१६ जना यात्रु बोकेका जहाज ठूलो दुर्घटनाबाट जोगियो

सुर्खेत डेटलाईन
सुर्खेत : जुम्लामा जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ । जुम्लाबाट यात्रु लिएर नेपालगंजका लागि उड्न लागेको नेपाल एयरलाईन्सको जहाज सोमवार दिउँसो दुर्घटना हुनबाट जोगिएको हो । यात्रु लिएर धावनमार्गमा गुडिसेको उक्त जहाजमा नोज ल्याण्डिङ गेयरको स्टेरिङ्ग तार चुँडिएपछि जहाजमा समस्या आएको थियो ।
नाइन एन एवियु नम्मरको कलसाइन भएको जहाज जुम्ला विमानस्थलमा दुर्घटनाबाट जोगिएको हो । उड्नका लागि विमानस्थलबाट करिब पाँच सय ४० मिटर गुडेपछि इन्जिनमा समस्या आएको थियो । स्टेरिङ्ग तार चुँडिएपछि चालकदलका सदस्यहरुले तत्काल इन्जिन वन्द गरेर जहाजलाई रोकेका थिए । जुम्ला विमानस्थलका प्रमुख पवन श्रेष्ठले दिउँसो साढे १ बजे यात्रु लिएर धाउनमार्गमा गुडिसकेको जहाजमा समस्या आएको बताए । साथै उनले ठूलो दुर्घटना हुनबाट जहाज जोगिएको जानकारी दिए ।
यसअघी उक्त विमान नेपालगंजबाट यात्रु लिएर सोमवार नै जुम्ला विमानस्थलमा अवतरण गरेको थियो । यात्रु झारेर पुनः जुम्लादेखि नेपालगंज यात्रु लिएर उड्ने क्रममा जहाजमा समस्या आएको थियो । इन्जिनमा समस्या आएपछि उक्त जहाजलाई विमानस्थलका नेपाल प्रहरी, शसस्त्र प्रहरी र जहाजका कर्मचारीहरुले धकेलेर साइड लगाएका थिए । जहाजमा १६ जना यात्रु सवार थिए । चालक जेके निरौलासहितको चालक दलले उक्त जहाज उडाएको थियो । अहिले जहाज विमानस्थलको छेउमा थन्काइएको छ । जुम्ला विमानस्थलका अनुसार मंगलवार तारा एयरको जहाजमा ड्रावोमाईक नामक सामाग्री र इन्जीनियर पुगेपछि मात्र जहाज मर्मत हुनेछ ।
चालक दलको सावधानीका कारण जहाज ठूलो दुर्घटना हुनवाट जोगिएको यात्रुहरुले वताएका छन् । उनीहरुले समयमै जहाज बिग्रेको जानकारी दिएर सुरक्षित वनाएको भन्दै चालक दललाई धन्यवाद समेत दिए । यसअघी उक्त जहाजमा नेपालगंजबाट जुम्लाका सांसद ललितजंग शाही र नेपाल वार एसोसिएनका नव निर्वाचित केन्द्रिय सदस्य पदमवहादुर शाही जुम्ला पुगेको थिए ।