चर्का भाषणले जनजातिको उत्थान हुँदैन – बहादुरसिंह लामा तामाङ

न्यूर्योक । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं युवा नेता बहादुरसिंह लामाले आदिवासी जनजातिको हक, अधिकारका लागि सबैले आआफनो ठाउँबाट महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन् ।आइतवार जाक्सन हाइटको चौतारी रेष्टुरेष्टमा तामाङ सोसाइटी अफ अमेरिकाले आयोजना गरेको भेटघाट तथा परिचायात्मक कार्यक्रममा बोल्दै निर्वाचित सांसद समेत रहेका लामाले सिंगो आदिवासी जनजातिलगायतका राज्यको मूल प्रवाहबाट टाढिएकाहरुको हक, अधिकार स्थापितका लागि चर्को नारा र भाषणले काम नगर्ने दावी गरे । आदिवासी जनजातिको नाममा केही राजनीतिक दलले खाली चर्को कुरा मात्र गर्ने तर कार्यान्वयनको विषयमा मौन बसिरहेको अनुभव सुनाए । उनले भने, ‘सबैले आफनो दायित्व र जिम्मेवारी पुरा गर्ने बेला आएको छ । राज्यले पनि बेलैमा सही र जायज माग पुरा गर्नुपर्छ ।’
अन्तर्राष्ट्रिय तामाङ परिषद्का उपाध्यक्ष छत्रबहादुर लामाले सिंगो आदिवासी जनजाति र पिछडिएका समुदायको अधिकार स्थापितका लागि ठूला राजनीतिक दलले बेलैमा उनीहरुको माग सम्बोधन गर्नुपर्ने बताएका छन् । नेपालका आदिवासी जनजातिमध्ये तामाङ समुदायलाई राज्यले चर्को दमन, शोषण र अत्याचार गरेको इतिहासलाई प्रष्टाउँदै उपाध्यक्ष लामाले विभिन्न कारणले संसारको कुनै पनि भूगोलमा पुगेको भए पनि आफनो भाषा, धर्म र संस्कृतिको संरक्षण गर्ने जिम्मा पनि हाम्रै काँधमा आएको बताए ।
युएई तामाङ समाजको संस्थापक अध्यक्ष समेत रहेका लामाले विदेशमा भएपनि नेपालको आदिवासी जनजाति आन्दोलन र तामाङ समुदायको भाषा, धर्म र संस्कृतिका लागि काम सकिने अनुभव बताए । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाका अध्यक्ष लुइसाङ वाइवा, तामाङ सोसाइटी अफ अमेरिकाका पूर्व अध्यक्षहरु सुवास लामा, राम तामाङ, इन्द्र तामाङ, भरत लामा, पूर्व महासचिवद्धय शान्त थोकर, बुद्धिमान तामाङ, जनसम्र्पक समितिका सचिव भोजराज थोकर र जनसम्र्पक समिति न्युर्योक च्याटरका उपसभापति अमर तामाङले पनि आआफनो धारणा राखेका थिए । सोसाइटीका अध्यक्ष सुर्य पाख्रिनको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा महासचिव पवन योञ्जनले कार्यक्रम सञ्चालन गरेका थिए । @ nepalibulletin