राप्रपा नेपालले स्थानीय विकास सहायक मन्त्रीमा रेशम लामा तामाङलाई सिफारिस

८ वैशाख, काठमाडौं । राप्रपा नेपालले स्थानीय विकास सहायक मन्त्रीमा रेशम लामा तामाङलाई सिफारिस गरेको छ । तामाङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेर सपथ गराउन भने बाँकी छ । तामाङ राप्रपा नेपालका समानपातिक सांसद एवम् पार्टीको केन्द्रीय सदस्य समेत हुन् ।
मन्त्रीमा सिफारिस हुँदा तामाङ काठमाडौं बाहिर थिए । उनी काठमाडौं फर्किएपछि सपथ हुने बताइएको छ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले अमेरिका उड्नुअघि तामाङलाई सहायक मन्त्री नियुक्त गर्न सिफारिस गरेका हुन् । सहायक प्रवक्ता मोहन श्रेष्ठले अनलाइनखबरसँग भने, ‘सिफारिस भएको छ, सपथ हुन बाँकी छ ।’
राप्रपा नेपालले हालैमात्र स्थानीय विकास सहायक मन्त्री विराज विष्टलाई फिर्ता बोलाएको थियो । विष्टको ठाउँमा तामाङलाई सहायक मन्त्री बनाइएको हो ।