नयाँ शक्ति प्रत्यक्ष कार्यकारीको पक्षमा: भट्टराई

नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले आफ्नो पार्टी प्रत्यक्ष कार्यकारीको पक्षमा रहेको बताएका छन् ।जलेश्वरमा सोमबार भएको कार्यक्रममा भट्टराईले समानुपातिक सहभागितासहितको कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचन प्रणालीको पक्षमा आफूहरु रहेको बताए । उनले संविधानमा यस्तो व्यवस्था नगरिए मुलुकमा स्थायित्व, स्थिरता र राष्ट्रिय एकता कायम हुन नसक्ने जिकिर गरे ।
भट्टराईले नयाँ शक्ति नेपाल कसैको विरुद्धमा नरहेको स्पष्ट पारे । उनले भने, ‘न यो आकाशबाट खसेको अनौठो वस्तु हो । न कुनै दलको भाग खोस्न आएको नयाँ समूह । यो विभिन्न दलमा छरिएर रहेका र कुनै दलमा लाग्दै नलागेका स्वच्छ छवि र अग्रगामी विचार बोक्नेहरुको सहभागितामा निर्माण भएको हो ।’
कांग्रेस, एमाले, एमाओवादी र मधेसी दलको नेतृत्वमा राजनीतिक आन्दोलनको चरण समाप्त भएको बताउँदै भट्टराईले अब आफ्नो नेतृत्वमा आर्थिक क्रान्ति सुरु हुने बताए ।