सिम्रिकले ल्यायो अत्याधुनिक हेलिकोप्टर
काठमाडौँ, १७ कात्तिक । सिम्रिक एयर प्रालिले फ्रान्सेली निर्माता कम्पनी एयरबस हेलिकप्टर्सद्वारा निर्मित अत्याधुनिक हेलिकोप्टर खरिद गरेको छ ।
सिम्रिक एयरले गत जुलाई २२ मा एयरबर हेलिकप्टर्स कम्पनी सिङ्गापुरसँग गरेको तीनवटा अत्याधुनिक हेलिकोप्टर खरिद गर्ने सम्झौताअनुसार पहिलो हेलिकोप्टर नेपाल आइपुगेको प्रालिले जनाएको हो ।
उक्त हेलिकोप्टर करिब रु २६ करोडमा खरिद गरेको सिम्रिक एयरका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले जानकारी दिनुभएको छ । उहाँका अनुसार उच्च हिमाली क्षेत्रमा उद्धार, दृश्यावलोकनका साथै प्राकृतिक विपत्तिमा उद्धार तथा पर्यटकीय गतिविधिमा प्रयोग गर्ने उद्देश्यले सो हेलिकोप्टर ल्याइएको हो ।
सो हेलिकप्टरमा अहिलेसम्मकै उच्च प्राविधिक क्षमता जडान गरिएको दाबी उहाँले गर्नुभयो । आपत्विपद्को समयमा मानवीय क्षति कम गर्न तत्काल राहत तथा उद्धारमा सो हेलिकोप्टरको प्रयोग सहजरुपमा गर्न सकिने उहाँको भनाइ छ ।
उच्च हिमाली क्षेत्रमा सहजै उद्धार गर्न सफल यस खाले हेलिकोप्टरले २३ हजार फिटसम्म उडान गर्नसक्ने बताइएको छ । सिम्रिकले आफ्नो सेवा थप प्रभावकारी बनाउँदै नेपाललाई विश्वकै उत्कृष्ट उद्धार, हिमाल तथा पहाडी भेगमा विकास निर्माणका लागि सामान झुन्डाएर लैजान सकिने सेवालाई प्रभावकारी बनाउँदै जाने बताएको छ ।