हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

‘नाम्दुङ ङ्ह्या’ चैत्र पुर्णिमा(तामाङ/तेमाल जात्रा) को धार्मिक महत्व

LamaT

लामा टि. ग्याल्छन

तामाङ जातिको संस्कृतिमा नाम्दुङ ङ्ह्या (चैत्र पूर्णिमा) को ठूलो धार्मिक महत्व रहेको देखिन्छ । त्यसो त तामाङहरुको ताम्बा (कथावाचक) को ताम्बा काइतेन (ताम्बाका वचनकृति) मा रोङला ने सुम (पर्वतीय क्षेत्रका तीन तिर्थस्थहरु) भनि स्वयम्भूनाथ, बौद्धनाथ र नमोबुद्धलाई प्रष्टसँग तोकको छ जुन तामाङ जातिको परम्परागत साँस्कृतिक निर्देशीका पनि हो । लाङरु लुङतेन (आर्य गौश्रृङ्ग व्याकारण महायान सूत्र) नामक ग्रन्थमा सिङ्गोन छ्योर्तेन (स्वयम्भू चैत्य) को उत्पत्तिबारे उल्लेख गरेका छन् । त्यसैगरी नेवारी बौद्ध समुदायभित्र यसलाई ‘स्वयम्भू पुराण’ भन्ने गरेको पाइन्छ । हिमाली बौद्ध समुदायभित्र यो कथा तिब्बती भाषामा अनुदित भई प्रचलनमा रहेको छ । नेवारीमा भने मूल संस्कृत रुपमा पनि रहेका छन् । तिब्बतमा बुतोन लामा (सन् १२९०–१३६४) ले तिब्बतीमा अुनदित धेनोइद सुम (त्रिपिटक) बुद्ध वचनका संग्रह, थेग्छेन दो (महायानी सूत्र) र ग्युद् (बौद्ध तान्त्र) का पुस्तकहरु सबैको पार (काठेछाप) कुँदेका थिए । त्यसो गर्दा उनले मूल पाली र संस्कृतको आधारमा सुद्धासुद्धि पनि राम्ररी सच्याएको काङ्ग्युर (वचन अनुवाद ग्रन्थ) को अनुवाद सूचिमा बताएका छन् । उनै बुतोन लामाले लोक व्यवहारमा छोटकरीमा बौद्ध सूत्र पाठ गराउन सजिलो हुने गरी एक ठेली दोमाङ (बहुसूत्र) नामक पुस्तक संग्रह गरी त्यसको पनि पार निर्माण गरेका थिए । उक्त संकलन दोमाङ भित्र पनि स्वयम्भू पुराण संकलति छन् । त्यसैगरी ताक्मोल्हुइजिन (नमोबुद्ध) को जातक कथा पनि दोमाङभित्र संकलित छन् । त्यस भन्दा पूर्वकालमा हस्तलिखित पुस्तक भएकोले सार्ने क्रममा शब्दिक त्रुटी र व्याकरणीक गल्ति एवं घटीबढी पनि हुने गथ्र्यो ।

१. स्वयम्भू पुराण संक्षिप्त वर्णन

भगवान बुद्धले बुद्धतत्व प्राप्त गरेपछि एक समय बैशाली क्षेत्रका राजगृहमा ज्याङछ्युपसेम्पा ज्याम्पा (बोधीसत्व मैत्रीय), आदि बोधीसत्वहरु, नेतेन स्यारिबु (स्थवीर सारीपुत्र) र म्होगल (मौत्गाल्यान) आदि हजारौं महाश्रवणहरु, लाछाङ्पा (व्रम्ह), ग्याजिन (ईन्द्र) आदि देवताहरु र वैश्रवाण र कुवेर आदि छ्योकक्योङ (लोकपालहरु), लुइग्याल्पो (नागराजहरु), शक्तिशाली यक्षहरु, सिसाइ ग्याल्पो (गन्धर्वराज), मिहामहिन ग्याल्पो (किन्नरराज) र जम्बुदीप (भारतवर्ष) का राजा सुगच्यान निङ्पो (विम्बीसार) सहित एकै स्थानमा भेला भएका थिए । सोही बेला भगवान बुद्धले भविश्यको कुशल देशलाई अनुभूति गर्नुभई अनुयायीहरुलाई भन्नु भयो– ‘आयुसमानहरु हो ! गौश्रृङ्ग पर्वतको नजिकको गोमा नदीको तटमा मुनि महाऋषिको भवन (चैत्य) गोमा शालगन्ध भनिने एउटा छ । जहाँ अनिवार्य रुपमा गर्नु पर्ने कार्य छ । त्यहाँ जाने बेला भयो ।’ त्यसपछि भगवान बुद्ध आफ्ना सबै अनुयायीसहित आकाशमा उडी गौश्रृङ्ग पर्वततर्फ लाग्नु भयो । त्यहाँ पुग्नुभई भगवान बुद्धले ध्यानमुद्रामा आसन जमाई देसिनसेक्पा (तथागत) को सहस्रहजार समाधिरत हुनुभई आफ्नो अनगिन्ति कल्पदेखिको मोलाम (प्रणीधान) र सोइनाम (पुण्य) प्रत्यक्ष लाभ गर्नु भयो । साथै भगवानले गौश्रृङ्ग पर्वत, कुशल देश (पूण्य भूभि) र स्वर्णमण्डलदेखि लोक–संसारको टुप्पो (स्वर्ग) सम्मै प्रसादित गर्नु भयो । साथै पुण्य भूमि, पुण्य मन्दिर, पृथक संघहरुको आनन्द कुटी, विहार र देवस्थलहरु र त्यस देशमा पुण्य कमाउने राजाहरु धर्ममा आस्था राख्ने दानपति र लियुल (काश्य देश) सबैको भविश्य बताउनु भयो । त्यस समय बोधिसत्व महाशक्तिले साङ्गे होइसुङ (काश्यप बुद्ध) को चैत्यको नजिक बस्नु भई भविश्यमा त्यस देशमा आफूले स्वरुप निर्माण गर्न भूमिलाई प्रसादित गर्नु भयो । त्यस्तै बोधिसत्व ज्याम्पलस्युनु (कुमार मञ्जुश्री) ले पनि विहार निर्माण हुने स्थानलाई प्रसादित गर्नुभयो । त्यस्तै अन्य बोधिसत्वहरु चेङ्रेस्हि (लोकेश्वर), न्हामखाइनिङ्पो (क्षीतीगर्भ), भैषाज्यराज, कुन्दुसाङ्पो (समन्त भद्र) आदिले पनि आ–आफ्नो प्रणिधान सम्पन्न गरे । बोधिसत्वहरु र महाअर्हन्तहरुले त्यसपछि अनेक ज्योति किरणहरु सम्प्रेषण गरी महादृष्य फैलाए । त्यतिनै बेला ठूलो तलाउभित्र तीनसय पचासवटा कमलका फूलहरु प्रकट भए । एक–एक कमलको फूलमाथि बुद्ध र बोधिसत्वहरुको स्वरुप प्रकाशसहित प्रकट भए । भगवानले अनुयायीहरुलाई यो भविश्यमा यहाँ त्यत्ति नै संख्यामा विहारहरु बन्ने संकेत हो भनि बताउनु भयो । त्यसरी नै सिम्बु छ्योर्तेन (शालगन्ध चैत्य) को राब्ने (प्राण प्रतिष्ठान) पूर्वकालका बुद्धहरु विपश्वी शीखी र विश्वभुक आदिले गर्नु भएको थियो । भविश्यका एकहजार एक्काइस भागवान बुद्धले पनि स्वयम्भू चैत्यको प्राणप्रतिष्ठान गर्नु हुनेछ । आहिले समय आएकोले मैले पनि प्राणप्रातिष्ठान गरेँ ।

भगवानको आज्ञानुसार स्थवीर सारीपुत्रा र देवराज वैश्रवणले तलाउको पानी सुकाएर शालगन्ध चैत्य (स्वयम्भू) गौश्रृङ्ग पर्वत र लीयुल देख्न सक्ने बनाए । यस काश्यप चैत्य र स्वयम्भू चैत्यको पूजापाठ, परिक्रमण र सेवा गर्नाले पुण्य धर्म अपरम्पारको हुने र देशमा पनि शान्ति हुने भविश्यवाणी गर्नु भयो । धर्मपालक राजाहरुले पनि पापीलाई दण्ड दिने, धर्मकोष नमास्ने र भीक्षुक साधुशन्तलाई सत्कार गरुन्जेल यो देशलाई कुनै शक्तिले पनि कुभलो गर्न नसक्ने वचन पनि दिनु भयो ।

अभिश्यमा यस देशमा डुगुरहरु, सुम्बाहरु, होरहरु, भोटहरु र भारतीयहरु र अन्य अनास्थाकारीहरु पनि आक्रमण गर्न आउने छन् । त्यस बेला अष्ठमहादेवहरुले यो पुण्य भूमिको रक्ष गर्नेछन् । तर, रक्षक देवतागणहरुले कलियुगमा मानिसहरु घोर पापीजन हुनगई पुण्य धर्म कमजोर भएको बेला हाम्रा (देवतागण) पनि शक्तिह्रास हुने हुँदा भगवानले हामीलाई विशेष थप शक्ति प्रदान गरियोस भनि भगवानसँग प्रार्थना गरे । भगवानले तथास्तु गर्नु भयो । अन्तत भगवानले महाकरुणाले सर्वव्यापी प्रकाश फैलाउनु भई पानी भित्र पुऱ्याई जलमा रहेका प्राणीहरुले आत्म शुद्ध पारी जलभित्र त्यो प्रकाश पुन: फर्काएर दश दिशाको बुद्धलोकहरुमा व्यप्त गराए । त्यो प्रकाश पुन: फर्काएर बोधिसत्व जगत, महाश्रवणहरुको जगत प्रसादित गरी तलाउमा प्रकट भएका कमलका फूलमाथिको बुद्धका स्वरुप र तिनका प्रकाशसँग सम्मिलन गराई आकाशतर्फ गई लियुल सबैतिर दैवीपुष्प वर्षिए । ती दैवीपुष्प परस्पर स्पर्श हुँदा बुद्धधर्मका सबै ज्ञानगुणहरु शब्दमा गुञ्जाएमान हुन आयो । (भगवानले त्यसो धर्मदेशना भएपछि सम्पूर्ण अनुयायीहरु प्रसन्न भई प्रशंसा गर्नु भयो ।)

पुस्तकमा भगवान बुद्धभन्दा पहिलेका चारवटा बुद्धले स्वयम्भू चैत्यको प्राण प्रतिष्ठान गरेको उल्लेख भएबाट त्यस भन्दा अघिका साङ्गे ल्होक्परदेसेल (क्रक्रुछन्द बुद्ध), साङ्गे खोरवाजिग (क्रकुदसुन्द बुद्ध), साङ्गे सेरथुब (कनकमुनि बुद्ध) र साङ्गे होइसुङ (काश्यप बुद्ध) बारे केही वताएको छैन । तर ‘काश्यप चैत्य’ गौश्रृङ्ग पर्वतमा रहेको उल्लेख छ । भविश्यमा लियुलमा आक्रमण गर्न आउने वा प्रवेश गर्ने भनिएका मध्ये ‘डुगुर’ भनिएको डुगु ग्याल्सा (डुगु राज) का डुपा थरीय तामाङ र ‘सुम्पा’ भनिएको सुम्बा ग्याल्सा (सुम्पा राज) का बज्यु थरीय तामाङ रहेको अनुमान हुन्छ । (ताम्बा काइतेन/रुइछेन चोप्गेला व्हाइ पृ. १९ र २०, सन्तवीर लामा, २०६९ रत्न पुस्तक भण्डार) ‘होर’ भनिएका चाँही मंगोल हुन् । तिब्बतीलाई भोद् (भोट) भनिएको छ । अन्य उग्र अनास्थाकारीहरु पनि आउने छन् भनि भविश्यवाणी गरेको पाइन्छ । साथै नेपाल खाल्डो ‘पुण्य भूमि’ (युल गेवाच्यान)=‘लियुल’=काश्य देश भनि सम्बोधन पनि गरेका छन् । स्वयम्भू चैत्यको नाम ‘चैत्य शालगन्ध’ र गोमानदीको तटको चैत्यको रुपमा वर्णन गरिएको छ । नेसेद भनिने तिर्थाटन निर्देशिकामा भने स्वयम्भूनाथलाई ‘सिङ्गोन’, ‘सिङ्कुन’ पनि लेख्ने गरेको र बोलीमा ‘सिम्बु’ पनि भन्ने गरेको पाइन्छ । उहिलेको प्रसिद्ध लामाहरुले भने स्वयम्भूको प्रार्थनाश्लोकमा राङज्युङ छ्योर्तेन भनि सम्बोधन गरेका छन् ।

२. स्वयम्भू जात्रा र श्रद्धार्पण

स्वयम्भू (सिम्बु) धार्मिक मेलमा तामाङहरुले प्रमुख रुपमा पितृहरु र मृतकको नाममा धार्मिक विधि सम्पन्न गरी आफ्ना पितृहरु र मृतकहरुप्रति म्होइबा (श्रद्धार्पण) गर्छन् । अर्को पक्ष नेकोर (तिर्थव्रत) पनि हो । जुन कुनै पनि धार्मिक समुदायले गर्ने गर्छन् । हिन्दू धर्मवालम्वीहरुले काशी र चारधाम अनि कैलाश मानसरोवरको श्रद्धार्पण र तिर्थाटन, मुस्लिमहरुको मक्कामदिनाको तिर्थाटन, क्रिश्चियनहरुको येरुशलेम र भेटीकनसिटी र बौद्धजनको नेपालको लुम्बिनी, भारतको बुद्धगया, सारनाथ र कुशीनगर, सिखहरुको स्वर्णमन्दिर जस्ता तिर्थास्थलहरु पवित्र स्थान हुन् । प्रत्येकले आ–आफ्नो पवित्र स्थानको दर्शन र पूजन गर्ने गर्छन् । तामाङ समाजमा हिमाली क्षेत्रको तीन तिर्थस्थलहरु कैलाश मानसरोवर, दोलखा जिल्लाको लाप्ची ने (गोदावरी पर्वत) र चरि ने (चरी पर्वत) तिब्बत–चीन प्रमुख तिर्थसथलहरु हुन् । त्यस्तै नेपालको सिम्बु (स्वयम्भूनाथ), खास्योर (बौद्धनाथ) र ताक्मोल्हुजिन (नमोबुद्ध) काभ्रे पवित्र स्थल भनि ताम्बाले तोकेका छन् । जुन अवधारणा र दृष्टिले गर्दा यी पवित्रस्थलहरुको महत्व अन्यहरुका जस्तै उच्चतम हुने गर्दछन् । प्राचीन बोन संस्कृतिमा पनि हिमालय शिखर, पर्वतका चुचुरो, अनकन्टार भीरपाखाहरुलाई र नदीका देभानहरुलाई देवी–देवताका वासस्थान मान्ने गर्थे । जसलाई ला नेपा ग्ला (देवता बसेको स्थान), लु छ्यापा ग्ला (नागको बासस्थान) भन्ने गर्थे । त्यस्तै ला जाङ/झाङ (देवताको गुँड) र लु जाङ (नागको गुँड) पनि भन्ने गर्छन् । त्यसमध्ये बुद्धका तिर्थस्थलहरुलाई विशेष महत्व दिने गर्छन् किनकी त्यो मोक्ष वा निर्वाणका मार्गसँग सम्बन्धित छन् । त्यो आध्यात्मिक चिन्तनको निचोड हो ।

(क) छ्योर्तेनको इतिहास

बौद्धधर्ममा छ्योर्तेन (चैत्य) लाई साङ्गेला थुतेन (बुद्धको चित्त/दर्शन) कै प्रतिक मानिन्छ । यसले विश्वव्रम्हाण्ड र बौद्धधर्मका चार आर्यसत्य (दुख सत्य, समुदाय/कारण सत्य, निरोध सत्य र मार्ग सत्य), आष्टाङ्गीमार्ग (सम्याक दृष्टि, सम्याक संकल्प, सम्याक वचन, सम्याक कर्मान्त, सम्याक जीविका, सम्याक व्याम, सम्याम स्मृति र सम्याक समाधी) तीन शिक्षा (शिल, समाधी र प्रज्ञा), छ पारमीता (दान पारमीता, शिल पारमीता, क्षान्ति पारमीता, विर्य पारमीता, ध्यान पारमीता र प्रज्ञा पारमीता) र दश भूमि (प्रमुदिता, विमला, प्रभाकारी, अर्तिश्मती, सुदुर्जया, अभिमूखि, दुरङ्गमा, अचला, शाधुमति र धर्ममेघा) सबैको प्रतिनिधित्व गर्दछ । यसको धार्मिक–कलात्मक संरचाना भगवान बुद्धकै प्रतिक हुन् । सामान्यतय: बुद्धको प्रतिमाहरु साङ्गेला कु (बुद्धको काय/शरीर) को, काङ्ग्युर (त्रीपिटक) स्हुङ (वचन) को र छ्योर्तेन (चैत्य) चित्तका प्रतिक मानिन्छन् ।

भगवान बुद्धको महापरिनिर्वाण पश्चात भगवान बुद्धको रिङसेल (अस्थिधातु) गर्भगृहमा राखी स्तुप (थुम) बनाएर पूजन गर्ने गरे । तात्कालिन राजामहाराजहरुले आफूहरु क्षत्रीय कुलका वंश हौं भन्दै अस्थिधातु पाउन दावी गरेपछि मल्ल, शाक्य, लिच्छवी आदि आठ राज्यका राजकुलहरुले अस्थिधातु आठभागमा विभाजन गरी आ–आफ्ना स्थानमा लगि स्तुप बनाई पूजन गरे । कुनै राजपुतहरु अस्तु बाँडीसकेपछि आएको हुँदा खारानी र कोइलासमेत लगेर स्तुप निर्माण गरे । एकजना व्राम्हणले भगवानको अन्त्यष्टी क्रियामा सजाएको ‘कलश’ लगेर पनि ‘कलश स्तुप’ निर्माण गरेका थिए । खरानी, कोइला र कलश राखेर बनाएका स्तुपहरु भने ‘आठ स्तुप’ भित्र गणना गरिएन । महायानी बौद्ध सम्प्रदायको विकास भएपछि आठ स्तुपले चैत्यको कलात्मक स्वरुप ग्रहण गऱ्यो । त्यो भगवान बुद्धको जीवनलीलाको महत्वपूर्ण घटनाहरुसँग सम्बन्धित छन् ।

सम्राट अशोकले भारतवर्षका विभिन्न स्थानहरुमा दशहजार स्तुपहरु निर्माण गरेका थिए । ती स्तुपहरु पुरानो आकारप्रकारमा बनाएकोले पछिल्लो समय त्यसलाई ‘अशोक शैलीको स्तुप’ भन्ने गरियो । ललितपुर पाटनमा अशोक शैलीको स्तुप प्राचीन सम्पदाको रुपमा विद्यमान छन् । अशोक सम्राटको ‘अशोक स्तम्भ’ पनि ऐतिहासिक महत्वको मानिन्छ जसको शिर्षस्थानमा लाङ (वृषभ/साँढे), ता (अश्व/घोडा), माप्च्य (मयुर/मजुर) र सिंगि (सिंह) को आकृति र छ्योइकिखोर्लो (धर्मचक्र) को प्रतिक कुँदिएका हुन्छन् । लुम्बिनीको ‘अशोक स्तम्भ’ पनि त्यस मध्ये एउटा हुन् ।

महायानीहरुले भगवान बुद्धको विभिन्न लिलाहरु अंकित गर्न चैत्य निर्माण गरे । बोधीज्ञान लाभका लागि (१) ज्याङछ्युप छ्योर्तेन (बोधी चैत्य), धर्मचक्र प्रवद्र्धनका लागि (२) छ्योइखोर छ्योर्तेन (धर्मचक्र चैत्य), मार–दमनका लागि (३) धुइदुल छ्योर्तेन (मार–दमन चैत्य), बुद्धले आफ्ना माता मायादेवीलाई तुषित लोक (स्वर्ग) मा गई धर्म देशना गर्नु भई पृथ्वीमा अवतारणका लागि (४) ल्हबप छ्या्र्तेन (अवतरण चैत्य), बौद्धमतमा विमति जनाउने तिर्थाङ्कार (जैन) हरुलाई ऋद्धि प्रदर्शन गरी सद्धर्ममा समावेश गरेको (५) छ्योठुल छ्योर्तेन (ऋद्धि चैत्य), कुमार देवदत्तले भिक्षुसंघलाई विवादमा तानी संघभेदन गरकोमा भगवानले संघलाई एकतावद्ध गरेको (६) एन्दुम छ्योर्तेन (विभेद एकता चैत्य), अर्को (७) पेपुङ छ्योर्तेन (पद्याससन चैत्य) र भगवान महापरिनिर्वाण भएको (८) ङ्याङ्दे छ्योर्तेन (महापरिनिर्वाण चैत्य) गरी आठवटा छन् । स्वयम्भू चैत्य, बौद्धनाथ चैत्य र नमोबुद्ध चैत्य ज्याङछ्युप छ्योर्तेन (सम्बोधी/बोधी चैत्य) को आकृतिका छन् । महायानीहरु ज्याङछ्युप छ्योर्तेनलाई सर्वोतम मान्दछन् । ‘बोधी चैत्यको निर्माण, परिक्रमण, पूजन, प्रार्थणा र मर्मत सम्भार (लिपपोत) गर्नाले ठूलो पुण्य लाभ हुन्छ’– बौद्ध सूत्रमा उल्लेख गरेका छन् । त्यसकारण तामाङ बौद्धजनहरुले मृतकको नामका पनि बुद्धको कायको प्रतिक कुतेन (बुद्धमूर्ति), वचनको प्रतिक सुङतेन/छ्योइतेन (बुद्ध वचन) र चित्त (हृदय) को प्रतिक छ्योर्तेन (चैत्य) निर्माण गर्ने गर्छन् । कसैले कुतेनको रुप (स्वरुप) मा थाङ्का (पौभ) पनि लेखाउने गर्छन् ।

(ग) स्वयम्भू पूर्णिमामा पूजा प्रकृयाहरु

स्वयम्भू मेला भर्ना आउने भक्तजनहरुले आ–आफ्ना औकात अनुसार मृतकको नाममा पूजापाठ गर्ने गर्छन् । पूजाका लागि कसैकसैले गाउँबाटै आफ्नो पुरोहित लामा साथमै ल्याउँछन् भने ल्याउन नसक्नेले अन्य लामालाई सुम्पिने वा स्वयम्भू पुरानो घ्याङमा गई पूजा विधि सम्पन्न गर्ने गर्छन् । सामान्य रुपमा भक्तजनहरुले सम्पन गर्ने विधिहरु (१) ग्याछार म्राबा/फुल्बा (एकसय आठवटा दीप प्रज्वलन गर्ने/अर्पण गर्ने), (२) कुकार/रिङसेल म्राबा (मृतको अस्थिधातु सेतो चोखो कपडामा धूलो पारी घिउ मुछेर बाल्ने), (३) छो फुल्बा (गणपूजा भनि देवमण्डलमा तान्त्रिक विधिले पूजा गर्ने), (४) मोलाम लाबा (लामा पुरोहितलाई प्रार्थना गर्न लगाउने) र (५) ङोवा लाबा (मृतक पूर्खाहरुको नाम उच्चरण गरी विधिपूर्वक पूण्यपरिणामन गर्ने) गर्छन् । पाँचौ वा अन्तिम विधि चाँही बत्ति बालेर दक्षिणा चढाइ सबैले गर्ने गर्छन् । छ्योर्तेनको परिक्रमण गर्ने, दण्डवत गर्ने र दीप प्रज्वलन गरी पूर्खाको सम्झना, शान्तिको कामना र आफूले चिताएको पुरा होस् भनि कामना सबै भक्तजनहरुले गर्ने गर्दछन् ।

३. ‘नाम्दुङ ङ्ह्या’ नै किन ?

पितृहरुको उद्धार र स्वयम्भूनाथको दर्शन, परिक्रमण र पूजन गर्ने तिथि नाम्दुङ ङ्ह्या (चैत्र पूर्णमा) लाई नै किन चुनियो त ? यसको इतिहास र परम्पराको खोजि गर्न थालेका छन् । यो तामाङ समुदायको चेतना वृद्धि हुँदै आएको संकेत पनि हो ।

व्यवहारमा तामाङहरुले आफूले मान्ने गरेका गोने ङ्ह्या (श्रावण पूर्णिमा), साउने संक्रान्ति, माघे संक्रान्ति (नयाँ वर्ष=सूर्य पात्रो), वडा दशैंहरुमा पितृको नाममा ङोवा लाबा (श्रदार्पण) गर्ने प्रचलन छ । पहिले राज्यप्रदत्त मान्यता अनुसार चैत्र दशैं सबैले मान्ने गरेका थिए । तर, मराव परि सूतकका परेकाहरुले उक्त वर्षको दशैं पर्वमा मृतकको अस्तु स्वयम्भू=बौद्ध तिर्थस्थलमा लगेर सेलाउने र मृतकको नाममा ङोवा–मोलाम (परिणामन–प्रणिधान) गराउन थाले । आमजनले भने घर–घरमौ लामा (पुरोहित) ल्याएर पनि विधि अनुसार पूर्खाको नाममा ङोवा गर्ने गरे । इच्छुकहरुले तिर्थस्थलहरु वा घ्याङ (गुम्बा) हरुमा गएर पनि गरे । यो प्रचलन अद्यावधी कायमै रहिआएको छ । चैत्र दशैं चन्द्रशमशेरको पालामा आश्वीन–कार्तिकमा सारिए । तथापि पुरानो चैत्र पूर्णिमाको स्वयम्भू चैत्यको ङोवा–मोलाम परम्परा भने यथावत रहन गयो र अश्विन–कार्तिको वडादशैंका बेला पनि ङोवा–मोलामको प्रचलन प्रारम्भ भयो । चैत्र पूर्णिमाको ङोवा–मोलाम चाडवाडमा पितृजका नाममा गर्ने त्यही धार्मिक आस्थाबाट प्रेरित परम्परा हो भन्ने गरिन्छ । तर, अहिले आएर केही तामाङ विद्वानहरु बौद्ध–स्वयम्भूनाथ चैत्यको राब्ने (प्राण–प्रतिष्ठान) को तिथि वा बुद्ध जयन्तिको रुपमा यो परम्परा कायम हुन आएको हुन सक्छ भन्ने तर्क पनि प्रस्तुत गर्ने गरेका छन् । तथापि बौद्ध तन्त्रमा बुद्ध तथा देवतागणको पूजापाठ शुक्ल पक्षमा गर्ने र शक्तिदेवीहरुको भने कृष्णपक्षमा पूजापाठ सम्पन्न गर्ने गर्दछन् । त्यसकारण भगवान बुद्धको मूर्तिहरु, बुद्ध वचनहरु र चैत्यमा पूज्ने र पितृलाई श्रदार्पण गर्ने शास्त्रीय र सामाजिक मान्यता अनुसार नाम्दुङ ङ्ह्या (चैत्र पूर्णिमा) लाई तामाङ समाजले व्यवहारमा ल्याएको मान्नु पर्ने देखिन्छ । त्यस्तो सन्देश लामाहरुले नै सम्प्रेशण गरेको मानिन्छ नभए विशिष्ट खालको कुनै ‘धार्मिक पर्व’ हाल प्रचलनमा रहेको लामा–पात्रोमा चैत्र महिना भित्र उल्लेख गरेको पाइन्न । तर, बुद्ध जयन्तिको तिथि भने तिब्बतीहरुले जेठमा मान्ने गरेका छन् । त्यो चन्द्रपात्रोको तिब्बती गणना पद्धतीमा शुक्लपक्षको प्रतिपदाबाट महिना फेर्ने व्यवस्था गरेकाले भ्रम सिर्जना भएका हुन् नभए ‘सागा धावा’ भनिने तिब्बती जेठ महिनालाई अरुले ‘बैशाख’नै मानेका छन् ।

थेरवादी पद्धती र आधुतिक इतिहासवेत्तका अनुसार बुद्ध जयन्ति अहिले २५२९ औं हुन आउँछ । तर, तिब्बतीहरुले २९७५ औं भन्ने गर्छन् । यी दुई बीच चारसय चानचुन वर्षको फरक पर्न आउँछ । त्यी ज्योतिषशास्त्रका पृथक मत हुन् जुन दोषरहित छैनन् ।

काश्मीरका महापण्डित शाक्यश्री भद्र (सन् ११४५–१२४३) तिब्बतमा जानुभई बौद्धधर्मको ठूलो प्रचार गर्नु भयो । उहाँकै भारतीय चन्द्रपञ्चाङ्गको नक्षत्रीय वर्ष गणना पद्धति र चीनीय तत्वज्योतिषको चन्द्रपात्रोसँग सम्वतसर मिलाउने क्रममा महिना र वर्षहरु तलमाथि पर्न गएको मानिनु पर्ने देखिन्छ । भोटमा चीनीयँ पात्रो र भारतीय पात्रो (ज्योतिषीय मत) समायोजन गर्न धेरै लामाहरुले बौद्धिक प्रयास गरेको देखिन्छ । आधिकारीक क्षेत्र राज्यको मान्यता प्रभावशाली हुने हुँदा ती प्रयासहरु असफल भएको मानिन्छ । नेपालमै पनि मानदेव सम्वत्, नेपाल सम्वत् र शाक सम्वत्को प्रचलन पनि रहेको थियो । पछि चन्द्र शमशेरको पालादेखि विक्रम सम्वत् आधिकारीक सम्वत् मान्दै आउन थाल्यो । ल्होछार (नयाँवर्ष) को सवालमा पनि त्यस्तै हुन गएको हो ।

४. स्वयम्भूनाथको पुरानो घ्याङ

स्वयम्भू पुरानो घ्याङ गुठी घ्याङ हो । यो भूटानको धार्मिक प्रतिनिधि (धार्मिक मिशन) सँग पनि सम्बन्धित छ । विपीनदेव ढुङ्गेल ‘हिमाल चुली’ (सन् १९८५, २२ जुन) मा प्रकाशित अभिलेख अनुसार सन् १६२४ र सन् १६४० गरि दुई पटक भुटानका स्याबड्रुङ नामगेल गोरखाको भ्रमणमा आएका थिए । गोरखा भुटान बीचको सम्झौताको स्मरण स्वरुप नकथली घ्याङ (रसुवा) निर्माण भएको देखिन्छ । सोही बेला नै गोरखाबाट विभिन्न जातका दुई कोरी घर परिपरिवार आफ्नो साथमा भुटान लगिएका थिए । त्यस्तै तत्कालीन नेपाल खाल्डोका राजा शिवसिंह मल्लसँग पनि मैत्रीसम्बन्ध राखी भुटानका जोङ्–घ्याङको मूर्ति निर्माण गर्न बाँडा र कर्मीहरु पनि लगेका थिए (हिरण्यलाल श्रेष्ठ, भुटानमा बौद्धधर्म र नेपाल सितको सम्वन्ध, ….) । स्वयम्भू पुरानो घ्याङको निर्माण भने भुटानको दोस्रो धार्मिक प्रतिनिधि जेचुन धाम्छ्योइ पेकर (भट्टाराक सद्धर्म पुण्डारिका) जो स्वयम्भूनाथमा (सन् १६९७–१७०७ सम्म) कार्यरत रहेका थिए । उनैले उक्त पुरानो घ्याङको निर्माण गरेका हुन् । अहिलेको संरचना चाँही एकताका अग्निप्रकोप भएपछि पुननिर्माण गरेका हुन् । उक्त पुरानो घ्याङ अन्तर्गत दोलखाको चरी घ्याङ र विर्ता घ्याङ (हाल अस्तित्वमा नभएको), रामेछापको पुडी घ्याङ र डोङ्मे घ्याङ, सिन्धुपाल्चोक हेलम्बुको घाङयुल घ्याङ, काभ्रे पलान्चोकको बाङथली घ्याङ र नाग्रे घ्याङ, रसुवाको नाकथली घ्याङ, नुवाकोटको हाकु घ्याङहरु पर्दथ्यो । श्री ५ वडामहाराज पृथ्वीनारायण शाहले सम्वत् १८३१ साल असार वदी १३ रोज ४ मा ती घ्याङ गुठीहरुको थिति बसालेका थिए ( हिरण्यलाल स्रोत उल्लेख गर्ने) ।

सरकारी गुठी जग्गाको व्यवस्था गरी गुठीले पञ्चखत बाहेक अन्य मुद्दामा कचहरी (न्याय हेर्ने) को अधिकार समेत दिएको सरकारी दस्तावेजले जनाउँछ । त्यस्ता दस्तावेजहरु तत्कालीन जैशीखानमा रहेकोमा हाल परराष्ट्र मन्त्रालय अन्तर्गत रहेको ‘स्वयम्भू पोको’मा सुरक्षित रहेका छन् । तर, नेपाल–भोट युद्ध पश्चात घ्याङ गुठीहरु अन्य मठ–मन्दिरहरु (जस्तै दोलखाको भीमेश्वर, कभ्रेपलान्चोकको पलान्चोके भगवतीमाई र सिन्धुपाल्चोको तौथलीमाई थान) मा हस्तान्तरण हुने वा रैकरमा परिणत हुन पुगे । ति राजगुठी वा धर्मगुठी हरण गर्न सजिलो थिएन । युद्धकालमा विदेशी शत्रु पक्षमा लागेको भन्ने आरोप भने सशक्त हुने नै भयो । त्यस प्रकारको आरोप सत्ताबाट च्युत भएपछि काजी भारदारहरुलाई पनि लाग्ने गरको पाइन्छ । अन्तत: सम्वत् १९१२ मा गोरखा सरकार र भोट सरकार बीच १० बुँदे सम्झौता भएपछि युद्धको अन्त्य भयो (चीतरन्जन नेपाली, केही ऐहिासिक निवन्धहरु) ।

सन् १९०७ मा भूटानका तत्कालीन प्रमुख प्रशासक (सरकार प्रमुख) उर्गेन वाङ्च्युगले तत्कालीन सर्वोच्च धर्माधिकारी (जे–खेन्पो) लगायत प्रमुख लामाहरु, उच्च पदाधिकारीहरु र जोङहरु (जिल्ला) का मुखियाहरुको भेला गराई आफूलाई वंशानुगत महाराजा ड्रुक ग्याल्पो (भुटानी राजा) घोषणा गऱ्यो । उक्त राष्ट्रिय भेलामा कम्पनी सरकार अंग्रेजको तर्फबाट जे.सी. व्हाइटले भाग लिएका थिए (मानन्धार) । यसरी सन् १६३९ मा भुटानका धर्मराजा घोषणा गरी प्रमुख प्रशासक (देस्रिद) र जे–खेन्पो (सर्वोच्च धर्माधिकारी) दुई निकायको द्वैधशासन मार्फत् आध्यात्मिक शासन चलाउँदै आएको स्याबड्रुङ लामा (धर्मका लामा) को शासन अन्त्य हुन गयो । वाङच्युग वंश (देवराजा) को शासन सुरु भयो । नेपाल एकिकरण पश्चात पनि शाहवंशले स्याबड्रुङ (धर्मका लामा) को नाममा घ्याङगुठीको व्यवस्था गरेका थिए । तर, ‘सुरेन्द्र विक्रम शाह कालमा तत्कालीन प्रधानमन्त्री (श्री ३ महाराज) जंगबहादुर राणा र कमाण्डर ईन चिफलगायतको तीन सरकार प्रमुखहरुले संयुक्त छापसहितको भुटानको धार्मिक हक थमौतिको अभिलेख प्रदान गरेको छ ।’ (सुशिल मानन्धर, नेपाल–भुटान सम्बन्ध एक ऐतिहासिक विवरण, सीनास, त्रिविवि, काठमाडौं) यसबाट स्वयम्भू पुरानो घ्याङ ऐतिहासिक तथा धार्मिक महत्व बोकेको महत्वपूर्ण घ्याङ गुम्बाको रुपमा लिइन्छ । तर, त्यसको कार्यन्वयन भएन अर्थात् खोसिएको सरकारी गुठी फिर्ता भएन । @ tamangvoice






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution