पचपन्न हाते लिंगो ढालियो, भोली जुजु भाइले जिब्रो छेड्ने

भक्तपुर डेटलाइन, अर्जुन पाख्रिन
वैशाख १ : भक्तपुरको बिस्केट जात्राको पाँचौं दिन बुधबार भक्तपुर नगरपालिका ११ योसिंखेलमा ठड्याइएको ५५ हात लामो लिङ्गो ढालिएको छ । आठ दिन नौ रातसम्म चल्न भैरव एवं इन्द्र देवताको प्रतीकस्वरुप योसिंखेलमा मंगलबार वर्षान्तमा ठ्डयाइएको उक्त लिंगो बुधबार साँझ ढालिएको हो ।
भक्तपुरमा मनाइने बिस्केट जात्राको मुख्य आकर्षण नै चैत मसान्तको दिन लिंगो ठड्याउनु र भोलिपल्ट ढाल्नु हो । जसलाई बिस्केट जात्राअन्तर्गतको लिंगो जात्रा भनिन्छ ।
जात्रा हेर्दा शत्रुनाश हुने जनविश्वास रहेकाले भक्तपुर नगर र यसको वरिपरि रहेका गाउँमात्र होइन काठमाडौं, ललितपुर, काभ्रे, नुवाकोट र धादिंगका सर्वसाधारणसमेत बिस्केट जात्रा हेर्न भक्तपुर पुगेका थिए ।
लिंगो जात्रा सकिएलगत्तै योसिंखेलमा राखिएका भैरवनाथ र भद्रकालीको रथ तानेर गःहिटी पु¥याइएर तीनपटक जुधाइएको थियो । यसरी दुई रथ जुधाउनुलाई भैरव र भद्रकालीको समागम भएको प्रतीकको रुपमा लिइन्छ ।
बिस्केट जात्राअन्तर्गत बिहीबार मध्यपुर थिमी नगरपालिका १ बोडेमा जिब्रो छेड्ने जात्रा हुने छ । यस वर्ष पनि गतवर्षमा जस्तै जुजुभाइ बासँ श्रेष्ठले नै जिब्रो छेड्ने भएका छन् ।