विदेश गएको ६ महिनामै श्रीमती अर्कैसँग हिडेपछि…..

चैत २९ – विदेशबाट फर्किएकाहरुका हातमा ठूला झोला थिए, अनुहार हँसिलो थियो तर त्यहि हुलमा मिसिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिंदै गर्दा धादिङ जोगिमारा ९ ठिमाङका कुमार मल्ल ठकुरीको अनुहारमा कुनै खुशी थिएन । ‘खुशी कमाउन गएको थिएँ तर लुटाएर फर्किएँ’ कुमारले भन्नुभयो । ११ वर्षअघि मलेसिया जाँदा घरमा बुढाबुढी बा–आमा, श्रीमती र एउटी छोरी थिइन । तर अहिले बा–आमा मात्रै छन । श्रीमती छैनन अनि छोरी पनि ।
कुमार विदेश गएको ६ महिनामै श्रीमती अर्कैसँग हिँडिन, त्यो पनि ३ वर्षकी छोरीलाई काखी च्यापेर । ‘धेरै पैसा कमाएर श्रीमती र छोरीलाई सुख दिने सपना त्यति बेलै टुंगियो’ कुमारले भन्नुभयो ‘जतिबेला मैंले पठाएको पैसा लिएर श्रीमती अर्कैसँग बाटो लागी ।’ हेल्परको काम गर्ने कुमारले महिनाको ४ सय ४६ सय रिंगेट अर्थात १२ हजार नेपाली रुपैयाँ तलव पाउनुहुन्थ्यो । तर उहाँले त्यति कमाइले आफनो सपना पुरा नहुने देखेर खुद्रा पसल पनि चलाउनुभयो मलेसियामै । चुरोट, सुर्ती अनि रिचार्ज कार्ड बेचेर उहाँले महिनाको झण्डै २ सय ५० सय रिंगेट अर्थात ३ हजार रुपैयाँ अतिरिक्त आम्दानी पनि गर्नुहुन्थ्यो । त्यसैले उहाँले मलेसिया पुगेको ६ महिनामै १ लाख रुपैयाँ श्रीमतीकै नाममा पठाउनु पनि भयो । तर त्यो पैसाले उहाँको सपना पुरा भएन । उल्टै लुटिए जस्तो लाग्यो श्रीमती अर्कैसँग हिँडेपछि ।
आफू विदेश गएको ६ महिनामै श्रीमती अर्कैसँग हिँडे पनि उहाँले हिम्मत हार्नु भएन । ‘तर फेरि आँट बटुलेर काम गरिरहें’ कुमार भन्नुहुन्छ । विदेश जानु कुमारको रहर होइन बाध्यता थियो त्यसैले बुढा भएका बा आमालाई छोडेर छोरी लिएर श्रीमती अर्कैसँग जाँदा पनि घर फर्किन पाउनु भएन । तीन वर्षसम्म मलेसियामै काम गर्नुभयो । श्रीमतीले विश्वासघात गरेपछि भने उहाँले कमाएको पैसा घर पठाउनुभएन आफैंले राख्नुभयो । सापटी मागेको पैसा मागेपछि जेल भनिन्छ नि ओइरो माथिको पहिरो, त्यस्तै भयो कुमारको जिन्दगीमा । श्रीमतीले एक्लो बनाए पनि साथीहरुले चाहिँ नजिक नै राखेका थिए विरानो ठाउँमा रहेका कुमारलाई ।
यस्तै साथी बने ताप्लेजुङका लाक्पा दोर्जे शेर्पा । ३ वर्षको काम गराईमा नजिक भएका दोर्जेले छोरीको विवाह भन्दै पैसा मागे । कमाएको पैसा मलेसियामा आफैंले राखेका कुमारले साथमा पैसा हँदा हुँदै पनि साथीलाई छैन भन्न सक्नु भएन । ‘फिर्ता गर्छु भनेपछि मैले पनि किन नदिनु त भनेर दिएँ’ एक वचनमै २ लाख ६० हजार रुपैयाँ साथीको हातमा हालिदिएका कुमारले अहिले पछुताउँदै भन्नुभयो । शेर्पालाई पैसा दिएको २ वर्षपछि कुमारलाई घर फर्कन मन लाग्यो । त्यसैले उहाँले शेर्पासँग आफ्नो पैसा माग्नुभयो ।
लिने बेलामा नम्र भएका शेर्पा अहिले भने कड्किए । राम्ररी जवाफ दिएनन उल्टै नराम्रो शव्दले गाली गरे । तर अर्को दिन बसिरहेको ठाउँमा दोर्जेले हिर्काए कुमारलाई । ‘मसँग अरु साथीहरु पनि थिए त्यसैले त्यहाँ ठूलै झगडा भयो’ ८ वर्षअघिको घटना सम्झँदै कुमारले भन्नुभयो ‘त्यही झगडामा दोर्जे मर्यो भनेर पुलिसले मलाई पक्रियो ।’ दोर्जे मरेको भनेपनि आफूले नदेखेको बताउने कुमारलाई कम्पनीले पनि दोषी देखायो । त्यति बेला कम्पनीले त फाँसी पनि हुन्छ भनेको थियो कुमारलाई । तर अदालतले ८ वर्ष जेल बस्नुपर्ने फैसला गर्यो ।
जेलमा बसिरहँदा घर फर्किन्छु जस्तो पनि लागेको थिएन कुमारलाई । न सरकारले सहयोग गर्यो न त अरु कुनै निकायले नै । त्यसैले उहाँ सजाय भुक्तान गरेर ११ वर्षमा गएको भदौमा घर फर्किनुभएको छ । ११ वर्षपछि घर फर्किंदा पनि कुमार खुशी हुनुहुन्न थियो । भन्नुहुन्छ ‘विदेशमा पैसा कमाउन आउँदा सबै चिज गमाउनु पर्यो । विदेश गएँ श्रीमती गमाएँ, साथीलाई सहयोग गरें पैसा गुमाएँ, त्यतिमात्र नभएर साथीको हत्या गरेको आरोपमा ८ वर्ष जेलमा बस्नुपर्यो ।’
-लक्ष्मी भुजेल/धादिङ