तामाङ जातिको थाप्साङ् (न्वारन) सँस्कार
-फुर्वादोर्जे तामाङ
तामाङ जाती नेपालको प्राचिन जाती हो। मङ्गोल नश्ल् (Race)का यस जाती नेपालको आदिवासी मानिन्छ। यिनिहरु तिब्बती भाषा परिवार अन्तर्गतको हिमाली भाषा बोल्दछन। नेपालका विभिन्न जनजातिहरु मध्येका यस जातिका सामाजिक संस्कारहरु मध्येको थाप्साङ्(न्वारन) संस्कारको यहाँ लघु चर्चा गरिएकोछ।
तामाङ्हरु न्वारन ३ दिनको दिनमा लामा ल्याएर गर्दछन। कथाम कदाचित ३ दिनको दिन थाप्साङ गर्नु नसकिएमा ११ दिनसम्म बिजोर दिन पारी (५,७,९,११) गर्ने गरिएको पनि भेटिन्छ। तामाङ समाजमा नवजात शिशु ३ दिन बाँचेपछी उ आफ्नो कुलमा चढ्दछ र थर प्राप्त गर्दछ भन्ने धारणा छ। यसैले तामाङ समाजमा ३ दिनकै दिन न्वारन्(थाप्साङ/मिनथान्बा) गर्ने प्रचलन छ।
थाप्साङ गर्दा सर्वप्रथम लामालाई थापासाङ गर्ने निम्तो गर्ने ‘सगुन’ लाने प्रचलन छ। जसलाई ‘डिपछ्याङ पोङ’ भनिन्छ। यसैबखत उक्त पूजाका लागि चाहिने सरसामग्री खरिद गर्न वा जुटाउन लामाले जानकारी दिन्छ। अनी नवजात शिशुको आपाले थाप्साङको लागि सामाग्री जुटाउँदछ। थाप्साङमा चाहिने केही सामाग्रीहरु यस प्रकार छन:
क) होम गर्न चाहिने स्याउलाहरु: १)ताक्पा,२)क्याब्रे,३)ल्हाङ्मार,४)घ्रुसिङ्,५)च्यानच्युनतितेपाती
ख) धुपको लागि: १)स्युक्पा,२)साल,३)गोकुल,४)टिबेटिन्,५)गाइको घिउ
ग) अभिषेक जल: १)मह,२)गाइको दुध,३)अर्लादर्ला
घ) लामाको लागि: १)बज्र,२)छ्योइ,३)बुम्बा,४)छ्याङ्दी,५)डिल्बु,६)नाग्साल्(काङ्दाङ)
ङ) अन्य: १)काँचो धागो,२)कोकोम्हेन्दो,३)चामल्,पैसा,बत्ति,४)खादा,५)सगुन
अनी माथि उल्लेखित सामाग्रीहरु छ्याङ्दी(काठको आशन)माथी राखिन्छ। लामालाई आशन बनाइन्छ। त्यसपछी लामाबाट छ्योइ पढ्दै थाप्साङ गर्ने कार्य प्रारम्भ हुन्छ। लामाका अनुसार थाप्साङमा सर्वप्रथम सेर्गेम गरिन्छ। सँग सेर्गेम गर्दा लामाले छ्योइ पढ्दै, घन्टी बजाउँदै, धुपौरोमा माथी उल्लेखित सामाग्रीहरुको एकातिर धुप हाल्ने र अर्कोतिर होम पनि गर्ने गरिन्छ। यसपछी सुतक फुकाउन लामाले ‘दोर्जे नाम्ज्युङ’ छ्योइ पढ्दछन। यती भाईसकेपछी नवजात शिशुलाई बुम्बामा राखेको गाइको दुध, अर्लावर्ला, महको अभिषेक जलले नुहाउने काम हुन्छ। यसरी नुहाउँदा सर्वप्रथम कोपरा वा ठुलो भाँडामा आगोमा बेस्करी पोलेको ३ वटा दर्शुन ढुङ्गा राखिन्छ, अनी त्यसमाथी उल्लेखित स्याउला रखिन्छ। यसपछी लामाले छ्योइ पढ्दै घन्टी बजाउँदै अक्षेता छर्कँदै बुम्बामा राखिएको अभिषेक जलले कोपरामाथी आमालाई बच्चा समाउन लगाएर नुहाउने कार्य हुन्छ। यसरी गाइको दुधको जलले पुरै नुहाउँदा उक्त अभिषेक जल तातो दर्शुन ढुङ्गामा पर्न जाँदा सुगन्ध रुपी बाफ आउँछ। तामाङहरुमा नवजात शिशुले यस्ता स्याउलाको बाफ लिएमा चोखो वा शुद्ध हुन्छ, ठुलो भएपछी जङ्गलमा घाँस दाउरा गर्न जाँदा आउँदा बिमिरा आउँदैन रे, पोल्दैन रे भन्ने धारणा छ। त्यसपछी बच्चाको आमालाई टाउको, खुट्टा-हातमा अभिषेक गराइन्छ। अनी आपा, दाजुभाइ, कुलकुटुम्ब र उपस्थितहरुलाई पनि अभिषेक गराइन्छ। बाँकी अभिषेक जल घर, बारी, कोठाहरुमा छर्किन्छ। बालकलाई घ्युद्धारा कोकोम्हेन्दोको टिका लगाइ दिने यसपछी नाडी, गोडा र कम्मरमा काँचो धागो बाँधिन्छ। भनिछ, यसो गरिएमा बच्चालाई डाहा वायु र भूतप्रेत लाग्दैन रे।
यसपछी नवजात शिशुको नामाकरण गर्ने काम हुन्छ। यो काम पनि तामाङ समाजमा आफ्नै प्रकारको छ। लामाले नाम राख्दा प्राय: जनमवार अनुसार राखेको देखिन्छ। जस्तो: आइतवार्-निमा, सोमवार-दावा, मङ्गलवार-मिङमार, बुधवार-लाक्पा, विहिवार-फुर्वा, शुक्रवार-पासाङ, शनिवार-पेमा।
यसरी राखिएको नाममा यदी नवजात शिशु छोरा भए ‘दोर्जे’ र छोरी भए ‘डोल्मा’ वा ‘छिरिङ्’ भनी फुर्का जोडेर नामाकरण गरेको पाईन्छ। यसका अतिरिक्त सम्पन्न व्यक्तिहरुले ठुलाठुला लामागुरुहरुलाई पात्रो हेराइ नाम राख्ने पनि गर्दछन। यती गरिसकेपछी कतै कतै सुतक परेको घरमा मङ्गल, दिर्घायु र सम्रिद्धिका लागि लामाहरुले ‘टासी सेक्पा’ र ‘साम्बा लुन्डु’ छ्योइ पनि पढ्ने गरेको पाईन्छ।
अनी उपस्थित दाजुभाइ, कुलकुटुम्ब र उपस्थित गणका साथै लामालाई स-सम्मान खाना खुवाउने कार्य हुन्छ। अनी लामालाई नवजात शिशुको आपा-आमाले खादा लगाएर ढोग गरी सक्दो श्रद्धाले दक्षीणा दिएर घरसम्म पुर्याउने कार्य हुन्छ। तर मृत्युसंस्कार भन्दा न्वारन संस्कार ठुलो र शुद्ध गर्नु पर्ने हुँदा यस् सँस्कारका लागि लामा ल्याउन काठइन छ। त्यस्तै पुर्व बच्चाहरु रोगी भएमा वा मरेमा तामाङहरु हेयका दृष्टिले तल्ला जातिका नाम राख्ने गर्छन् दिर्घायूको लागि जस्तो सार्की, दमाइ, कामी, पोडे। सुतक नफुकाएसम्म बिउ बिजन नछर्ने, नरोप्ने, शुभ कार्यहरु नगर्ने, लाशै परेमा पनि न्वारन नगरि उक्त लाश उठाउने गर्दछन तामाङहरु। अन्तमा तामाङ जातिको यो संस्कार अन्य जातिको भन्दा मौलिक भएपनी तामाङ व्यक्तिहरुको नाम अवलोकन गर्दा अत्याधिक हिन्दू प्रभाव परेको प्रष्ट देख्न सकिन्छ। अत: तामाङ जातिले आफ्ना सन्ततिहरुको नामाकरण गर्दा जाती विशेष पहिचान दिने किसिमको नाम राख्ने कि नराख्ने भन्ने आजको सोचनिय बिषय भएकोछ भन्दा फरक नपर्ला।