषाका नाम राख्ने प्रचलन लोप हुँदै गईरहेको पाइन्छ | तामाङहरुले नामकरण गर्दा आफ्नो जातिय झल्कने गरी राख्नु उपयुक्त हुन्छ |
रसुवाक तामाङहरु लामा बोलाई न्वारन र नामाकरण गर्ने परम्परा लाई दाबेन भन्ने गर्द्छन् भने हुम्ला र मुगूका तामाङहरु यस न्वारन गर्ने परम्परालाई छरतेर्जे भन्ने गर्दछन् |