हेडलाईन

इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने        

किन समृद्ध भएन मातृभाषा ?

bhasha

नयाँ राष्ट्रगान ‘सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली’ लागु भएको झन्डै आठ वर्षपछि रचनाकार व्याकुल माइला -प्रदीपकुमार राई) लाई सरकारले मासिक २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णयले मातृभाषी स्रष्टा लेखकमा सान्त्वना मिलेको हुनुपर्छ । माइला वाम्बुले राई मातृभाषी सर्जक पनि हुन् । मुलुकमा १२५ जाति र १२३ भाषा छन्, केवल दस्तावेजमा । यीमध्ये विदेशी भाषाहरू र सांकेतिकसमेत पर्छ । व्यवहारमा कति मातृभाषाहरू बोलिन्छन् र लेखिन्छन्, त्यत्ति मतलब राखिन्न । नेपाली भाषा, साहित्य भन्नासाथ खस-नेपाली भाषामात्र सम्भिmन्छौं । सरकारी कामकाजमा चाहिने यही नेपाली भाषा, देवनारी लिपिमात्रै हो । त्यसैले पनि धेरै चासो राखिन्न । नेपाली भाषा समुदायका हरेकजसो मानिसले बोल्ने र बुझ्न सक्ने भएकाले यसो भएको छ ।

तथ्यांकले नेपाली भाषालाई मातृभाषाका रूपमा उल्लेख गर्ने ४४.६४ प्रतिशत देखाएको छ । जुन भाषालाई खस कुरा अर्थात् गोर्खाली भाषासमेत भनिन्छ । तर अन्तरिम संविधान, २०६३ ले मुलुकमा बोलिने सबै भाषालाई ‘राष्ट्रभाषा’ भनेको छ । नेपाली बाहेक अरु भाषा र वक्ता प्रतिशत यस प्रकार छ । मैथिली ११.६७ प्रतिशत, भोजपुरी ५.९८ प्रतिशत, थारु ५.७७ प्रतिशत, तामाङ ५.११ प्रतिशत, नेवार ३.२० प्रतिशत, बज्जिका ३ प्रतिशत, मगर २.९८ प्रतिशत, डोटेली २.९७ प्रतिशत, उर्दु २.६१ प्रतिशत, अवधि १.८९ प्रतिशत, लिम्बु १.३० प्रतिशत, गुरुङ १.२३ प्रतिशत र बैतडेली १.०२ प्रतिशत । अरु भाषाहरू एक प्रतिशतभन्दा कम संख्यामा रहेका छन् ।

नेपालमा सर्वाधिक प्रचलनमा देवनागरी लिपि रहेको छ । लाप्चा भाषा रोङ लिपिमा लेखिन्छ । लिम्बु लगायत किराती भाषाहरू किरात/सिरिजंगा, कोइँच -सुनुवार) भाषा जेंःतिचा लिपि, तामाङ भाषा तामयिक -सम्भोटा/उ छेन) र शेर्पा भाषा सम्बोटा लेखिन्छ । नेवार भाषा रञ्जना -प्रचलित लिपि, भुजिमोल, पाचुमोल, कुम्मोल, गोलमोल, लितुमोल, हिंमोल, क्वेंमोल आदि) लेख्ने गरिन्छ । सन्थाल भाषा ओलचिकी लिपि, गुरुङ खेमा लिपि, मैथिली मिथिलाक्षर र देवनागरी, मगर भाषा अक्खा लिपि र भोजपुरी कैथी लिपिमा लेख्ने परम्परा रहेको छ । तर अधिकांश देवनागरीमै लेख्ने गर्छन् ।

कुनै पनि भाषा ठूलो-सानो, राम्रो-नराम्रो हुँदैन । त्यो भाषा बोल्ने वक्ता संख्या धेरै-थोरै, विकसित-अविकसित हुनसक्छ । राज्यले गर्ने व्यवहारमा निरभर गर्छ । भाषाशास्त्री योगेन्द्रप्रसाद यादव नेपाली इतरका भाषाभाषीहरूको समस्या प्रमुख मान्छन् । ‘राष्ट्रको कोष उपभोग गर्ने र नोकरीमा प्रवेश गर्ने विषयमा पनि नेपालीइतर भाषाभाषीहरू कठिनाइ भोगिरहेका छन्,’ भन्छन्, ‘एक भाषाको नीतिले नेपालीइतर भाषाभाषीहरूलाई सरकारी र गैरसरकारी क्षेत्रमा रोजगारी पाउन बाधा खडा गरेको छ । उच्च पदमा

पुग्नु त टाढाको कुरो हो । नेपालीइतर भाषाभाषीले नोकरी पनि पाएका छैनन् ।’

किराती भाषामध्ये लिम्बु सबैभन्दा समृद्ध छ । प्राज्ञ अमर तुम्याहाङका अनुसार सन् १७४१ यता लिम्बु भाषाको लिखित इतिहास रहेको छ । त्यस अघि श्रुति लोकपरम्परामा थियो । लिम्बु भाषा, साहित्य, संस्कृति, मुन्धुम, किरात लिपिका निम्ति ज्यानै अर्पण गर्ने स्रष्टा हुन्, सिरिजङ्गा । समाज सुधारक फाल्गुनन्दको योगदान उस्तै छ । त्रिभुवन विश्वविद्यालयको किरातोलोजिस्ट इमानसिंह चेम्जोङदेखि लिम्बुवानको शिलाजितजस्ता स्रष्टाहरू धेरै छन्, वैरागी काइँला लगायत । लिम्बु साहित्य स्रष्टा २ सयभन्दा बढी छन् ।

किराती भाषा साहित्यिक इतिहास अनुसन्धाता डा. लाल-श्याकोलु रापचाका अनुसार किराती अन्तर्गत याक्खा भाषामा सात जनाको हाराहारी र कोइँच भाषामा बीसजना जति लेखक-लेखिका छन् । राई समूहको भाषाहरू बान्तवामा स्रष्टा संख्या सयजना नाघ्दो छ भने चाम्लिङ -रोदुङ) मा ८० जनाको हाराहारी छन् । वाम्बुलेमा पचासभन्दा बढी र बाहिङमा बीसजना जति छन् । कुलुङ, खालिङ, दुमी, साम्पाङ भाषामा फुटकर रचनाकार छन् । ‘हिमाली भाषाहरूमा साहित्य सिर्जना गर्ने ज्यादै कम छन्,’ रापचा भन्छन्, ‘शेर्पा भाषा जतिसुकै समृद्ध मानिए पनि धार्मिक कृतिमा धनी छ, तर जनसाहित्य ज्यादै कम छ, संस्कृत भाषाजस्तै ।’

त्यसैगरी गुरुङ भाषा सिर्जनामा ज्यादै पछाडि छ । गोरखापत्र बहुभाषिक पृष्ठमा तमु -गुरुङ) भाषा संयोजक अनिता गुरुङ युवा पुस्तामा मातृभाषा पहिचानको विषय हो भन्ने चेतनाको विकास भए पनि सिर्जनात्मक कार्यमा पछाडि रहेको बताउँछिन् । ‘तमु साहित्य निर्माणमा जागरण कम छ, त्यसैले हामी बढी घटनाप्रधान सामग्री प्रकाशन गर्दै आएका छौं,’ भन्छिन्, ‘सयजना जति गुरुङ लेखक रहेको अनुमान छ ।’

मगर भाषाभित्र तीन थरी छन्, ढुट, खाम र काइके । सबैभन्दा बढी वक्ता रहेको ढुट हो । भाषाशास्त्री बालकृष्ण पोखरेलले २०११ सालतिर ‘कानुङ लाम’ -हाम्रो बाटो) कविता संग्रह प्रकाशन गरेपछि स्वयं मगरले मातृभाषामा लेख्न थालेका हुन् । त्यसयता छिटफुट प्रकाशन भए पनि २०४६ सालयता मगर भाषा लेखनमा जागरण आएको व्याकरण तथा साहित्यकार लोकबहादुर थापा मगर -झुस्या मगर) बताउँछन् । त्यसयता दर्जनौं साहित्यिक कृतिहरू र पत्रपत्रिका प्रकाशनमा आएका छन् । ‘तर साहित्यमा आउन साधनाको खाँचो छ, निरन्तर लेख्नेको खाँचो छ,’ भाषाप्रति प्रेमको जागरण कम रहेको उल्लेख गर्दै भन्छन्, ‘पुरानो बिलाउने र नयाँ आउने अनि रोजीरोटीको क्रममा ती स्रष्टा फेरि हराउने बाध्यता छ । जो भाषा बोल्दैन, ऊ भाषाप्रति बढी श्रद्धा राख्छ, तर भाषा जान्नेहरू त्यत्ति महत्त्व दिंँदैनन् ।’

अर्का साहित्यकार सन्जोग लाफा मगर मातृभाषामा जति पनि स्रष्टाहरू छन्, उनीहरू स्वयंले साहित्य सिजर्ना गर्ने, आफ्नै खर्चमा प्रकाशन गर्ने र आफैं वितरण गर्ने अन्तरआत्मादेखि लागिपर्नेहरू रहेको बताउँछन् । ‘राज्यले बुझ्ने भएको भए यो हालत हुन्नथ्यो । भाषा र साहित्यप्रति राज्यको दृष्टिकोण सामन्ती सोच विद्यमान छ,’ उनी भन्छन् ।

किराती राई समूहमा करिब २८ भाषा छन् । तीमध्ये लाखभन्दा बढी वक्ता रहेको बान्तवा भाषा हो । २०४६ सालपछि लेख्य साहित्यमा अघि बढेको बान्तवा भाषामा करिब चार दर्जन पुस्तक कृतिहरू प्रकाशित छन् । त्यसका आधाजति साहित्यिक कृति पर्छन् । बान्तवा भाषामा ११७ अंक प्रकाशित पत्रिका ‘बुङाखा’ -फूलबारी) मासिक रहेको छ । पत्रिकाका सम्पादक पदम राई दसौं बान्तवा भाषा राष्ट्रिय कविता गोष्ठीको तयारीमा जुट्दै गरेकाले यो भाषा समृद्धितर्फ अघि बढेको छ । लेख्य साहित्यमा भएको अन्य चाम्लिङ, वाम्बुले, कुलुङ, खालिङ, पर्छन् । २०५० सालदेखि निरन्तर प्रकाशनमा रहेको ‘लिब्जु भुम्जु’ त्रैमासिक पत्रिकाले वाम्बुले राई भाषा प्रबर्द्धन गर्दै आएको छ । करिब १४ हजार वक्ता संख्या रहेको वाम्बुले भाषा दर्जनभन्दा बढी साहित्यिक कृति प्रकाशनमा रहेको कोशकार अविनाथ राई बताउँछन् । नेपाल सरकारका उपसचिव राई अवकाशपछि पनि वाम्बुले साहित्यमै समर्पित हुने जनाउँछन् ।

किराती समूहकै कोइँच -सुनुवार) भाषामा अहिलेसम्म पन्ध्रवटा साहित्यिक कृति प्रकाशित भएको लेखक कोइँचबु कातिच -उत्तम सुनुवार) बताउँछन् । ‘सुरुआती कालमा जागरण, अधिकारजस्ता नारामुखी फुटकर रचना प्रकाशित हुन्थे,’ उनी भन्छन्, ‘अहिले मुग्दुम मिथक, लोककथाका विम्बहरू, ग्रामीण परम्पराहरूलाई प्राथमिकता दिइएका कृति प्रकाशन आइरहेका छन् । सरल बोल्य शब्दमा विम्बात्मक प्रयोग बढी छ । रिसाहा देउता, सुँगुर, धान आदि त्यसका उदाहरण हुन् ।’ भाषा बाँच्ने नयाँ पुस्तालाई सिकाएर हो । तर कोइँच भाषामा बालसाहित्य सिर्जना न्युन रहेको उनले सुनाए ।

जनसंख्याको हिसाबले तेस्रो स्थान थारु पर्छन् । थारु भाषाभित्र डगौरा, देसौडी, राना, कठरिया, नवलपुरिया, चितवनिया, कोचिला -पूर्विया र मध्यपूर्विया) रहेका छन् । २०१२/१३ सालमा पहिलो काव्यकृति प्रकाशनमा आएको थियो । अहिलेसम्म कृतिगत रूपमा सयभन्दा बढी कृति र उत्तिनै संख्यामा पत्रपत्रिका प्रकाशनमा आएको थारु लेखक कृष्णराज सर्वहारी बताउँछन् । नयाँ पुस्ताहरू इन्टरनेट, फेसबुकमा थारु भाषाको प्रबर्द्धनमा हौसिएको उनको ठम्याइ छ । ‘गाउँ-गाउँमा जाने, त्यही गाउँको बारेमा थारुमै कविता लेख्ने, सुनाउने, प्रकाशन गर्ने साहित्यिक अभियान जारी छ,’ युवा स्रष्टाहरूका कमजारी औल्याउँदै भन्छन्, ‘लेख्नेमा अध्ययन कम भए पनि उत्साह घटाउनुभन्दा निरन्तर सहभागी गराउने गरिएको छ । विषयवस्तुको कमी छ । कृषि खेतीको परिवेशलाई मात्र विम्ब उतार्नु कमजोरी हो । मोबाइल, इन्टरनेट पुस्ताले त्यही विषय साहित्यमा आओस् भन्ने हो ।’ भाषा साहित्य सम्बन्धी राष्ट्रिय गोष्ठी तथा कार्यक्रम गर्न जरुरी रहेको उनी ठान्छन् ।

साहित्यकार राजभाइ जकःमि नेपाल भाषा -नेवार) बोलीचालीको स्थिति खस्किँदै गएको बताउँछन् । ‘तैपनि भाषिक जागरण, साहित्यिक सम्मेलनहरू जनस्तरबाट भइरहेको छ । तर स्वस्फुर्त भएको छैन,’ मुलुकको भाषानीतिका कारण समाज पछाडि परेको उल्लेख गर्दै उनले भने, ‘जागिर खान, गीत गाउन सबैतिर नेपाली चाहिने भएपछि मातृभाषाहरू ओझेलमा परेका हुन् ।’ मल्ल काललाई नेपाल भाषाको स्वर्णयुग भनिन्छ । उतिखेर राज्यको भाषा, जनस्तरको भाषा नेपाल भाषा थियो । राजामहाराजाहरू स्वयं नाटक, गीत रचना गर्थे । राणाकालसम्म आइपुग्दा नेवार भाषा लेखे, प्रकाशन गरेबापत जेलनेल भोग्ने योद्धाहरूमा सहिद शुक्रराज शास्त्री स्वयं नेपाल भाषाका मातृभाषी साहित्यकार थिए । नेपाल भाषामा कविता प्रकाशन गरेबापत महाकवि चित्तधर हृदय, सिद्धिचरण श्रेष्ठ लगायत सर्वस्वसहित जेल हालिएका थिए । जेलभित्रै उनीहरूले साहित्य सिर्जनात्मक आन्दोलन गरेका थिए । ‘त्यसको तुलनामा अहिले त्यस्ता श्रष्टा पाएनौं,’ राजभाइ भन्छन्, ‘साहित्यकार भएर मात्र नपुग्ने, यदि भाषा नै संकटमा परेको छ भने हरेक साहित्यकारहरू सिर्जनाका साथसाथै भाषिक आन्दोलनमा लाग्नुपर्ने बाध्यता छ ।’

तराईमा बोलिनेमध्ये मैथिली सबैभन्दा समृद्ध मानिन्छ । साहित्यकार रूपा झाका अनुसार मैथिली भाषा साहित्य सिर्जनामा नयाँ पुस्ता जागरुक भएर लागिपरेका छन् । ‘तर सिर्जना क्षेत्रमा महिलाको सहभागिता कम छ, किनभने महिला आफूलाई कमजोर देखाउनु र खुल्न नसक्नु यसको कारण हो,’ भन्छिन्, ‘साहित्यिक गोष्ठी सम्मेलनहरू जति धेरै भइरहेका छन्, त्यत्तिकै रूपमा महिला सहभागिता बढेको छैन ।’ मैथिली भाषा मिथिलाक्षरमा लेखिने भए पनि अहिलेका पुस्ताले देवनागरीमै सिर्जना गर्ने गरेका झा बताउँछिन् ।

तामाङ साहित्यिक एकेडेमीले गएको कात्तिक अन्तिम साता पहिलो तामाङ लेखक बुद्धिमान मोक्तानको ११५ औं जयन्ती मनायो । लिखित तामाङ साहित्यको सुरुआत सन् १९५६ बाट भएको हो । सन्तमान लामाको ‘ताम्बा काइतेन ह्वाई रिमठिम’ लोकसाहित्य थियो त्यो । भाषाशास्त्री तथा तामाङ साहित्यकार अमृत योन्जन तामाङका अनुसार अहिले तामाङबारे चार सय कृति प्रकाशित छन् । तीमध्ये दुई सयवटा साहित्यमा पर्छन् । ‘साहित्यका पाँच विधा कविता, निबन्ध, आख्यान, नाटक र समालोचना हुन्छ,’ योन्जन भन्छन्, ‘तामाङ साहित्यमा महाकाव्य बाहेक सबै छ ।’ हरेक महिनाको चार शनिबार तामाङ साहित्यको कार्यक्रम हुने गर्छ । तामाङ साहित्यको कुनै कार्यक्रम गर्नुपरेमा पाँचौं शनिबार कुर्नुपर्ने अवस्थाले देशभरि करिब चार सय स्रष्टा रहेको पुष्टि गर्छ । सरकारले मुलुकको भाषिक पहिचानका निम्ति २०५० सालमा वैरागी काइँलाको संयोजकत्वमा ‘राष्ट्रिय भाषा नीति सुझाव आयोग’ गठन गरेको थियो । उक्त आयोगको ५८ बँुदामा सुझाव प्रतिवेदन बुझाएको थियो । ती बुँदामध्ये त्रिभुवन विश्वविद्यालयले भाषाविज्ञान विभाग खोलेर देशको भाषाहरूको अध्ययन अनुसन्धान गर्न/गराउनुपर्ने बाहेक अन्य बुँदा कार्यान्वयन गरेको छैन ।

२०५४ सालमा काठमाडौं महानगरपालिकाले नेवारी -नेपाल भाषा), सप्तरीको राजविराज नगरपालिका र धनुषा जिल्ला विकास समितिले मैथिली भाषालाई नेपालीका अतिरिक्त स्थानीय कार्यालयको कामकाजको भाषा बनाउने निर्णय गरेका थिए । त्यस विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो । सर्वोच्च अदालतका न्यायाधीशद्वय कृष्णजंग रायमाझी र टोपबहादुर सिंहको संयुक्त इजलासबाट २०५६ साल जेठ १८ मा उक्त निर्णयलाई बदर गर्‍यो । त्यसपछिका दिनमा मुलुकका आदिवासी जनजातिहरूले जेठ १८ लाई ‘भाषिक कालो दिन’को संज्ञा दिँदै विरोध प्रदर्शन गर्दै आएका थिए । नेपालको अन्तरिम संविधान, २०६३ ‘नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन् । देवनागरी लिपिमा नेपाली भाषा सरकारी कामकाजको भाषा हुनेछ । उपधारा -२) मा जुनसुकै कुरा लेखिएको भए तापनि स्थानीय निकाय तथा कार्यालयमा मातृभाषा प्रयोग गर्न कुनै बाधा पुर्‍याएको मानिने छैन । त्यसरी प्रयोग गरिएको भाषालाई राज्यको सरकारी कामकाजको भाषामा रूपान्तरण गरी अभिलेख राखिनेछ ।’ उल्लेख भएपछि ‘भाषिक कालो दिवस’को सम्झना गर्न छाडिएको छ ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका प्राज्ञिक महाशाखा प्रमुख डा. लाल-श्याँकारेलु रापचा खस भाषाबाहेक अरु भाषामा लेख्नेलाई साहित्य होइनन् भन्ने समाज मनोविज्ञानले घर गरेको बताउँछन् । ‘तैपनि खस इतरका लेखक साहित्यकार जो छौं, साझा प्रयासबाट मरुभूमिमा कुवा बनाउँदै गरेको स्थिति छ,’ आशावादी स्वरमा उनी भन्छन्, ‘किनभने सरकारको अंग आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले मातृभाषा साहित्यकारहरूमा लेखन तृष्णा जगाउनको लागि केही प्रयास गरेको छ ।’ प्रतिष्ठानले आर्थिक वर्ष २०६९/७० बाट भाषा साहित्यमा योगदान पुर्‍याउने पाँच जनालाई ‘राष्ट्र मातृभाषा सेवा पुरस्कार’ प्रदान गर्न सुरु गरेको छ । यो वर्षबाट पुरस्कारको राशि जनही ५० हजार रुपैयाँ दिइदै छ । प्रतिष्ठानले यसैपटक नियमित कार्यक्रम अन्तर्गत भाषा साहित्यसहित विभिन्न पाँच विधाका पाँच जनालाई जनही १ लाख रुपैयाँको ‘आदिवासी राष्ट्र गौरव पुरस्कार’ प्रदान गर्नेछ । ‘आदिवासी प्रज्ञा पुरस्कार’को प्रस्तावसमेत अघि बढाइएको जनाइएको छ ।

प्रतिष्ठान ऐन २०५८ लागु भएयता हरेक वर्ष मातृभाषा साहित्यका कृति प्रकाशन सहयोग गर्दै आएको छ । जसले गर्दा मातृभाषा लेखकहरूमा हौसला मिल्यो । यस वर्षबाट भने सीमित स्रष्टा, अनुसन्धाताका कृति प्रतिष्ठान आफैंले प्रकाशन गर्ने तयारी गरेको भाषाशास्त्री रापचाले जनाएका छन् । भाषाशास्त्री प्राध्यापक माधव पोखरेल भाषावैज्ञानिकले कुनै पनि भाषाको विविध पक्षबारे अनुसन्धान गर्छन् । ‘ती भाषा बचाउन वर्णमाला, शब्दकोश, व्याकरण बनाउँछन्, अनि पढाउने व्यवस्था गर्छन्,’ उनी भन्छन्, ‘प्रयोग क्षेत्र विस्तार गर्छन् । तर मुलुकको भाषा नीति महत्त्वपूर्ण कुरो हो । सम्बन्धित मातृभाषी र सरकार तत्पर रहेन भने हुँदैन ।’

नेपाल प्रज्ञा-प्रतिष्ठान मातृभाषा साहित्य विभाग प्रमुख श्रवण मुकारुङ भाषा बचाउन सम्बन्धित भाषामा रहेको साहित्य सिर्जनालाई जोड दिनुपर्ने ठान्छन् । ‘साहित्य विना कुनै पनि भाषा बाँच्दैन,’ भन्छन्, ‘कुनै पनि भाषा बचाउन सिर्जनात्मक लेखनमा अझ बल दिनुपर्छ । र अर्को त भाषा बाँच्ने भनेको राज्यले अवसर सिर्जना गरेर हो । जसरी रोजगारी पाउने भएपछि नेपाली युवाहरूले कोरियन भाषा सिकेका छन् ।’ तर मुलुकको भाषा, साहित्य, संस्कृति, इतिहास बचाउने प्रतिष्ठानसित नेपालीबाहेक अन्य भाषा बचाउने बजेट छैन । अवसरको विषय त सोचिएकै छैन । यद्यपि संघीय संविधान बनेपछि सबै विकेन्दि्रत हुँदैगएमा मातृभाषी स्रष्टाहरूको योगदान र कदर हुनसक्छ भन्ने मुकारुङ ठान्छन् । ‘हरेक संघराज्यमा यस्तै एकेडेमीहरू खुल्लान् । ती एकेडेमीहरूमा मातृभाषी स्रष्टाहरू अटाउँदै जालान् । त्यो पनि हामीले कल्पना गरौं,’ भन्छन् । भाषाशास्त्री प्राध्यापक डा. नोवलकिशोर राई भूमण्डलीकरणको आँधी व्याधीमा आफ्नो भाषा र संस्कृति पुस्तान्तरण गर्न नसके ‘चिनारी’ हराउने उल्लेख गर्छन् । त्यसैले यो सुनामीबाट बचाउने आफ्नै भातृभाषामा कुरा गर्ने, गीत गाउने, कूलपितृ र देवीदेवता पूजा गर्ने, रचना गर्ने, आफ्नै भाषामा आफ्नो स्थान, नाम, बोटवृक्ष, पशुपन्क्षी र जीवजन्तुका नाम सम्झने अनि आफ्नै भाषामा कल्पना गर्ने र सपना देख्ने अभ्यास पनि गर्न सक्नुपर्ने बताउँछन् ।

भाषाशास्त्री तामाङ भावी संविधानमा नेपालको भाषानीति बहुभाषिक हुनुपर्नेमा जोड दिन्छन् । नेपाली या अंग्रेजीको सट्टा प्रान्तीय भाषा बढी प्रयोग हुनसक्छ । प्रान्तीय भाषा प्रान्त सरकारले प्रयोग गर्छ । पहिलो, मातृभाषामा पठनपाठनदेखि सरकारी क्षेत्रसम्म प्रयोग हुन पाउनुपर्छ । दोस्रो, त्यस क्षेत्रको सम्पर्क भाषा लेखपढ या अध्ययन गछर््र । तेस्रो, प्रान्तीय वा केन्द्रीय या अन्तर्राष्ट्रिय भाषा पढ्नुपर्छ । मातृभाषी नागरिकले लोकसेवा, न्यायालय, आमसञ्चार, स्वास्थ, सरकारी सूचना, सपथग्रहण जस्ता कार्यमा उसले इच्छाएको भाषामा हुनसक्ने उनको सुझाव छ । यद्यपि मुलुकको भाषा, संस्कृति बचाउन पहिलो दायित्व सम्बन्धित मातृभाषी समुदायकै हो उनीहरू नबोले कसैले बोलिदिने छैन ।

लेखक – गणेश राई
(इकान्तिपुरमा २०७१ मंसिर २६ प्रकाशित भएको लेख )






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution