इक्वेडरमा भूकम्पको कारण मृत्यु हुनेको संख्या ४१३

वैशाख ७ – इक्वेडरमा भूकम्पका कारण ज्यान जानेको संख्या चार सय १३ पुगेको त्यहाँको सरकारले जनाएको छ । गएको शनिबार बिहान इक्वेडरमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पका कारण भत्किएका भवन तथा अन्य भौतिक संरचनामा पुरिएकाको खोजी तथा उद्दारको काम भइरहेको इक्वेडर सरकारले जनाएको छ ।
भूकम्पका कारण दुई हजार भन्दा धेरै मानिस घाइते भएका छन् । ७० वर्षयता भएको यो नै सबैभन्दा ठूलो विपद रहेको इक्वेडरका राष्ट्रपति राफेल कोरिएले बताउनुभयो ।
भूकम्पका कारण भएको भौतिक क्षतिको पुनर्निर्माणमा अर्बौं खर्च लाग्ने भएपनि त्यो बनाउन सकिने तर मानवीय क्षति कुनै पनि हालतमा परिपुरण गर्न नसकिने उहाँले बताउनुभयो । सोमबार भूकम्पका कारण ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम भयो ।
– एजेन्सी