मलेसियाबाट नेपाली भाषाको रेडियो कार्यक्रम प्रशारण

मलेसिया डेटलाइन
चैत्र २९ : नेपाली दुतावास मलेसियाको सहकार्यमा मलेसियाबाट नेपाली भाषाको सूचनामूलक साप्ताहिक रेडियो कार्यक्रम सञ्चालन हुने भएको छ ।
दुतावासद्वारा सोमबार प्रकाशित विज्ञप्तीमा सो विषय उल्लेख गरेका छन् । रेडियो कार्यक्रम सञ्चालन गर्नेबारे मलेसियाको राष्ट्रिय समाचार संस्था अन्तर्गतको रेडियो बर्नामासँग सम्झोता गरिएको छ ।
रेडियो बर्नामाका प्रधान सम्पादक जकारिया अब्दुल वाहब र राजदुत डा निरञ्जनमानसिंह बस्न्यातले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । दुतावासका अनुसार कार्यक्रम हरेक आइतबार बेलुका ८ बजेको समाचारपछि प्रसारण हुनेछ ।
उक्त रेडियो कार्यक्रममार्फत मलेसियामा रहेका नेपालीका लागि स्वास्थ्य एवं सूचनामूलक र नेपालको पर्यटन प्रबद्धनार्थ सामाग्री (स्थानीय भाषामा) र गीत संगीत प्रसार गरिने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
कार्यक्रमबाट मलेसियामा रहेका नेपालीहरु प्रत्यक्ष लाभान्वित हुने विश्वास दुतावासको छ । उक्त कार्यक्रम क्लांग भ्यालीमा ९३.९ मेगाहर्ज, जोहोर क्षेत्रमा १०७.५ मोगाहर्ज, कुचिंग सरावक क्षेत्रमा १००.९ मेगाहर्ज र कोताकिनबलु सावाह क्षेत्रमा १०७.९ मेगाहर्जमा सुन्न सकीने विज्ञप्तीमा उल्लेख गरिएको छ ।