देशलाई छिटो विकास गर्ने एजेण्डामा प्रतिस्पर्धा गरौ – डा. भट्टराई

बैशाख ८, रौतहट । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले रौतहटमा आयोजित एक कार्यक्रमहरुलाई सम्बोधन गर्दै अव कस्ले बढी र छिटो देश विकास गर्ने एजेण्डा ल्याउन सक्छ त्यसमा प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् ।
भट्टराईले आन्दोलनमुखी कार्यक्रमका आधारमा भन्दा विकास र उत्पादनमुखी कार्यक्रमका आधारमा दलहरुबीच प्रतिस्पर्धा हुनुपर्ने भन्दै राजनीतिक परिवर्तनको एउटा कोर्स पूरा भएकोले उत्पादनमुखी आन्दोलन, रोजगार, आधुनिकिकरण र छोटो समयमै देश विकास गरेर को अघि आउने भन्नेमा प्रतिस्पर्धा गर्नुपर्ने बताए । उनले नयाँ शक्ति यस्तो प्रतिष्पर्धामा उत्रिसकेको बताए ।
उनले मधेसमा लामो आन्दोलन चलेको स्मरण गराउंदै मधेशबादी दलले अबको आन्दोलनमा जनतालाई सास्ति दिन नहुने भन्दै राजधानीमै सत्याग्रह, अनसन लगायतका कार्यक्रमहरु गरेर सरकारलाई दवाव दिनु उचित हुने बताए । उनले संविधान संसोधन गरेर तराई–मधेसका जायज माग पूरा गर्नुपर्नेमा समेत जिकिर गरे ।
उनले नयाँ शक्तिले विकास र समृद्धिको नारा प्राथमिकतामा राखेर राजनीति अघि बढाएको बताउँदै भट्टराईले जनतामा विस्तारै नयाँ शक्तिप्रति आकर्षण बढ्दै गएको दावी गरे । भट्टराईले उत्पादन, विकास, राहात र परिवर्तनका काममा शून्य प्रगति गरेर मौखिक राष्ट्रियता देखाएर पपुलर बन्ने परिपाटी अब धेरै नटिक्ने समेत दावी गरे ।