ताम्सालीङ र पहिचानको सवाल
ताम्सालीङको अर्थ :
ताम्सालीङ भन्ने शब्द तामाङको “ताम”, “सा” र “लीङ” तीन शब्द मिली बनेको छ | “ताम” भनेको “नेपालको ऐतिहासिक तामाङजाति र भाषा”, “सा” भनेको “माटो” र “लिङ” भनेको “क्षेत्र/दिप” अर्थात तामाङजातिको ऐतिहासिक भूमि र त्यस्तै सहजातीय भाषा बोल्ने सास्कृतिक भूगोल हो | तामाङहरु यस क्षेत्रलाई अत्यन्तै श्रदासाथ आफ्नो मातृभूमि (किपट) मान्दछन | अत: ताम्सालीङ, भूगोलको नाम हो तर यो माटो मात्र होइन यो तामाङजातिको आवादी, इतिहास, पुर्ख्यौलीथलो, सस्कृति, सभ्यता, जीवनशैली, मनोविज्ञान र राजनीतिक भूगोलको अभिव्यक्ति पनि हो | यस हिमाली भू-भागको ताम्सालीङ हामी सबैको साझा मुलथलो भएको र यहीबाट हामी आदिवासीहरु एसियाका विभिन्न ठाउमा राज्यका सीमा निर्धारित हुनु अगाडी नै फैलिएको तथ्यलाई पुष्टि गर्दै र यो मातृभूमि जहा हाम्रो पुर्खाले जीवन बिताए, हाम्रा देवीदेवताले बास गरे, जहा हाम्रा भौतिक र सास्कृतिक गाथाहरु जन्मे र इतिहासको सिर्जना भयो, जसले हाम्रो भौतिक र सास्कृतिक अस्तित्वलाई संरक्षण गर्यो र जहाबाट हामीले खाना, औषधिमुलो प्राप्त गर्यो र जहा हामीले आफ्नो भाषालाई हुर्कायौ, चाड र उत्सवहरू मनायौ, यो मातृभूमि जहा हामी जन्म्यौ र भविष्यको लागि चिनो छोडेर जानेछौ, लाई सम्मान गर्दछौ |
काठमाण्डौका नेवारहरु पर्वते खसक्षत्री बाहुनहरूलाई “खे”, मधेशका बासिन्दाहरुलाई “मर्स्या” र अन्य पहाडका रैथाने आदिवासी जनजातिलाई “से” (भोटे) भन्दथे | काठमाण्डौको नेवारहरुको वरिपरी बस्ने भएकाले नेवारहरुले तामाङहरुलाई “से” र तामाङको ऐतिहासिक थातथलो (पुर्ख्यौलीभूमि) लाई “सेषण्ड” अर्थात सेषान्त्त भन्थे | यही आफ्नो ऐतिहासिक थाताथालोलाई तामाङहरुले “ताम्सालीङ” भने |
ताम्सालीङको भूगोल क्षेत्र :
नेपाल हिमालयको यो केन्द्रीय तथा मध्यभाग अहिले पनि तामाङजातिको बसोबासको मुख्य केन्द्र हो | रसुवा, मकवानपुर, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, धादिङ, रामेछाप, दोलखा ९ जिल्लाको २५३ गाविस र ललितपुरको पहाडी भेगका गाविसहरुमा तामाङसमुदाय कै बाहुल्यता रहेको छ | यो मध्यक्षेत्रको १० जिल्लामा (खसभाषा बाहेक) तामाङ भाषा पहिलो ठुलो जनासंख्याले बोल्ने भाषा पनि हो | अहिले पनि कुल तामाङ जातिको ऐतिहासिक पहिचानसंग जोडिएको छ | यो क्षेत्र तामाङ पुर्खाले आवाद गरेको भूमि हो | किनभने यो भूगोलमा अन्य समुदायले पछिमात्र प्रवेश गरेका हुन |
विश्वमै पहिचान जोखिममा
किन तामाङहरुका लागि “ताम्सालीङ” प्रिय छ ? हार्मो इतिहास र अनुभव भन्छ, “जुन राष्ट्रले आफ्नो भूगोल र इतिहास गुमाउछ त्यो राष्ट्रको अस्तित्व गुम्ने निश्चित छ | जुन जातिले आफ्नो इतिहास र सस्कृति भुल्दछ त्यो जातिको पतन पनि निश्चित छ |” उधाहरणका लागि फिलिपिन्सलाई लिन सकिन्छ | सन् १५६४ मा मिगेल लोपेज डिलेगाज्पी मेक्सिकोबाट लुजो दिपहरुमा जहाजियात्रा गरेर आएका थिए | उनले ती स्थानहरुलाई आफ्नो कब्जामा लिए र राजा फिलिप दितीयको सम्मानमा लुजोन दिपहरुलाई “फिलिपिन्स” भन्ने नामकरण गर्यो र मनिलालाई राजधानी बनाईयो | त्यसबेला फिलिपिन्स त्याहाका आदिवासीहरुको लागि “पराय” नाम थियो | अहिले नया नाम फिलिपिन्स स्थापित भैसकेको छ तर आदिवासी नाम लुजो बिलाएको छ | यो एउटा सानो उधाहरण मात्र हो | यस्ता घटना संसार भरनै भएका छन् | यो प्रक्रियालाई बहुराष्ट्रिय कम्पनीहरुको सहायतामा अमेरिकी मोडेलको भुगोलिकरण प्रक्रियाले दिन दोगुणा र रात चौगुणा फैलाउदैछ | त्यसैले संसार भरका आदिवासीहरु आफ्नो पुर्ख्यौलीथलोको आदिवासी पहिचान बचाउन जबरजस्तरुपमा आन्दोलित छन् | यही क्रममा अष्ट्रेलियामा एवओरिजनल इन्टाइटल्मेन्ट एक्ट नै पारित भै संरक्षणको कार्य भैरहेको छ |
पहिचान मास्नु तथाकथित नेपालीकरण
नेपालमा दक्षिणतर्फबाट बसाई सरी काठमाण्डौ खाल्डोमा राजकाज गर्न थालेपछि आम रुपमा सस्कृतकरणको अभियान थालियो | सबै कुरा सास्कृतमा लेखियो | यहाको पुरानो ठाउहरुको स्थानीय भाषाका नामहरुलाई हटाएर त्यसको ठाउमा “सास्कृत” भाषाका नामहरु राखियो | पृथ्वीनारायणले नेपाल जीतेपछी खसभाषाकरण (भाषा) अधि बनाईयो | पंचायतकालमा आइपुग्दा त्यसको विकास नेपालीकरणको नाममा भयो | गाउ-ठाउको नाम मात्र होइन गैर नेपालीभाषाको गीत समेत नेपाली (खस) भाषामा गाउनु बाध्य पारियो | खसआर्य उच्चजात अहंकारवादको सेवामा नेपालीकरण अभियान संचालन गरियो | हाम्रो हिमालयको सर्वोच्च शिखरको नाम स्थानीय मातृभाषामा “चोमोलोङमा” थियो | यसलाई नेपाली सरकारले २०१६ सालमा “सगरमाथा” नामले न्वारान गरिदियो | ब्रिटिश भारतले “चोमोलोङ” लाई एक ब्रिटिश सर्भेयरको नामद्वारा “एभरेष्ट” बनाइ दियो |
रसुवा जिल्लामा गरिएको एक अध्ययन अनुसार रसुवा जिल्लाका सबै गाविस, खोलानाला, जलकुण्ड, हिमाल आदिको नाम तामाङभाषामा थियो, जसलाई पंचायतकालमा खस नेपालीकरण गरियो | यही उपत्यकाको कुरा गरौ : तामाङभाषाको याम्बु (यं) अहिले काठमाण्डौ भयो, येराङ (यल) अहिले ललितपुर, खोपृङ (ख्वप) अहिले भक्तपुर भयो | लाप्साङकार्पो अहिले गणेश हिमाल भयो | नेपालका तथाकथित बाहुनक्षेत्री बुद्धिजीवीहरुका लागि यी कृतिम र विदेशी नामहरु प्रिय छन् तर आफ्नो माटोबाट उब्जेको आदिवासी नाम “ताम्सालीङ” विषजस्तै अप्रिय भएको छ | यो प्रवृतिले हाम्रो सभ्यता र इतिहास मार्ने पक्का छ | यो स्वदेशीपन र आदिवासीपनलाई अनादार र अस्वीकार गर्नु भनेको देशको आफ्नोपन, आदिवासीपन, माटोको गौरव र इतिहासलाई सानो, तुच्छ ठान्ने सामन्ती अहंकारवादी अराष्ट्रिय सोच मात्र हो |
पहिचान र प्रदेश (राज्य) को नाम
के पहिचानसहितको राज्य वा प्रदेश हुन सक्दैन ? के पहिचान माग्नु अपराध हो ? अहिले नेपालमा नेपाली कांग्रेस र एमाले नेताहरुले अहिचानको मुद्धालाई अपराधको रुपमा बढाई-चढाई प्रस्तुत गरिरहेको छ | यो पेचिलो बिषय हो | संसारमा राज्य निर्माणका क्रममा थुप्रो देशको नाम वा देशको कुनै प्रान्त, स्वायत्त क्षेत्र वा संघीय एकाईको नाम जाति, भाषा र सभ्यताका आधारमा राखिएको थुप्रै उदाहरण पाइन्छ | विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक संघीय देश भारतमा गुजर कविलाबाट गुजरात, मराठीभाषाबाट महाराष्ट्र, मिजोजातिबाट मिजोरम, नागाजातिबाट नागाल्याण्ड, ओड्रोजातिबाट उडिषा (उरिया), तामिलबाट तामिलनाडु, तेलगुभाषाबाट तेलङ्गना, आसामीभाषाबाट आसाम, बङ्गालीभाषाबाट बङ्गाल, पंजावीबाट पंजाब, आद्राजातिबाट आन्द्रा प्रदेहरु बनेका छन् |
सबैभन्दा पुरानो संघीय लोकतान्त्रिक देश संयुक्त राज्य अमेरिकामा ५० वटा राज्यमध्ये २४ वटा राज्यको नाम त्यहाको जनजाति/जनजाति भाषाबाट लिएको छ | आठ राज्यको नाम अल्गोन्क्वीन भाषामा, सात राज्य सिओयइन भाषामा, एक उटी-अज्टकन भाषा, तीन राज्य इरोक्वीन भाषा र पाच राज्य नेटिभ अमेरिकन जनजातिका नाममा छन् | अरु २२ वटा राज्यको नाम पनि युरोपियनहरु जस्तै सातराज्य ल्याटिन भाषा, पाच अंग्रेजी भाषा, पाच स्पानिस भाषा, चार फ्रेन्च भाषामा छन् | यस्ता थुप्रै उदाहरण चीन, फिलिपिन्स, मलेशिया, क्यानाडा, जर्मनी, रुस, इथापिया, पाकिस्तान, कोमोरस, स्पेन, बेल्जियम, आदि देशहरुबाट लिन सकिन्छ | सबै लोकतान्त्रिक देशहरुमा अभ्यासमा रहेको जातीय पहिचान बुझाउने राज्यको नामहरु, नेपालमा किन हुन नसक्ने ? अब कांग्रेस र एमाले नेताबाट जवाफ माग्नु जरुरी छ |
पहिचान र स्वतन्त्रता
लोकतन्त्रको सार सिद्वान्त भनेको स्वतन्त्र र समानता हो | अधिकारविहीन मानिस नै विपन्न मानिस हुन्छ | भोको र विपन्न मानिस कहिल्यै स्वतन्त्र मानिस हुदैन | असमान मानिसहरु बीच समानताको सिद्वान्त परिणाममा असमानै हुन्छ | असमानहरुका बीचमा सामाजिक न्याय र विशेष सुविधाले मात्र मानिसलाइ समान र स्वतन्त्र बनाउदछ | दरिद्रता, अज्ञानता र असमानताको अन्त्यको लागि स्वतन्त्रतालाई औसरको रुपमा मूर्तिकृत गर्नु पहिचानको राजनीति र अभियान हो | तसर्थ लामो ऐतिहासिक उत्पीडनबाट अधिकारको खोजीको प्रारम्भ पहिचानबाट शुरु हुन्छ | नेपालको सन्दर्भमा पहिचान अस्वीकार गर्नु भनेको स्वतन्त्रताको अधिकार र परिवर्तन अस्वीकार गर्नु हो | त्यसैले यो पहिचान विरोधी मानवताका विरोधी हुन् | अन्तिम विश्लेषणमा, उनीहरु मानवता विरोधी अपराधी हुन् | पहिचानको अधिकार पनि, अन्तराष्ट्रियरुपमा मान्यता प्राप्त मानव अधिकार र लोकतान्त्रिक अधिकार कै बिषय हो |
लेखक ; परशुराम तामाङ , वरिष्ठ उपाध्यक्ष, संघीय जनमुक्ति पार्टी नेपाल | (पुरानै लेख पुनः प्रकाशित गरिएको)