साथीको हत्या काण्ड,मलेसियामा दुई नेपालीलाई साढे ६ वर्ष जेल,

मलेसिया डेटलाइन
क्वालालम्पुर, चैत्र २९ : साथीको हत्या अभियोगमा पक्राउ पश्चात थुनामा रहेका दुई नेपालीलाई मलेसियाको एक अदालतले साढे ६ वर्षको जेल सजायको फैसला सुनाएको छ ।
पहल सिं कामीको हत्या अभियोग लागेका मनबहादुर बिष्ट र बुद्धिबहादुर थापालाई उच्च अदालत पाहाङले यो सजाए सुनाएको हो । उनीहरु दुबै जना साढे २ वर्षदेखि प्रहरी हिरासतमा रहँदै आएका छन् ।
मलेसियाको दण्डसंहिताको धारा ३ सय २ अन्तर्गत हत्याको सजायस्वरुप फाँसीको ब्यवस्था छ । यस्तै हत्याको प्रकृति हेरी ३० बर्ष कैदको पनि ब्यबस्था छ ।
हत्यामा संलग्न भएका दुबै जनाले आफूहरुबाट गल्तीबस हत्या भएको भन्दै क्षमायाचना गरेपछि कैद सजाय १० बर्षमा झारिएको र उक्त सजायँमा पनि थप एक तिहाई छुट पाएका छन् ।
दुबैजनाको मुद्दा टुङ्गिन साढे २ वर्ष लागेपछि अब बिष्ट र थापा ४ बर्षपछि जेल मुक्त हुनेछन् । कामीको शव सन् २०१३ डिसेम्बर २९ मा कामपुग राजा क्यामरुड हाईल्याण्डको स्टबेरी केन्द्रमा भेटिएको थियो । कामी हिलिरान विन कम्पनीमा रोजगारीको लागि मलेसिया आएका थिए ।