स्कूलबाट फर्केकी ८ वर्षीया बर्षाको बलत्कारपछि हत्या
पाल्पा–सरस्वती माध्यमिक विद्यालय सुन्दरगाउँमा कक्षा ४ पढ्ने आठ वर्षीया बालिका वर्षा दर्लामीको स्कूलबाट फर्कँदै गर्दा होलँग्दी खोलामा बलात्कार गरी हत्या गरिएकोे छ। तानसेन नगरपालिका वडा न ११ लामीडाँडा बस्ने हरि बहादुर दर्लामीकी छोरी वर्षा भाइ अनिलसँगै स्कूलबाट फर्किएकी थिइन्।
घाँसले पुरिएको अवस्थामा निर्वस्त्र शव सिद्धार्थ राजमार्गबाट सय मिटरको दूरीमा भेटिएको हो। बालिकाको शवको झण्डै ५० मिटर तल खोलामा कापी कलम र इरेजर भेटिएको थियो। प्रहरी चौकी प्रभासबाट घटनास्थल झण्डै चारसय मीटर दूरीमा छ। नजिकै बाक्लो बस्ती छ।
भाइ अनिलले घर पुगेर दिदीलाई नचिनेको मान्छेले लगेको बताएपछि बेलुकी सवा ६ बजे आमा बबिता दर्लामीले प्रहरी चौकी प्रभासमा छोरी खोजिदिन हारगुहार गरेकी थिइन्। प्रहरी चौकी प्रभासका प्रमुख नुरापति दाहाल र जिल्ला प्रहरी कार्यालय पाल्पाका इन्सपेक्टर रमेशराज भेटवालको नेतृत्वमा प्रहरी परिचालन गरी पौने सात बजे खोलामा शव भेटिएको थियो। भाई अनिलका अनुसार दिउसो साढे चार बजेतिर हावाहुरी र मेघ गर्जनसहित पानी पर्न लागेको समयमा बर्षालाई जवर्जस्ति एक व्यक्तिले लगेका थिए।
शव भेटिएको २० घण्टापछि डाक्टर सुरज लामिछानेले पोष्टमार्टम गरेका थिए। पोष्टमार्टमपछि डाक्टर लामिछानेले बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि गरे। बलात्कारपछि यौनाङ्ग क्षतविक्षत भएको, आँखाको तल्लो भागमा टोकेको डामहरु भएको र अत्यधिक रक्तश्राव भएको उनले बताए।
बालक अनिलको पहिचानको आधारमा प्रभास बस्ने २१ वर्षको विशाल भनेर चिनिने दीपक न्यौपानेले हत्या गरेको स्वीकार गरेको प्रहरी श्रोतले बताएको छ। बर्षाको कानबाट निकालेको सुनको मुन्द्रा बेच्न हिलाम्य अवस्थाको पाइन्टसँगै दीपक प्रभासकै एक सुन पसलमा पुगेका थिए। प्रहरीले बुधबार पत्रकार सम्मेलन गरेर घटनाको विस्तृत विवरण सार्वजानिक गर्ने जनाएको छ। इन्सपेक्टर रमेशराज भेटवालले भने– ‘अपराधी पहिचान भैसकेको छ, घटना विवरण छिट्टै सार्वजनिक हुनेछ।’
वर्षा अध्ययनरत सरस्वती माविका प्राचार्य शंकर पौडेलले घटनाले स्तब्ध बनाएको बताए। आफ्ना विद्यार्थीको सुरक्षाको माग गर्दै जिल्ला प्रहरी कार्यालय पाल्पामा स्कूलको तर्फबाट ज्ञापनपत्र बुझाइएको बताउँदै उनले भने, ‘यसरी जघन्य हत्या र बलात्कार हुन थालेपछि विद्यार्थी त्रसित बनेका छन्’
बिहान बेलुकी निमेक गरेर घर गुजारा चलाएका दर्लामी परिवारमा शोक छाएको छ। बर्षाकी आमा घरीघरी अचेत हुने गरेकी छिन्। दर्लामी परिवार विपन्न तर मिहिनेती रहेका छिमेकी खिम बहादुर थापाले बताए। पोष्टमार्टम गरेपछि लामीडाँडा ल्याइएको शवमा गाउँले, स्कूलका शिक्षक, अभिभावकहरुले रुँदै फूल चढाएर श्रद्धाञ्जली दिए।
जिल्ला शिक्षा कार्यालय पाल्पाका मनोज बश्यालकाअनुसार यो क्षेत्रमा यसअघि पनि बलात्कारपछि हत्याका घटना भएका थिए। ‘नजिकै प्रहरी भएपनि यो क्षेत्रमा दुव्र्यसनी र आपराधिक घटनामा कमि आएको छैन।’ बश्यालले भने।
-पाल्पा,लक्ष्मण देवकोटा