सेयरमा गैरआवासीय नेपालीको लगानी

नेपाली सेयर बजारमा गैरआवासीय नेपालीलाई प्रवेश गराउने चर्चा नेपाली आर्थिक जगत्मा बारम्बार चल्ने र सेलाउने गर्दैै आएको छ । नेपाली सेयर बजार विश्वका अन्य बजारको तलुनामा अझै पनि सानो बजार नै हो । नेप्सेमा हाल २४१ कम्पनी सूचीकृत छन् भने दैनिक करिब १४० कम्पनीको ५० करोडभन्दा माथिको कारोबार सम्भव भएको छ । नेप्से परिसूचकाङ्क हाल एक हजार ३८२ को बिन्दु नजिक घुमिरहेको अवस्थाबाट बजारलाई सही र सन्तुलित ढङ्गबाट उकालो लगाउनका लागि नयाँ र ठूला लगानीकर्ताको प्रवेश गराउनु जरुरी देखिएको छ । त्यस प्रयोजनका लागि गैरआवासीय नेपालीको लगानी बजारमा भिœयाउने सही समय भएको देखिन्छ ।
हुन त गैरआवसीय नेपालीले नेपालमा भएका आफन्तका नाममा सेयर बजारमा लगानी गरिरहेकै छन् तर नेपाली सेयर बजारमा विधिवतरूपमा गैरआवसीय नेपालीको लगानी भिœयाउनसकेको खण्डमा सेयर बजारको सन्तुलित विकासमा मात्र होइन, त्यसले मुलुकको समग्र आर्थिक विकासमा नै बलियो टेवा पु¥याउने देखिन्छ । नेपाली सेयर बजारको विकास र विस्तारको क्षेत्रमा केही वर्षको अन्तरालमा उल्लेख्य काम भएका छन् । सेयरको अभौतीकरण (डिम्याट) भएका सेयरको मात्र कारोबार गर्ने, दलाल कम्पनी थप्ने, प्राथमिक सेयरको आवेदनमा सरलता ल्याउने प्रयास, आफ्नो र एकाघरका सदस्यको भन्दा अन्यको नाममा सेयर खरिद गर्न निरुत्साहित गरिएको अवस्था जस्ता थुप्रै सिर्जनात्मक काम भएका छन् भने प्राथमिक सेयरमा आवेदन दिँदा बैङ्कमा भएको रकममध्येबाट आवेदन दिएको रकम रोक्का गर्दै लगानीकर्तालाई झन्झटमुक्त गर्ने जस्ता काम हुने चरणमा छन् तर लामो समयदेखि सेयर बजारमा गैरआवासीय नेपालीको लगानी भिœयाउने कुरा भने नारामा मात्र सिमित छ ।
हाल नेपाली सेयर बजारमा २० लाखको हाराहारीमा लगानीकर्ता सहभागी भइसकेको अवस्थामा पनि गैरआवसीय नेपालीले विधिवतरूपमा लगानी गर्ने वातावरण सिर्जना हुन नसक्नु दुर्भाग्यपूर्ण हो । सेयर बजारको विकास र विस्तारमा विदेशी लगानीलाई पनि भिœयाउने कुरा निकै महŒवपूर्ण हुन्छ । नेपाली सानो बजारमा विदेशी संस्थागत लगानी भिœयाउने निकै जटिल विषय हुनसक्छ । विदेशी ठूला लगानीकर्ताले नेपाली बजारमा चलखेल गर्नसक्ने ठूलो सम्भावना हुनसक्छ । नेपाली सेयर बजारमा विदेशी लगानी आकर्षित गर्ने कुरा जति आवश्यक छ, त्यति नै खतरापूर्ण पनि छ । विदेशी संस्थागत लगानी एफआईआई फरेन इन्स्टिच्युसनल इन्भेष्टमेन्ट ल्याउने कुरा एकै पटक गर्नभन्दा पहिले दोहोरो नागरिकताधारी गैरआवासीय नेपालीले नेपाली सेयर बजारमा लगानी गर्ने वातावरण सिर्जना गर्नु उपयुक्त हुन्छ ।
विगत केही वर्षदेखि हरेक अर्थमन्त्रीले आफ्नो कार्यकालमा गैरआवासीय नेपालीलाई बजारमा लगानी गर्न दिने कुरा सकारात्मक ढङ्गबाट उठाउने गरेको पाइन्छ तर त्यसको कार्यान्वयन पक्षका बारेमा आवश्यक बहस र समस्यालाई निराकरण गर्ने विषयसमेत समेटिएको नीति बनाउन खासै काम हुनसकेको देखिँदैन । विदेशमा बस्ने नेपालीलाई नेपाली सेयर बजारमा आकर्षित गर्नसकेको अवस्थामा नेपालमा ठूलै मात्रामा लगानी भित्रने त छँदैछ, त्यसको अतिरिक्त नेपालीले आफ्नै मातृभूमिमा लगानी गर्दा ढुक्क हुने र राष्ट्रलाई अप्रत्यक्षरूपमा सहयोग गरेकोमा आत्मसन्तुष्टि पनि हुन्छ । गैरआवासीय भारतीय (एनआरआई) ले मुलुकमा आर्थिक सङ्कट परेका बेला होस् वा अन्य समयमा ठूलो मात्रामा स्वदेशमा लगानी भित्राएर आर्थिक विकासमा सघाएको उदाहरण पाइन्छ ।
गैरआवासीय नेपालीका हक अधिकार सुनिश्चित गर्ने दिशामा नीति निर्माताले उदार मनले आवश्यक सुविधा दिएको पाइन्छ । अब स्वदेशमा लगानी गरी आर्थिकरूपमा विकासमा सघाउने कर्तव्य गैरआवासीय नेपालीको पनि हुनेछ । त्यसका लागि सेयर बजारमा उनीहरूको आगमन सुनिश्चित गर्ने कुरा महŒवपूर्ण बन्दै गएको छ । विदेशमा बस्ने नेपाली आफूले दुःख गरेर कमाएको रकम त्यसै त्यसको सुरक्षाविना नेपालमा लगानी गर्छन् भनेर परिकल्पना गर्नु भने उपयुक्त हुँदैन । त्यसका लागि स्पष्ट सरकारी नीति र उनीहरूको लगानी र त्यसको पुँजीगत लाभका बारेमा सरकारले कस्तो नीति लिने हो सो कुराको स्पष्ट खाका प्रस्तुत गर्न भने अब ढिला गर्नु हुँदैन । वर्तमान सरकारले बजेट चाडै ल्याउने कुरा आइरहेको सन्दर्भमा गैरआवासीय नेपालीलाई कतिसम्म लगानी गर्न दिने, सो वापत उनीहरूले पाउने सुविधा र नाफा लैजाने तौरतरिका समेत आगामी बजेट र त्यसपश्चात् जारी हुने मौद्रिक नीतिमा स्पष्ट व्यवस्था हुनपर्छ । विगतकै निरन्तरता जस्तो “गैरआवसीय नेपालीलाई नेपाली सेयर बजारमा लगानी गर्न आकर्षित गरिने छ” भन्ने जस्तो एक हरफ बजेटमा राख्दैमा नेपाली बजारमा गैरआवासीय लगानी भित्रन सहज हुँदैन । नेपाली सेयर बजारका राम्रा कम्पनी र म्युचअल फण्डमा गैरआवासीय नेपालीले लगानी गर्दा उनीहरूको लगानीको सुरक्षाको प्रत्याभूति हुने खालको नीति सरकारले ल्याउन सक्नुपर्छ । अनि गैरआवासीय नेपालीले आफ्नो मातृभूमिमा नै लगानीको अवसर उपलब्ध छ भने अन्त किन लगानी गर्ने भन्ने वातावरण सिर्जना गर्न सक्नुपर्छ ।
वर्तमान नेपाली सेयर बजारमा गैरआवासीय नेपालीले लगानी गर्दा राज्यलाई फाइदा हुने र आर्थिक क्रियाकलाप बढाउन मद्दत पुग्ने कुरा एक पाटो हो भने गैरआवासीय स्वयंका लागि पनि वर्तमान सेयर बजारमा लगानीको राम्रो अवसर देखिन्छ । नेपाल राष्ट्र बैङ्कले विदेशमा काम गर्ने नेपालीले खरिद गर्न पाउने गरी हालै एक आकर्षक लगानी स्कीम सार्वजनिक गरेको छ तर विदेशमा बस्दा पनि आफ्नो नाममा सेयर खरिद गर्न सकिने, समयमा बेच्न सकिने र नाफाको पारदर्शी रूपले लैजान सकिने भएकोले नेपाली सेयर बजारमा लगानी गैरआवासीय नेपालीका लागि उपयुक्त र समयसापेक्ष लगानी हुनसक्छ । सो सम्बन्धमा सरकारले स्पष्ट नीति ल्याएको अवस्थामा गैरआवासीय नेपाली बजारप्रति आकर्षित हुने सम्भावना प्रबल देखिन्छ ।