बिस्केट जात्रामा एक प्रही जवानसहित तीन घाइते

चैत्र २८, भक्तपुर ; बिस्केट जात्रा व्यवस्थित, शान्तिपूर्ण र मर्यादित बनाउने सर्वदलीय निर्णय पहिलो दिन नै उल्लंघन भएको छ ।
स्थानीय प्रशासन, प्रहरी, गुठी संस्थान, जिल्लास्थित राजनीतिक दल, नागरिक समाजलगायतको सर्वदलीय बैठकको जात्राको रुट छोट्याउने निर्णय उल्लंघन भएको हो ।
भूकम्पले थिलोथिलो बनाएको जात्रा रुटस्थित दायाँबायाँका भौतिक संरचनामा भैरवनाथको रथबाट थप क्षति हुन नदिने उद्देश्यले जात्राको रुट छोट्याउने निर्णय गरिएको थियो । जसअनुसार माथिल्लोतर्फ साकोठा र तल्लो भेगतर्फ बुल्चासम्म रथ तान्ने तय गरिएको थियो तर शनिबार भैरवनाथको रथ माथिल्लो भेगको गोल्मढीसम्म पुग्यो ।
तीनजना घाइते, एक गम्भीर
निर्णय गरिएभन्दा माथिल्लो भेगमा भैरवनाथको रथलाई साकोठाभन्दा माथि जबरजस्ती रथ तानिएपछि एक प्रहरी जवानसहित तीनजना घाइते भएका छन् ।
साकोठाबाट सुकुलढोकातिर रथ तान्ने क्रममा रथको पांग्राले च्यापिएर उनीहरु घाइते भएका हुन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख किरण बज्राचार्यले बताइन् ।
उनका अनुसार प्रहरी जवान विद्यानन्द पासवान, भक्तपुर नपा ५ का लक्ष्मीदास त्यात र ताथलीका हेमबहादुर न्हेमाफुकी घाइते भएका हुन् ।
गम्भीर घाइते लक्ष्मीदासको भक्तपुर अस्पतालमा उपचार नभएपछि काठमाडौं रिफर गरिएको प्रहरी उपरीक्षक बज्राचार्यले जानकारी दिइन् ।
प्रहरी जवान पासवान र हेमबहादुरको भने भक्तपुर अस्पतालमा उपचार भइरहेको छ ।
जात्रालु नियन्त्रणबाहिर
जात्रालु नियन्त्रण बाहिर जाँदा शनिबार सर्वदलीय बैठकको निर्णय उल्लंघन भएको प्रहरी प्रशासनले निष्कर्ष निकालेको छ ।
भैरवनाथको रथलाई साकोठामै रोक्ने उद्देश्यले बोरामा माटो भरेर बाटो अवरुद्ध गरिएको थियो । तर रथ तान्ने जात्रालुको सामु माटो भरिएको बोराले काम गरेन ।
जात्रालाई व्यवस्थि तगर्न प्रहरी प्रशासनले स्थानीय क्लव, समूहका युवाहरुलाई स्वयम्सेवक बनाए पनि शनिबार कुनै उपलब्धि भएन ।
‘निर्णय कार्यान्वयन गर्न हामीले रथ तान्न स्वयम्सेवक व्यवस्था गरेका थियौं’, प्रहरी उपरीक्षक बज्राचार्यले भनिन्, ‘तर अनियन्त्रित जात्रालुसामु स्वयम्सेवक पनि निस्तेज बने ।’
जात्रा अनियन्त्रित भए पनि अनुमान गरिएजस्तो भौतिक क्षति नभएको उनले सुनाइन् । तर जबरजस्ती तानिन्दा पहिलो दिन नै रथ जीर्ण बन्न पुगेको छ । रुट दायाँबायाँका घरमा रथको छाना ठोक्किँदा रथ नै बिग्रन पुगेको हो ।
साथै सुकुलढोका र गोल्मढीका करिब आधा दर्जन घरमा रथले क्षति पु¥याएको छ ।
भैरवनाथ रथमा अनावश्यक हुल
भैरवनाथको रथमा अनावश्यक जात्रालु बसाएरै यस वर्ष पनि बिस्केट जात्रा सुरु भएको छ ।
प्रहरी प्रशासनले रथमा आवश्यकताभन्दा बढी जात्रालु बस्न नदिन कडा सुरक्षा व्यवस्था गर्दा पनि रोक्न नसकिएको हो ।
जात्राको नियमानुसार भैरव नाइके, गुठियार र खान्कीहरु गरी जम्मा १६ जना बस्नुपर्ने रथमा शनिबार रथभरि असम्बन्धित मान्छे बसेका थिए । भित्र र बाहिरबाट रथका पांग्रा ठेल्ने, रथको अगाडि पछाडिको बेतसिँमा दर्जनौं असम्बन्धित सर्वसाधारणले भरिभराउ थियो ।
ढिलो गरी जात्रा सुरु
गुठी संस्थान भक्तपुरले निर्धारण गरेको जात्राको समय तालिका पनि शनिबार पहिलो दिन नै कार्यान्वयन हुन सकेन । यस वर्ष चाँडै जात्रा सम्पन्न गर्ने उद्देश्यले दिउँसो तीन बजेभित्र भैरवनाथको रथ तान्ने जात्रासम्बन्धी तालिका बनाइएको थियो ।
उक्त तालिकाअनुसार जात्रा सुचारु गर्ने निर्णयसमेत सर्वदलीय बैठकले गरेको थियो । तर शनिबार साँझ ५ः१५ बजेमात्रै रथ तान्न सुरु भएको थियो ।
जात्राको प्रचलनअनुसार तीनतले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर टौमढीबाट करिब २०० मिटर दक्षिण गःहिटी पु¥याइएपछि पहिलो दिनको जात्रा सम्पन्न हुन्छ । रथ गःहिटी पु¥याइने प्रक्रियालाई स्थानीय नेपालभाषामा ‘द्य क्वहँबिज्याइगु’ (देवता तल सवारी हुने) भनिन्छ ।