विक्रम संवत्को इतिहास

२०७३ साल वैशाख १ गते, विक्रम संवत्को नयाँवर्ष प्रारम्भ भएको छ । मीन राशि समाप्त भई मेष राशि प्रारम्भ हुनासाथ अर्थात् मेषमा सूर्यले प्रवेश गरेको दिन वैशाख १ गतेको नव वर्ष प्रारम्भ हुन्छ । विक्रम संवत् वैदिककालदेखि प्रचलित तिथि र बारको अवलम्बन गर्दै आएको राष्ट्रिय संवत् हो । विक्रम संवत् पनि शक संवत्, नेपाल संवत्झँैं तिथिको आधारमा चल्दै आएको हुँदा तिथिहरू थपघट भइरहने हुँदा शासन व्यवस्थामा धेरै अप्ठयारो भएकाले ज्योतिषहरूको सम्मेलनको सुझावको आधारमा तिथिहरूमा अन्तर नपर्ने गरेर चन्द्रशमशेरले विक्रम संवत् १९६१ मा शासन व्यवस्थामा सजिलोका लागि वैशाख १ गते, मेष सङ्क्रान्तिदेखि गतेमा लेख्ने चलन चलाएका हुन् । विक्रम संवत्मा गतेबाट लेख्ने चलन चलेपछि अरू संवत्भन्दा यो लोकप्रिय हुन गएको हो । तिथिहरू कहिले एकैदिन दुईटा आइपर्ने हुँदा धेरै असजिलो भएकाले गतेमा लेख्ने चलनपछि शक संवत् र नेपाल संवत्को दाँजोमा विक्रम संवत् व्यावहारिक हुनपुगेको हो । शनिवार सार्वजनिक बिदा दिने चलन पनि चन्द्रशमशेरकै पालादेखि चलेको हो । नेपाल संवत् र शक संवत्हरू अध्यावधि तिथिको आधारमा मात्र चलेका छन् । विक्रम संवत् १९६१ देखिको मेष सङ्क्रान्तिलाई वैशाख १ गते मानी वर्षभरिका १२ महिनाका दिन निर्धारण गरिएका हुन् । विक्रम संवत् हिमवतखण्ड नेपालका विभिन्न साना राज्यमा प्रचलित भइरहेको र विशाल नेपालको सिर्जना भएपछि पनि विक्रम संवत् नेपालको राष्ट्रिय संवत्को रूपमा स्थापित भएको छ ।
‘अथ सूर्यवंश प्रभावान्नेपाले किराँत राजन निजित्य लिच्छवि वंश प्रवर्ततेः।’–(पशुपति पुराण) अर्थात् सूर्यवंशी लिच्छवि राजाकोे प्रभावले किराँत राजालाई जिती लिच्छविवंश सुरुभएपछि लिच्छविवंशका पहिला राजा धर्मपाल, भूमिवर्मा विक्रमादित्य उपाधिबाट पुकारिएका सूर्यवंशी पराक्रमी चक्रवर्ती राजाबाट विशालनगर र बत्तीसपुतलीमा राजधानी स्थापना गरेर शासन गरेको बेलादेखि विक्रम संवत् उठान भएको हो । हिमवत्खण्डका स–साना राज्य सेनवंशी, बाइसी, चौबिसी तथा काठमाडाँैं उपत्यकालगायत ब्रह्मपुत्रदेखि गङ्गाको आसपाससम्म विक्रम संवत् चलनचल्तीमा आएका प्रमाण छन् । विक्रम संवत्भन्दा १३५ वर्षपछि शक संवत्को उठान र ९३७ वर्षपछि नेपाल संवत्को उठान भएको हो । विक्रम संवत्को वर्षमा ३६५ दिन र शक संवत् र नेपाल संवत् र शक संवत्मा ३५४ दिन मात्र हुने हुँदा अन्तर्राष्ट्रिय हिसाबले इस्वी संवत्सँग तालमेल मिलाउन विक्रम संवत् धेरै व्यावहारिक भएको छ । इस्वी संवत्, शक संवत्, नेपाल संवत्भन्दा विक्रम संवत् जेठो संवत् भएकाले ऐतिहासिक तथ्यलाई जीवन्त राख्न पनि यो संवत् सफल बनेको छ ।
इतिहासविद् श्री नयनाथ पौड्यालले नेपालको पुरातìव विभाग राष्ट्रिय पुस्तकालयबाट प्रकाशित भाषा वंशावलीमा विक्रमादित्य राजा बारेमा किंवदन्ती प्रस्तुत गर्दै बज्रयोगिनीबाट पारसमणि सहित आर्शीरवाद प्राप्त गरेको राजप्रसादको दक्षिणतर्फ (हालको नारायणहिटी) चतुर्मुख नारायण स्थापित गरी जोडीधारा बनाई तीर्थस्थलसमेत बनाई विक्रम संवत् चलाएको कुरा उल्लेख गरेका छन् । साँखु बज्रयोगिनीको मन्दिरदेखि केही माथि एक मन्दिरमा विक्रमादित्य राजाको टाउको रहेको र जसको अध्यावधि बज्राचार्यवंंशका पुजारी विक्रमादित्य राजाको टाउकाको पूजा गरेर बसेका छन् । साँखुमा अवस्थित विक्रमादित्यले नेपालमा राज्य गरेका यो ज्वलन्त प्रमाण हो । उनैबाट काभे्र जिल्लाको नालामा उत्तरापुर राज्यको नाममा विक्रमादित्य राजाले राज्य गरेको किंवदन्ती प्रचलित छ । योगी नरहरिनाथले भन्नु भएको छ–“श्री वीर पालःनृपतिःततः अभूत तस्मात अभूत विक्रमपाल भूपः”भन्ने उल्लेख गर्दै देवमाला वंशावलीमा कुनै चक्रवर्ति राजा विक्रमादित्यको बत्तीसपुतली राम मन्दिर भएको ठाउँमा राजसिंहसान थियो भन्ने पाइन्छ, भन्नु भएको छ । यसबारेमा काभ्रे नालामा विक्रमादित्यले शासन गरेको कुरा वाशुपाशाबाट काभ्रे सिन्धु वृतान्त पुस्तकमा लेखेका छन् । लिच्छवि शासनकालमा निर्मित हरिसिद्धि मन्दिरमा विक्रम संवत् ७११ उल्लेख भएको वंशावली छ र विक्रम संवत् ९४५ मा हरिसिद्धिनाटक मञ्चन भएको हरिसिद्धि उपपुराणमा उल्लेख छ ।
जयस्थिति मल्लको पालाको सुवर्णपत्रमा ‘विक्रम राज वर्ष १४४८ श्रीमत नेपालीकेः श्रेयोस्तु’ उल्लेख छ । त्यसपछि त्यसरी नै मल्लकालभरि विक्रम संवत् चलनचल्तीमा भएको कुरा अभिलेखमा प्राप्त छन् । मोरङका राजा हरिश्चन्द्र सेन र वृषशेनको स्याहामोहरमा विक्रम संवत् १७१९ पौष वदी ४, मकवानपुरका राजा मानिकसेनले विक्रम संवत् १७८४ कार्तिक शुदी ७, विजैपुरमा बुद्धिकर्ण राईले विक्रम संवत् १८२४ नेपाली भाषामा लेखिएका कैयौं प्रमाण भएको कुरा इतिहासविद् शंकरमान राजवंशीले पुरातìव सङ्ग्रह (२०१८)मा प्रकाशित गराएका छन् । फर्पिङमा कनकेशरको ढोका फेरेर मुकुट चढाएको अङ्कित अभिलेखमा विक्रम संवत् १२९७ उल्लेख छ । गोरखाको रामेश्वर मन्दिरको रामशाहको अभिलेखमा विक्रम संवत् १६९३ उल्लेख छ । अछामको वरदादेवी मन्दिरमा विक्रम संवत् १७७९ पौष उल्लेख छ । भक्तपुर दरबार नजिकैको गहिरो धाराको पश्चिमपट्टिको भित्तामा विक्रम संवत् १७३५ र भक्तपुर दरबारको तलेजु चोकको देवद्वारको तोरणको स्वर्णपट्टामा विक्रम संवत् १७४१ र भक्तपुरको डोलेश्वर महादेवको मन्दिरमा विक्रमाब्द १७६४ साथै नेपाल संवत् ८२८ माघ उल्लेख भएको र भक्तपुर राजदरबार कुमारी चोकमा जितामित्र मल्लको अभिलेखमा विक्रम संवत् १७३४ उल्लेख भएको कुरा नयनाथ पौडेललबाट अभिलेख सङ्ग्रहमा उल्लेख गरिएको छ ।
राजा भूपतेन्द्र मल्लले विक्रम संवत् १७६३ उल्लेख गरेको कुरा भुवनलाल प्रधानले उल्लेख गर्नु भएको र जयप्रकाश मल्लले विक्रम संवत् १८१४ मा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई नेपाली भाषामा धर्मपत्र गरी दिएको कुरा इतिहासविद् नयराज पन्तले ‘इतिहास संशोधनको प्रमाण प्रमेय’ मा उल्लेख गर्नुभएको छ । विक्रम संवत् यसक्षेत्रको प्रचलित संवत्को रूपमा मानिएकाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले उपत्यका विजय गरेपछि विक्रम संवत् १८२५ को वसन्तपुर दरबारको अभिलेखमा– ‘राजा पृथ्वीनाराण शाहको वंश गुह्येकाली र पशुपतिका दुई पाउका धुलाका प्रसादले स्थिर भइरहोस्’ भनेर विक्रम संवत् १८२५ उल्लेख गरेका थिए । जङ्गबहादुरले मुलुकी ऐनलाई सङ्ग्रह गरी त्यसमा विक्रम संवत् १९१० उल्लेख भएको छ । इतिहासकार दिनेशराज पन्तले ‘राजीवलोचन जोशीका बराज्यू’ नामक पुस्तकमा विक्रम संवत् १७२१ मा लमजुङमा वीरमर्दन शाह राजा थिए र विक्रम संवत् १७४१ मा लमजुङमा केहरिनारायण शाह राजा थिए । विक्रम संवत् १७९६ मा पृथ्वीनारायण शाहसँग चेपेघाटमा सन्धि गर्ने लमजुङे राजा रिपुमर्दन शाह हुन् भनी (पूर्णिमा १० पूर्णाङ्कको ३९) उल्लेख गर्दै विक्रम संवत् १७२१ प्रयोग भइआएको देखाएका छन् ।
इतिहासकार ज्ञानमणि नेपाल लेख्छन्–‘विक्रम संवत्को प्रचलन मध्यकालमा बाइसी–चौबीसी, सेन, मल्ल, शाह राजाले चलाउँदै आएका थिए । केन्द्रका तीन सहरका मल्ल राज्यहरूमा पनि पूर्व मललकालदेखि नै अभिलेख, हस्तलिखित, पाण्डुलिपिका वाक्यमा विक्रम संवत्को प्रयोग हुँदैआएको थियो । भक्तपुरमा नववर्ष प्रारम्भ हुनुभन्दा अगाडि धमधामसाथ बिस्केटजात्रा मनाइँछ । तराईमा थारुहरू वैशाख सुरु हुने दिनदेखि नै सिरुवाजात्रा मनाउँछन् । ’ त्यस्तै अरूणकुमार पाण्डे लेख्छन्– ‘सृष्टिको आरम्भमा सूर्यलगायतका ग्रहनक्षत्र शून्य अवस्थामा रहेको र त्यही शून्यमा विक्रम संवत्को गणनाप चारतिर सुरु हुन्छ । विक्रम संवत विश्व ब्रह्माण्डका ग्रहगति र प्राकृतिसँग सापेक्ष छ । नेपालमा विक्रम संवत्ले सबै जाति, भाषा, धर्म र संस्कृति र विविधतालाई समिटेको छ । ’ विक्रम संवत् प्रकृतिसँग सम्बन्धित छ भन्ने एउटा आश्चर्यजनक कुरा नेपाल भित्र नै देख्न सकिन्छ । ‘हरेक वर्ष मेष सङ्क्रान्ति, नववर्षका दिन विक्रम संवत् वैशाख १ गते सलहेस नामक फूलले उजागर गर्ने गर्छ । सिराहाको लाहानदेखि चार किलोमिटर पश्चिममा वर्षमा एकदिन मात्र फुल्ने सलहेस फूल जसमा एउटै मात्र मालाजस्तो लामो झ्याम्म परेको लटरम्म फूल हो । अचम्मको कुरा अघिल्लो दिन कोपिला लाग्ने बिस्तारै आकार दिँदै नयाँ वर्षको बिहानी वैशाख १ गते मालाको आकारमा फुल्छ । बिहान फक्रने र वैशाख १ गतेको साँझदेखि ओइलिदै भोलिपल्छ झर्ने गर्छ । ’ (गोरखापत्र)
संवत्हरूको विषयमा विक्रम संवत् १९३७ मा भारत गुजरातका विद्वान् खोजकर्ता पं.भगवान्लाल इन्द्रजी नेपालमा आई यहाँबाट २३ अभिलेख खोजी गरी लिच्छविकालमा उल्लेखित संवत्हरूलाई विक्रम संवत् ठह¥याएका थिए । त्यसैगरी कलकत्ता विश्वविद्यालय इतिहासका प्राध्यापक राधागोविन्द बासकले भारतको उत्तरपूर्व भागको इतिहासमा लेखेका छन्–‘मानदेवको संवत् ३८६ को चाँगुको अभिलेखको संवत विक्रम संवत् हो । यसरी विक्रम संवत् ३८६ देखि प्रारम्भ भएर चपली गाउँमा रहेको अभिलेखमा लेखिएको संवत् ४८९ सम्मका संवत् विक्रम संवत् हुन् । ’ यसैगरी नेपालका खोजकर्ता इतिहासविद् शंकरमान राजवंशीले पूर्व लिच्छविकाल र उत्तर लिच्छविकालका संवत् शक संवत् होइनन् भन्दै लिच्छविकालका अभिलेखमा उल्लेखित संवत्लाई विक्रम संवत् नै मानेका छन् ।
यसैगरी तर कतिपय नेपालकै इतिहासकारले विक्रम संवत् नेपालको होइन । यसको उठान भारतको उज्जयनीबाट भएको हो, भन्छन् तर यो सत्य होइन । इस्वी संवत् ४०० तिर चन्द्रगुप्त द्वितीयले अयोध्याको विजय गरी छालाका मुद्रामा विक्रमादित्य लेख्दैमा विक्रम संवत् उठान गर्ने उनै हुन् भन्नु मिल्दैन । इतिहास शिरोमणि बाबुराम आचार्यले लेख्नुभएको छ– ‘जुनसमय ईशापूर्व ५७ वर्षमा यो संवत्को उठान भएको थियो त्यो समयमा उज्जयनीमा राजा विक्रमादित्यको अस्तित्व देखिँदैन । उज्जयनीका खण्डको उत्खनन् हुँदा पनि त्यस समयमा विक्रमादित्य रहेको चिह्न भेटिएको छैन । ’ विक्रमादित्य राजाको भारतमा उदय भएको थियो भने त्यस्ता प्रतापी चक्रवर्ती राजाको विषयमा त्यस समयका भारतका कवि वा कलाकारले कहींं न कहींंं त्यस्ता राजाको विषयमा चर्चा गर्थे होलान्, कहीं कतै गुनगान हुन्थ्यो, कहींं कतै मूर्ति पनि बन्थ्यो होला । विक्रम संवत्को उठान नेपालमा नै भएको हो । एशियाका अधिकांश राष्ट्र चीन, भारतमा अङ्ग्रेजी साम्राज्यको प्रभावले त्यहाँका आदि संवत् विस्थापित गरेर ईस्वी संवत् लागू गरिएको थियो । तर नेपाल सम्राज्यवादी प्रभावबाट जोगिएकाले नेपालले आफ्नो सार्वभौमसत्ता, मौलिकता र पहिचान बचाउँदै आएको हुँदा विक्रम संवत् यथावत कायम रहिरह्यो । नेपाल सधँै सार्वभौम थियो भन्ने कुराको ठोस प्रमाण विक्रम संवत्को निरन्तरता हो । विक्रम संवत् नेपालको गौरव र मौलिक संवत् भएकाले स–गौरव २०७३ सालको नयाँवर्षको शुभ–मूहर्तमा नेपालको स्थायित्व र युगयुगान्तरसम्म नेपालको राष्ट्रिय स्वाभिमान, पहिचान र प्रतिष्ठा कायम राख्न दृढ सङ्कल्प गर्दै स्वदेश–विदेशमा रहेका हामी नेपालीले आपसमा शुभकामना आदान–प्रदान गरौंँ ।