रेड पाण्डाको छालासहित चार पक्राउ

चैत्र २८, कोहलपुर ; दुर्लभ वन्य जन्तु रेड पाण्डाको छालासहित प्रहरीले बाँकेको कोहलपुरबाट चारजना पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले गएराति कोहलपुरस्थित बिद्यानगरबाट रेड पाण्डाको छालासहित हुम्ला खार्प नाथका धनबहादुर एडी, बाँके नौबस्ताका मोतीलाल आचार्य, दानबहादुर शाही र भीमराज खत्रीलाई पक्राउ गरेको हो।
रेड पाण्डाको छालासहित पक्राउ परेका चार अभियुक्तलाई प्रहरीले थप कारबाहीका लागि जिल्ला वन कार्यालय बाँकेमा पठाएको छ।
वन कार्यालयले रेपान्डाको छालासहित ४ जना अभियुक्तहरुलाई वन कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरेको जिल्ला वन कार्यालय बाँकेका रेन्जर रमेश बुढाथोकीले बताए।
गत माघमा पनि प्रहरीले ३१ इन्च लामो रेड पाण्डाको छालासहित कोहलपुर नगरापालिका–११ स्थित बसपार्क रोडबाट पक्राउ गरेको थियो।