नारायण काजीको फोनले मन्त्री हैरान !

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा आफ्ना मन्त्री पठाएसँगै एमाओवादीले पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा सरकार सञ्चालन सहयोग तथा समन्वय समिति बनाएको थियो, पार्टीको तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरूलाई जनताप्रति जिम्मेवार र जवाफदेही बनाउन । श्रेष्ठ संयोजक रहेको यो संयन्त्रले २३ बुँदे आचारसंहिता नै जारी गरेको थियो । धेरैले माओवादीले गरेको हल्लीखल्ली देखेर योपटक केही गर्ने लख काटेका पनि थिए ।
विगतमा एमाओवादीले गरेको गल्ती स्वीकार्ने आशा योपटक धेरैले गरेका थिए । तर, यो संयन्त्रले पनि विगतको जस्तै हल्ला बढी र काम भुत्लोभाङ केही नगरेको भन्दै एमाओवादीभित्रै असन्तुष्टि चुलिएको खबर छ । अरुलाई अनुशासित बनाउनु पर्ने संयन्त्रको संयोजकले नै ‘जो अगुवा उही…’ भनेजस्तो रवैया देखाउँदै अनावश्यक दबाब दिन लागिपरेको भन्दै स्वयं एमाओवादी मन्त्रीहरूले नै पार्टी अध्यक्षसमक्ष असन्तुष्टि पोखेको खबर छ ।
संयन्त्रको संयोजक भएपछि नारायणकाजीले मन्त्रीहरूको कामकारबाही नियालेर अनुशासनमा राख्नुपर्ने हो । सुरुका दिनमा उनले अनुशासनमा राख्न प्रयास गरेजस्तो पनि देखिएको थियो । मन्त्रीले नटेरेको भन्दै केही महिनाअघि उनले राजीनामा समेत दिएका थिए । तर, प्रचण्डको आग्रहपछि संयन्त्र संयोजकको राजीनामा फिर्ता लिएका नारायणकाजी हिजोआज संयन्त्रको संयोजक र आचारसंहिता भुलेर आफैं अनुशासनहीन बन्दै गएको गुनासो एमाओवादी मन्त्रीले गरेका छन् ।
स्रोतका अनुसार, एमाओवादीको तर्फबाट मन्त्री बनेका आठै जना मन्त्रीहरूलाई नारायणकाजीले केही न केही काम लगाएर हैरान पार्ने गरेका छन् । कतिपय मन्त्रीले त नारायणकाजीले यस्तो अनावश्यक दु:ख दिन थालेपछि फोन नै उठाउन छाडेको बताइन्छ । ‘सरकार सञ्चालन गर्न गठित संयन्त्रको संयोजक भएपछि उपाध्यक्षज्यूले हामीलाई अनुशासनमा राख्नु पर्ने हो,’ एमाओवादीका एक मन्त्री गुनासो गर्दै थिए, ‘तर, हामीलाई अनुशासनमा राख्नुपर्ने संयोजक आफैं हामीलाई अनावश्यक दबाब दिइरहनु भएको छ ।’
एमाओवादीका एक मन्त्रीकाअनुसार नारायणकाजीले सरुवा–बढुवादेखि सानातिना कामका लागि पनि दबाब दिने गरेका छन् । ‘विशेष गरेर सरुवा र अन्य साना काममा उपाध्यक्षज्यूले फोन गर्नुहुन्छ,’ ती मन्त्रीले गुनासो गरे, ‘संयन्त्रको संयोजकले नै यस्तो अनावश्यक दबाब दिँदा अप्ठ्यारोमा पर्ने गरिएको छ ।’यसबारे नारायणकाजी श्रेष्ठलाई सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । श्रेष्ठले बोकेको मोबाइलमा पटक–पटक सम्पर्क गरे पनि उनले फोन उठाएनन् ।
एमाओवादीले सरकारमा सहभागी मन्त्रीहरूलाई जवाफदेही बनाउन जारी गरेको आचारसंहिताका २३ बुँदामध्येका अधिकांश बुँदा एमाओवादी मन्त्रीले पालना गरेका छैनन् । कतिसम्म भने आचारसंहिताको ९ औं बुँदामा रहेको मन्त्रीहरूले निजी र स्वकीय सचिवमा आफन्त राख्न नपाउने भन्ने भए पनि धेरैजसो माओवादी मन्त्रीले यसको पालना गरेका छैनन् । सरकारको नेतृत्व गरेका टोपबहादुर र गृहमन्त्री शक्तिबहादुर बस्नेतले भतिजोलाई सचिवालयमा राखेका छन् । अन्य मन्त्रीको सचिवालयमा पनि नातेदार रहेका छन् । देखिने कुरामा त एमाओवादी मन्त्रीले बाल दिएका छैनन् भने थाहा नहुने कुरामा आचारसंहिता कति पालना गरेका होलान ? एमाओवादी मन्त्रीमाथि गम्भीर प्रश्न उठेको छ ।